नेपाल ल्याटिन अमेरिकी देश ब्राजिलपछि पानीमा धनी देश हो । हाम्रो देशमा प्रशस्त पानी भएपनि त्यसको प्रयोग हुन नसक्दा विद्युत उत्पादन, सिंचाई लगायतको क्षेत्रमा प्रयोग गर्न सकिएको छैन । पानी फगत खेर गईरहेको छ । नेपाल जलस्रोतको धनी देश भएपनि नेपाली नागरिकले अझैपनि खानेपानी सहज रुपमा प्राप्त गर्न सकेका छैनन् । देशका अधिकांश ठाउँमा खानेपानीको जोहो गर्न निकै मेहेनत गर्नुपर्ने अवस्था छ । खानेपानीको समस्या झेल्ने जिल्लामा बागलुङ पनि एक हो । बागलुङ जलस्रोतमा अब्बल भएपनि सर्वसाधारण नागरिकले खानेपानीको लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ । जिल्ला ठूला शहर हुन् वा साना खानेपानीको समस्या विकराल छ । पिउन योग्य पानी प्रशस्त भएपनि आधुनिक प्रविधिमार्फत खानेपानीको व्यवस्था गर्न सकिने भएपनि त्यसको अभ्यास नेपालमा अझैपनि हुन सकेको छैन ।
खानेपानीको चरम अभावबाट गुज्रिरहेको पर्यटकीय गाउँ हो भकूण्डे । स्थानिय तहको चुनावसंगै बागलुङ नगरपालिकाको नयाँ सदस्य बनेको वडा हो भकूण्डे । भकूण्डेमा खानेपानीको चमरम समस्या छ भन्ने कुरा अन्जानको विषय होइन् । काकाकुल बन्दै गएको भकूण्डेले पानीको व्यवस्था गर्नको लागि वर्षाैदेखि हारगुहार गर्दै आएपनि सम्बन्धित निकायले बेवास्ता गरेको छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको नजरमा पर्न थालेको भकूण्डे खानेपानीकै समस्याले आर्थिक फड्को मार्न सकेको छैन । आर्थिक समृद्वि एक आधार पर्यटन क्षेत्र पनि हो । भकूण्डे अहिले पर्यटकीय क्षेत्र बनेको छ । जहाँ हो–स्टेको समेत व्यवस्था छ । पर्यटकीय क्षेत्रको रुपमा विकसित हुँदै गएको भकुण्डेमा खानेपानीको व्यवस्था गर्नु सम्बन्धित निकायको दायित्व हो । हामीले पर्यटन प्रर्वद्वनको जति कुरा गर्छौ त्यसको लागि चाहिने पुर्वाधार विकास ध्यान दिन सकेका छैनौं । भकूण्डेबासीले अहिले पनि आकाशको पानीको भर पर्नुपर्ने विकराल अवस्था छ ।
खानेपानीले हैरानी खेपेका भकुण्डेबासीले दश बर्षअघि बनाएका आकासे पानी संकलन गर्ने घैटा समेत रित्तिन थालेपछि पिरोलिन थालेका छन् । हिउँदमा पानी नपरेपछि बर्षातको पानी सकिएर टाढा पुगेर पानी खेप्नु पर्ने बाध्य भकुण्डेबासीको छ । खानेपानीको जोहो गर्नको लागि भकुण्डेको उपल्लो भेगका जनताले दैनिक डेढघण्टा परको मुलबाट पानी खेप्नु पर्ने अवस्था छ । पानीको अभाव भएपछि भकुण्डेमा फस्टाउँदै गएको पशुपालन क्षेत्रमा पनि अहिले सुस्ताउन थालेको छ । खाने, सरसफाई लगायतको काममा पानी अभाव भएपछि पर्यटन प्रवद्र्धनका लागि शुरु गरेको होमस्टे अभियान समेत अप्ठ्यारोमा परेको छ । भकुण्डेको हिराताल, भेडीखाल्टा, माझघर र अर्बाउँदीका १ सय ६५ घरधुरीले खानेपानीको समस्या भोग्दै आएमा छन् । होमस्टे दुई दर्जन घरमा छभने खानेपानीको समस्या धेरैले भोगेका छन् । पानी अभावले बारीमा खेती समेत राम्रो नभएको उनीहरुको गुनासो छ । पर्यटकीय क्षेत्रका रुपमा उदाउँदै गएको भकूण्डेमा खानेपानीको व्यवस्था गर्न सम्बन्धित निकायले चासो देखाउनु पर्छ । नागरिकलाई खानेपानीबाट बञ्चित गराउनु हुँदैन ।
Previous Articleप्रदेशस्तरीय कराँते प्रतियोगिता आजदेखि हुँदै
Next Article तंग्रामलाई पुर्ण खोप युक्त घोषणा गरियो