बागलुङ, २९ माघ – नामिबियाविरुद्ध ४ ओभरसँगै म्यान अफ द म्याच। ओमानविरुद्ध २ विकेट। यूएईविरुद्ध ३ विकेट। र, केन्याविरुद्ध आज(सोमबार) सम्पन्न खेलमा ५ विकेट। युवा लेग स्पिनर सन्दीप लामिछानेले नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालका चार खेलमा गरेको प्रदर्शन हो- यो।
योसँगै उनी डिभिजन दुईको सर्वाधिक विकेट टेकर खेलाडी बनेका छन्। ४ खेलबाट सन्दीपले सोमबारसम्म १४ विकेट लिइसकेका छन्। सोमबारसम्म उनीसँग समान ९ विकेटका साथ सर्वाधिक विकेटको प्रतिस्पर्धामा ओमानका बिलाल खान थिए। तर, केन्याविरुद्ध जारी खेलमा थप पाँच विकेट लिएसँगै उनलाई शीर्ष स्थानमा टक्कर दिने कोही देखिएको छैन्।
केन्याविरुद्ध सन्दीपको सर्वाधिक सफल बलिङ स्पेल थियो। १० ओभर बलिङ गरेका उनले ५ ओभर मेडन राख्दै २० रन मात्रै खर्चेर ५ विकेट लिएका हुन्। सन्दीपले टिमका लागि ४५औं तथा व्यक्तिगत अन्तिम १०औं ओभरमा पाँचौ विकेट लिएका थिए। सो ओभरको अन्तिम बलमा सन्दीपले नागोच्यो वडियाम्बोलाई विकेटकिपर ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराउँदै पाँच विकेट पूरा गरेका थिए।
त्यसअघि ३४औं ओभरमा लगातार दुई विकेट लिएका सन्दीपले व्यक्तिगत पहिलो ओभर(टिमको १७औं) तथा व्यक्तिगत दोस्रो (टिमको १९औं) ओभरमा नेपाललाई सुरुवाती सफलता दिएका थिए।
उमेर समूह हुँदै राष्ट्रिय टोलीको उकालो ग्राफ
गत वर्ष बंगलादेशमा भएको यू–१९ विश्वकपबाट नेपाली टोलीको जर्सी लगाएका सन्दीपले एकपछि अर्को गर्दै आफ्नो क्रिकेट करिअर उकालोतर्फ धकेलिरहेका छन्। उक्त विश्वकपमा सन्दीपले ह्याट्रिकसहित ६ खेलमा १४ विकेट लिएर प्रतियोगिताकै दोस्रो सर्वाधिक विकेट टेकर बनेका थिए।
हालसम्म सन्दीपले २७ यू–१९ का खेलहरु खेलेका छन्। जसमा ७२ विकेट लिदै सन्दीपले नेपाली यू–१९मा सर्बाधिक विकेट लिने खेलाडीका कीर्तिमान बनाएका छन्। सिनियर राष्ट्रिय टोलीमा सन्दीपले १६ अप्रिल २०१६ मा कीर्तिपुरमा भएको विश्व क्रिकेट च्याम्पियनसिप अन्तर्गत नामिबिया विरुद्धको खेलबाट डेब्यू गरेका हुन्। त्यसयता च्याम्पियनसिपमा ९ खेल तथा जारी डिभिजन दुईमा ४ गरि १३ खेल खेलेका सन्दीपले सिनियर टोलीको प्रतिनिधित्व गर्दै २४ विकेट लिइसकेका छन्।
केन्याविरुद्ध सोमबार भएको खेलमा उनको प्रदर्शन (१० ओभर, ५ मेडन, २० रन, ५ विकेट) लिस्ट ए मान्यता प्राप्त नेपाली बलरहरुमध्ये उत्कृष्ट प्रदर्शन थियो। लिस्ट एमा यो उनको पनि करिअरकै उत्कृष्ट प्रदर्शन हो। यसअघि उनले जारी डिभिजन दुईमै नामिबियाविरुद्ध १८ रन दिएर ४ विकेट लिएका थिए।
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सन्दीपको प्रदर्शन :
नेपाल भर्सेस नामिबिया, अप्रिल १६–१८, २०१६ (डेब्यू)
पहिलो खेलः १० ओभर २ मेडन ३७ रन १ विकेट
दोस्रो खेलः ९ ओभर २ मेडन ३९ रन २ विकेट
नेपाल भर्सेस नेदरल्याण्ड, अगष्ट १३–१५, २०१६
पहिलो खेलः २.५ ओभर ० मेडन १४ रन ० विकेट
दोस्रो खेलः ९ ओभर ० मेडन ४८ रन १ विकेट
नेपाल भर्सेस केन्या, मार्च ११–१३, २०१७
पहिलो खेलः ५ ओभर ० मेडन २१ रन २ विकेट
दोस्रो खेलः १० ओभर ० मेडन ३५ रन १ विकेट
नेपाल भर्सेस हङकङ, अक्टोबर १३–१५, २०१७
पहिलो खेलः १० ओभर १ मेडन ४८ रन ३ विकेट
दोस्रो खेलः वर्षाले खेल हुन पाएन्।
नेपाल भर्सेस यूएई, डिसेम्बर ६–८, २०१७
पहिलो खेलः १० ओभर ० मेडन ४६ रन १ विकेट
दोस्रो खेलः ८ ओभर ० मेडन ५१ रन १ विकेट
आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा सन्दीपको प्रदर्शन
नेपाल भर्सेस नामिबिया , फ्रेब्रुअरी ८–२०१८
८.२ ओभर, २ मेडन, १८ रन, ४ विकेट
नेपाल भर्सेस ओमान, फ्रेब्रुअरी ९–२०१८
१० ओभर, ० मेडन, २९ रन, २ विकेट
नेपाल भर्सेस यूएई, फ्रेब्रुअरी ११–२०१८
७ ओभर, १ मेडन, ३० रन, १ विकेट
नेपाल भर्सेस केन्या, फ्रेब्रुअरी १२–२०१८
१० ओभर, ५ मेडन, २० रन, ५ विकेट