मुस्ताङ, २६ माघ– कोरला नाका सञ्चालनका लागि चीन र नेपाल सरकारले पूर्वाधार निर्माणलाई तीव्रता दिनुका साथै कूटनीतिक पहल थालेका छन् । कोरला नाका सञ्चालनका लागि पहुँच मार्ग निर्माणसँगै सुरक्षा निकायको क्याम्प खडा गर्ने तयारी गरिएको छ । कोरला नाका नजिकै पर्ने नेचुङ भन्सार कार्यालय यसअघिनै सञ्चालनमा आइसकेको छ भने चिनियाँ सरकारले नाका आसपासमा करिब पाँचतले भवन निर्माण गरिसकेको छ । सन् २०१७ अक्टोबरमा चिनियाँ राजदूत यु हाङले औपचारिक रूपमा कोरला नाकाको भ्रमण गरेका थिए ।
मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत कोरला नाका जोड्ने पहुँचमार्गको स्तरवृद्धिको काम तीव्ररूपमा अघि बढेकोे जानकारी दिए । उनले उक्त नाका शीघ्र खुलाउन पहल भइरहेको बताए । जोमसोमदेखि ११० किलोमिटर उत्तरतर्फ अवस्थित कोरला नाकामा सहजरूपमा यातायातको पहुँच पु¥याउन आयोजनामार्फत पाँचवटा प्याकेजमा दुई लेनको ग्राभेल सडक बनाउने काम भइरहेको छ । करिब ४० प्रतिशत काम सकिएको छ ।
बेनी–जोमसोम सडकखण्ड निर्माण गर्न टेण्डर आह्वान भइसकेको छ भने केही क्षेत्रमा निर्माण तीव्ररूपमा भइरहेको छ । कालीगण्डकी कोरिडोर भारत र चीन जोड्ने नेपालकै सबैभन्दा छोटो सडक मार्ग हो । कोरला नाकालाई लक्ष्य गरेर सरकारले सीमा प्रहरी चौकी र प्रशासन कार्यालय स्थापना गरिसकेको छ ।
Previous Articleअनमोलसँग किन हुन्छन् नायिकाहरु क्रेजी ?
Next Article अनलाइन गजल प्रतियोगिता हुने