जिल्लाको दक्षिणमा डाँडापारीको गाउँपालिकाको रुपमा परिचित छ बरेङ गाउँपालिका । भौगोलिक हिसाबले धरै कठिनाईहरु रहेकाले विकासको गतिले चाल लिन नसकेको गाउँपालिकामा अहिले जनप्रतिनिधि आएपछि भने विकासले गति लिन थालेको छ । गाउँपालिकाका सबै वडामा सडक सञ्जाल जोड्ने काम भैरहेको छभने शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनका क्षेत्रमा समेत केही कामहरु सुरु भएका छन् । स्थानिय तहको चुनावमा बरेङ गाउँपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका पुर्णबहादुर थापालाई ७ सय ८२ मतले पछाडि पार्दै राष्ट्रिय जनमोर्चाको तर्फबाट नररसिंह पुन वडा अध्यक्षमा निर्वाचित भएका थिए । सर्वसाधारणका अनेकौं अपेक्षाका बीच वडाध्यक्षमा निर्वाचित भएका पुनसँग सहकर्मी तारानाथ आचार्यले गरेको छोटो कुराकानी ।
वडा अध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
–वडाध्यक्षमो रुपमा काम गर्न निकै गाह्रो काम रहेछ । यो कामबाट जस मिल्दो रहेनछ । जनताका धेरै इच्छा र आकांक्षा छन् । सबै पुरा गर्न निकै गाह्रो छ । तर पनि काम गर्ने इच्छा भएकाले काम भने गर्दै आएका छौं । सबैको चित्त बुझाउने प्रयास गरिरहेका छौं । तर पनि वडा अध्यक्ष भएर काम गर्दा निकै भारी भैरहेको महसुस भएको छ ।
वडा अध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–पहिलो काम हामीले सडक बिस्तारको गरेका छौं । गाउँपालिकाको कार्यालयदेखी वडा कार्यालयसम्मको बाटो र बरेङ बजारसम्मको बाटो स्तरोन्नतीको काम हामीले गरेका छौं । कृषिमा ब्यबसायीकरण भित्राउनका लागि बिभिन्न चरणमा तालिमको व्यवस्था गरेका छौं । बस्न नमिल्ने अवस्थामा रहेको वडा कार्यालय निर्माणको काम समपन्न भैसकेको छ । सर्वसाधारणका लागि दर्ता सिफारिसका काममा सहजता प्रदान गरेका छौं । बिद्यालयहरुमा नियमन र अनुगमन, स्वास्थ्य संस्थामा सुधारका काम सुरु गरेका छौं ।
वडा कार्यालय नियमीत नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
–वास्तविक प्रश्न गर्नु भयो । वडा कार्यालय नखुल्ने भन्ने गुनासो हाम्रो वडा कार्यालय निर्माणधिन भएका कारण आएको होला । निर्माणको चरणमा रहेको बेला वडा कार्यालय खुल्ने कुरा आएन तर हामीले मेरो आफ्नै घरको छेउबाट भएपनि जनतालाई सेवा दिईरहेको छु । सचिव नआउने भन्ने वास्तवीक हो । लामो समय कर्मचारीको बलमा चलेका स्थानिय निकायमा कर्मचारीलाई टिकाउन निकै गाह्रो रहेछ । सरुवा हुनु, काज मिलाएर जाने र हाजिर हुन यहाँ आएपनि सदरमुकाममा बस्ने भएका कारण सचिवको उपस्थिती पातलो छ । यहाँ सचिवहरु आउन मान्दै मान्दैनन् । अहिले पनि हाम्रोमा सचिव छैनन् । बरबुझारतको लागि गाउँपालिकाका एक जना सचिवलाई जिम्मा लगाएर पहिलेका सचिव सरुवा भए । त्यसपछि सचिव आएका छैनन् । यहीँको स्थानिय नागरिक नभएकाले सचिवहरुलाई यहाँ टिकाउन निकै गाह्रो भैरहेको छ । हाम्रोमा अहिले सचिव नै छैनन् ।
