बागलुङ, २८ माघ– काठेखोला गाउँपालिकाको वडा नं. ४ तंग्रामलाई पूर्ण खोपयुक्त घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले घोषणाको उद्घाटन गरे । गाउँभरका सबै १६ महिनादेखि २३ महिना पुगेका बालबालिकाहरुले पाउनुपर्ने खोप पाएको तथ्यांकपछि यो घोषणा गरिएको थियो । तंग्राममा यो उमेर समूहका ८० बालबालिका रहेको तथ्यांक स्थानीय स्वास्थ्य चौकीले निकालेको थियो । महिला स्वास्थ्य स्वयंसेविकाहरु, स्वास्थ्य चौकीका सबै समेतको संयुक्त पहलबाट उनीहरुलाई पूर्ण खोप लगाउन सफल भएपछि घोषणा गरिएको हो ।
अभियानको उद्घाटन गर्दै ढुंगानाले सबै नागरिक स्वस्थ्य बन्नका लागि राज्यले ल्याएको निशुल्क खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए । उनले आजको बालबालिकाले सही खोप सहि समयमा पाएमा भोलीको राष्ट्र हाँक्न सक्ने सक्षम नागरिक बन्ने बताए । साथै उनले कार्यक्रम बनाएर भन्दा अभियानकै रुपमा अगाडि ल्याइएका ठूला र महत्वपूर्ण काम सफल भएको बताए । पूर्ण खोप जस्तै खुला दिशामुक्त, पूर्ण साक्षर जस्ता कर्याक्रम पनि सफल बन्दै गएको उनले बताए । बागलुङका ८५ वटा वडा मध्ये आधाबढी पूर्ण खोप युक्त भैसकेका छन् । फागुन भित्रै बाँकी समै वडा घोषणाको तयारीमा रहेको समेत उनले बताए । आगामी चैत भित्रै जिल्लालाई नै पूर्ण खोप पुगेको जिल्ला घोषणागर्ने तयारीमा जुटेको पनि उनले जानकारी गराएका थिए ।
उक्त अवसरमा अभियानलाई सफल बनाउन पहल गर्ने महिला स्वयंसेविकाहरु, स्वास्थ्य संस्थाका कर्मचारी समेतलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष केशरबहादुर थापाको अध्यक्षता, बिष्णु आले र प्रेम थापाको संचालन तथा रञ्जना पुनको स्वागतमा सम्पन्न कार्यक्रममा सहायक प्रजिअ नारायण पाण्डेय, धौलागिरी अञ्चल अस्पताल बिकास समितिका अध्यक्ष रामजीप्रसाद सुवेदी, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा, वडा अध्यक्ष खड्गबहादुर थापा, वडा सदस्यहरु टिका संगम बिक, दिलकुमारी पुन, एमालेका अध्यक्ष रनबहादुर थापा, कांग्रेसका सभापति यामदत्त कंडेल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि बिष्णु कंडेल, जिल्ला स्वास्थ्यका प्रतिनिधि बिरेन्द्र चौधरी, रामचन्द्र लामा, अनमी पूर्णकला थापा, धम्जा स्वास्थ्यचौकीकी अनमी सरिता सापकोटा लगायतले बोलेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुले गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए ।