तारानाथ आचार्य
बागलुङ, २४ माघ– जिल्लाको काठेखोला गाउँपालिका–७ रेशले वडा भित्रको बाँझो जग्गा व्यवस्थापन गर्ने कामको थालनी गरेको छ । खेतीयोग्य जमिन बाँझो हुँदा उत्पादनमा गिरावट आएको भन्दै वडा कार्यालयले बाँझो जमिनको व्यवस्थापन थालेको हो । वडाभित्र रहेको ४ सय हेक्टर बाँझो जमिनलाई आगामी २ बर्ष भित्रमा उत्पादनमुलक काममा लगाउने गरी व्यवस्थापनको काम थालिएको वडा अध्यक्ष प्रेम लामिछाने बताए ।
वडाले जमिनको व्यवस्थापनको लागि तीन चरणमा काम गर्ने गरि नीति तय गरेको छ । ‘हामी पहिलो चरणमा जग्गा धनीलाई खेती गर्न आग्रह गर्छौं’ वडाध्यक्ष लामिछानेले भने– ‘जग्गा बाँझो राख्नेलाई असार मसान्त सम्ममा खेती गर्न भनेका छौं ।’ पहिलो चरणमा जग्गा धनीलाई बाँझो जमिनमा खेती गर्न आग्रह गर्ने र अटेर गरेमा दोस्रो चरणमा तीन गुना बढी राजश्व तिर्नुपर्ने व्यवस्था गरिने योजना रहेको लामिछानेले बताए । तीन गुणा राजश्व तिर्दा समेत जग्गा बाँझै रहेमा वडाले अधिग्रण गर्ने र व्यवसायिक खेती गर्नेहरुलाई हस्तान्तरण गर्ने योजना बनाएको उनको भनाई थियो । ‘एक छाक खान नपाए सडकमा माग्दै हिँड्नेहरु पनि हाम्रो समुदायमा छन्’ लामिछाने भन्छन्– ‘हामीले उत्पादन हुने जमिनलाई बाँझो पल्टाएर काम नलाग्ने रुखहरु हुर्काई रहेका छौं ।’ बाँझो जमिनमा खाद्यन्न बाली मात्रै गर्नुपर्छ भन्ने नभएर आयमुलक अन्य बालीहरु समेत लगाउन सकिने वडा कार्यालयले जनाएको छ । ‘बाँझो जमिनमा अलैंची, अम्रिसो, केरा जस्ता बहुबर्षे आयआर्जनका उत्पादनहरु पनि लगाउन सकिन्छ’ वडा सचिव होमनाथ शर्माले भने– ‘केहीपनि नगरीकनै बाँझो राखेको जमिन वडामा धेरै रहेछ ।’ जग्गा धनीहरुले राम्रो खाद्यान्न उत्पादन हुने खेतबारी बाँझो पल्टाएर बजारीय बस्तुको प्रयोग बढाएको वडा अध्यक्ष लामिछाने बताउँछन् । ‘केहीले यहिँ बसेर पनि जग्गा बाँझो राखेका छन्’ लामिछाने भन्छन्– ‘मधेश झरेका केही र शहर पसेका केहीले जग्गा बाँझो राखेका छन् ।’
पानीको राम्रो स्रोत भएको रशेमा मनग्य तरकारी उत्पादन गर्न सकिने भएपनि स्थानियहरु जग्गा बाँझो राखेर सुखसयलको खोजीमा हिँडेको लामिछानेको भनाई छ । ‘एकातर्फ वडा पुर्ण रुपमा आयातमा निर्भर रहेको छ, अर्कोतर्फ जग्गा बाँझो बनाएर आयातको भर गर्नेहरु बढेर गए’ लामिछानेले भने ‘हामीले बाँझो जग्गाको व्यवस्थापन गरेर वडालाई निर्यातमुखी बनाउने योजना बनाएका छौं ।’ वडा भित्रका नागरिकलाई असर गर्नेभन्दा पनि आत्मनिर्भर बनाउनका लागि आफुले कडा कदम चाल्नु पर्ने आवश्यकता भएको उनको भनाई थियो । बाँझो जग्गाको व्यवस्थापन गर्न केही कठिनाईहरु रहेका भएपनि वडाबासीको सहयोगमा आफु सफल हुने लामिछानेले दाबी गरे । सकेसम्म जग्गा धनीलाई नै आम्दानीको स्रोत हुने गरी खेतीपाती गर्न लगाउने र नसके जग्गाको प्रयोग गरेर उत्पादनशिल काम गर्नेलाई जग्गा उपलव्ध गराउने योजनाअनुसार काम अघि बढाएको उनको भनाई थियो । असार मसान्तसम्मको समयाबधिमा वडाका सबै जमिनमा खेतीपाती हुनेमा बिश्वस्त रहेको भन्दै लामिछानेले त्यसो नभए योजनाअनुसार नै अगाडि बढिने बताए ।
बाँझो जग्गा व्यवस्थापन गर्दै काठेखोला गाउँपालिका–७
Previous Articleराष्ट्रिय सभाको चुनाव आज हुँदै
Next Article प्रदेश ४ मा मतदान: दिपक मनाङे बाहेक सबैले गरे मतदान