देश विकासको मेरुदण्ड मानिएका आधा करोड युवा अहिले पनि बिदेशी भुमिमा पसिना बगाई रहेका छन् । रहरले जाने एकाध युवाबाहेक पढाईको बाहनामा वा कामको शिलशिलामा बिदेश जाने युवाको संख्या दैनिक १ हजार ५ सयभन्दा धेरै छ । देशमा रोजगारीको अवस्था कमजोर भएकै कराण श्रम बजारको खोजीमा बिदेशी भुमीमा आफ्नो रगत र पसिना बगाईरहेका युवाको जाँगर अब देशमै प्रयोग गर्नुपर्ने बेला आएको छ । जबसम्म देशको हरेक तहमा युवाको सहभागिता र नेतृत्व कायम हुन सक्दैन तबसम्म दिगो विकासको कल्पनासम्म गर्न सकिँदैन । उर्जाशिल युवाको श्रम बेच्ने स्वदेशी बजार मजबुद हुनुपर्छ । श्रम बजारको विश्वासका कारण लाखौं लगानी गरेर बिदेशको तातो घाम बा कठ्याङ्ग्रिदो चिसोमा युवा विश्वासका साथ हाम फालिरहेका छन् । अब देशमा त्यहि हिसाबमा युवाले लगानी गर्दा वा श्रम गर्दा श्रमको मुल्य छ भन्ने बनाउनु नै अहिलेको आवश्यकता हो ।
लामो समयको राजनीतिक परिवर्तनको लडाईं समाप्त भएको छ । जनचाहना अनुसारको जनताले नै तयार पारेको मुल कानुन कार्यान्वयनको चरणमा छ । यो अवस्थामा देशका सबै तहमा जनताका प्रतिनिधि छन् । गारोसारो सबै खाले समस्या र अवसरको अनुभव गरेर स्थानियदेखी केन्द्र तहमा रहेका जनप्रतिनिधिले अब देशका युवाको उन्नतीको लागि सोच्ने की नसोच्ने ? पछिल्लो समय स्थानिय तहका केही इकाईले युवा लक्षित कार्यक्रमहरु तय गरेर सञ्चालनमा ल्याएका छन । चाहे युवाहरुको नेतृत्व क्षमता विकासको लागि दिईएका तालिम हुन या स्वरोजगार बनाउनका लागि ल्याईएका कार्यक्रमहरु नै किन नहुन् । तल्लो तहबाट मसिनो रुपमा विकासको बिज छर्ने काम सुरु भएको छ भनेर बुझ्न सकिन्छ । लामो संक्रमणबाट मुक्त भएर जनप्रतिनिधिको सहायतामा देशका सबै स्थानिय तहले यतिबेला सुखको सास फेरी रहेका छन् । जनप्रतिनिधि पाएका तहमा सास मात्रै सुखको फेरीएको छैन केही कामहरु समेत सुरु भएका छन् । आज तल्लो तह स्थानिय तहमा विकास निर्माणका काम समयमा सुरु भएका छन् ।
हिजो हँचुवाको भरमा गरिने काममा आज प्रभावित सर्बसाधारणसँग छलफल गरेर मात्रै विकासे काम हुन थालेका छन् । यि र यस्ता कामका कारण अहिले स्थानिय तहमा कुनै न कुनै रुपमा युवालाई सहभागी बनाईएको छ । यसो गर्दा एकातर्फ युवाहरुले आफ्नो अपनत्व बोध गर्ने र अर्कोतर्फ आफ्नै ठाउँमा रोजागारीको खोजी गर्ने भएकाले युवाहरुको विकास र समग्र देशको विकासका लागि सुरुवात हुन थालेको छ । युवाहरुको नेतृत्व क्षमताको विकास गर्ने, युवाहरुमा रहेको क्षमताको विकास र समुदायको विकासमा युवाको नेतृत्व कायम गर्नको लागि अब देशका तिनै तहले योजना बनाएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो । युवाहरुको श्रमको प्रयोग गरेर, बिदेशको भुमि सिंचिने गरेको उनीहरुको पशिनाले देशको माटो सिंचित गर्ने वातावारण निर्माण गर्न सके एकातर्फ आफ्नै माटोमा युवा पुस्ताको विकास हुने छभने अर्कोतर्फ देशको विकासको गति अगाडि बढेर जाने छ । युवा लक्षित कार्यक्रमलाई स्थानिय निकाय, प्रदेश सभा, तथा प्रतिनिधि सभासम्म सबै तहमा प्राथमीकतामा राखौं । यसैमा सबैको कल्याण हुनेछ ।
Previous Articleस्वराजको कुटनीति, केपीको बडील्याङगजेज
Next Article २०७४ माघ २५ गते बिहिबारको राशिफल