हजुरको क्षेत्रको विकासका लागि गाउँपरिषदबाट के–के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
–पहिलो प्राथमिकतामा हामीले शिक्षालाई राखेर योजना अघि सारेका छौं । वडामा रहेको धुल्लु लिउँवा माध्यामिक बिद्यालयको भवन छैन् । पहिलो चरणमा बिद्यालय भवन बनाउनका लागि गाउँपालिकासँग योजना माग गरेका छौं । बिद्यालयको भवन बनाउनका लागि गाउँपालिका पनि सकारात्मक देखीएको छ । दोस्रो हाम्रो प्राथमिकता भनेको सडक हो । कालीगण्डकी कोरीडोरदेखी छिस्तीहुँदै बरेङ बजारसम्मको सडक बिस्तार गर्ने, कुश्मीशेरादेखी बरेङ बजारसम्मको सडक स्तरोन्नती गर्ने, बरेङ बजारदेखी शान्तिपुरसम्मको सडक स्तरोन्नती गर्ने हाम्रो मुख्य योजना छ । सोही अनुसार गाउँपालिकामा योजना माग गरेका छौं । वडालाई पुर्ण सरसफाईयुक्त वडाको रुपमा विकास गर्ने गरी योजना बनाएका छौं । एक घर एक धारा कार्यक्रम लागु गरेर प्रत्येक घरमा खानेपानीको पु¥याउने योजना छ । कृषिमा आधुनिकीकरण र पशुपालनमा आत्मनिर्भर बनाउने योजना अगाडि सारेका छौं । हामीले अघि सारेका केही कामहरु सुरु भएका छन्भने केही कामहरु सुरु हुने चरणमा रहेका छन् ।
तपाईको वडाका सडक कच्ची छन, कहिलेसम्म पक्की बनाउनु हुन्छ ?
–वडाका सबै सडक पक्कि गर्ने भन्ने त नहोला तर पाँच बर्षको अबधिमा हामीले वडाका सडकलाई ग्राभेल गर्छौं । पक्कि सडक बनाउनको लागी हामीसँग स्रोत साधनको अभाव छ । स्थानिय स्रोतको परिचालन गरी सरकारको अनुदान प्रयोग गरेर हामीले वडाका सडकलाई ग्राभेल गछौं ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–हाम्रो मुख्य योजना भनेको गाउँपालिका नै नमुना बनाउने भन्ने हो ।गाउँपालिकालाई नमुना बनाउनको लागि योजना अघि सारेका छौं । गाउँपालिका नमुना हुनको लागि वडा नमुना हुनु आवश्यक हुने नै भयो । सोही अनुसार जिल्लाका अन्य वडाभन्दा हाम्रो वडा सुबिधा सम्पन्न र स्रोत साधनयुक्त बनाउनमा हाम्रो जोड रहने छ । शिक्षामा सबैको पहुँच भएको, सडकले सबै बस्तीहरुमा छोएको, कृषिमा आत्मनिर्भर, सरसफाईमा पुर्ण प्रतिवद्ध वडाको रुपमा हजुरले यस वडालाई देख्न पाउनु हुने छ ।
अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ कि ?
–यो तपाईंको अनलाईन निकै लोकप्रिय पत्रिका हो । यसमार्फत सम्प्रेशित भएका सुचनाहरुले हामीले गरेका काम र कमजोरीमा खबरदारी गर्ने गरेको छ । निष्पक्ष रुपमा तपाईहरुले चलाएको कलम र हामीलाई दिएको अवसरले स्थानिय तहको विकासमा टेवा पुगेको महसुस मैले गरेको छु । यसरी नै नियमित हामीलाई रचनात्मक आलोचना र सकारात्मक सहयोग गर्दै जानुहोला शुभकामना छ । अनलाईनको सम्पुर्ण टिमलाई यो अवसरका लागि धन्यवाद ।