बागलुङ, २४ माघ– नेकपा एमाले बागलुङले पार्टीका नेता हरिबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ । स्वर्गीय कार्कीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएर सम्मान गर्नुका साथै अन्तिम श्रद्धाञ्जली अर्पण गरी मंगलबार बागलुङ नगरपालिका–१ निर्णयघाटमा अन्त्येष्टी गरिएको छ । नेकपा एमाले जिल्ला कमिटि बागलुङका पूर्व सदस्य तथा वर्तमान सल्लाहकार कार्कीको सोमबार ५३ वर्षको उमेरमा निधन भएको थियो । एमाले केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज मनकुमारी केसीले नेकपा एमालेको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएपछि कार्कीको अन्त्यष्टी गरिएको हो ।
स्वर्गीय कार्कीको पार्थिव शरिरमा उनका ८ वर्षीय नाती डेनियल कार्कीले दागवत्ती दिएका थिए । अन्त्येष्टी कार्यक्रममा पार्टीका तर्फबाट शोक व्यक्त गर्दै एमाले नेतृ केसीले समाज विकासमा निरन्तर लाग्ने कार्कीको योगदानलाई स्मरण गरिन । एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभाका सांसद इन्द्रलाल सापकोटाले पार्टीका तर्फबाट प्रकाशित शोक वक्तत्व वाचन गरेका थिए । अन्त्येष्टी कार्यक्रमको सञ्चालन एमाले जिल्ला सचिव लालबहादुर थापाले गरेका थिए ।
काठेखोला गाउँपालिका–७, साविक रेश गाविसका पूर्वअध्यक्ष र जिल्ला विकास समिति बागलुङका सदस्य भएर लामो समयसम्म जनप्रतिनिधिका रुपमा समाजसेवामा लागेका कार्की पछिल्लो समय रेश नुन्थला माविको व्यवस्थापन समितिको अध्यक्ष कार्यरत थिए ।