पोखरा २२ माघ – प्रदेश नम्बर ४ का सांसदहरुले पोखरा सभाहलमा बसेको प्रदेशसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै यो प्रदेशलाई नमुना प्रदेश बनाउने प्रतिबद्धता जनाएका छन् । प्रदेशसभाको पहिलो बैठकमा मन्तव्य राख्दै एमालेका पृथ्वी सुव्वा गुरुङले पर्यटकीय सम्भावना बोकेको प्रदेश नम्बर ४ लाई समृद्ध बनाउने बताए । मुस्ताङको युरेनियमदेखि जलस्रोतको विकासमार्फत प्रदेशलाई समृद्ध बनाउने उनको भनाइ छ ।
सांसद गुरुङले हिमालदेखि तराईसम्म फैलिएको प्रदेशमा स्वर्गीय हर्क गुरुङले दिएको सुभावअनुसार समावेशी विकास गर्ने पनि बताए । औद्योगिकरूपमा कमजोर रहेको ४ नम्बर प्रदेशलाई ५ वर्षमा ३ नम्बर प्रदेशभन्दा पनि समृद्ध र शिक्षित बनाउने उनको प्रतिबद्धता छ ।
नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले विविदतापूर्वक प्रदेशको विकासका लागि नेपाली कांग्रेसको पूर्ण समर्थन रहने बताए । उनले कालीगण्डकी–मस्र्याङ्दी करिडोरमा जलविद्युत्को विकास र अन्नपूर्ण पदमार्गमार्फत पर्यटनको विकास गर्न सकिने बताए ।
माओवादी केन्द्रका हरिबहादुर चुमानले संघीयताको व्यवस्थित ढंगले कार्यान्वयन गर्ने महत्वपूर्ण अवसर आएकोले यसलाई सफल बनाउनुपर्ने बताए । उनले प्रदेशसभाको अधिकार कटौती गर्ने आवाजविरुद्ध संघर्ष गरेर प्रदेशलाई अधिकार सम्पन्न गर्न सकिने बताए । ४ नम्बर प्रदेशमा धेरै अवसर रहेको भन्दै उनले पर्यटन, जलस्रोत, कृषि र उद्योगको नेतृत्व गर्न सक्ने गरी योजना निर्माण गर्नुपर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाले प्रदेशलाई समृद्ध बनाउन सबैदल मिल्नु पर्ने बताए । उनले संघीयताले नेपाली जनतालाई निकै अप्ठ्यारो परिस्थिति सिर्जना गर्ने बताए । नयाँ शक्ति पार्टी नेपालका हरिशरण आचार्यले प्रदेशमा सम्भावना नै सम्भावना भए पनि त्यसको सदुपयोगको चुनौती पूरा गर्नुपर्ने बताए । उनले रातारात हतारमा सभाहल निर्माण गर्दा लागेको खर्च सार्वजनिक गर्नुपर्ने बताए ।
जेष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बसेको प्रदेश सभाको पहिलो बैठकमा नेकपा एमालेका किरण गुरुङले पनि प्रदेशको समृद्धिका लागि सबै मिलेर लाग्नु पर्ने बताए । नेपाल एकीकरणका अग्रणी पृथ्वीनारयाण शाहको जन्म भएको प्रदेशबाट समृद्ध नेपालको अभियान शुरु हुने उनले बताए । प्रदेश–४ का मुख्यमन्त्रीका दावेदार पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ दुबैले प्रदेशसभाको पहिलो बैठकमा संबोधन गरेका छन्। किरण भन्दा पहिले संबोधन गरेका पृथ्वीसुब्बाले सुरुमै नेपाल एकिकरणमा पृथ्वीनारायण शाहले खेलको भूमिकाको स्मरण गरे।
भीमसेन थापाको देशभक्ति सम्झँदै उनले भने, ‘राष्ट्रिय स्वाधिनताको मुद्धामा यो प्रदेश सधैँ प्रतिवद्ध रहने छ भन्ने मैले सोचेको छु।’ उनले जनकविकेशरी धर्मराज थापा, लोककवि अलि मिया, भूपी शेरचन, लेखनाथ पौडेललाई सम्झँदै संस्कृतिमा पनि यो प्रदेशलाई धनी बनाउन लाग्ने बताए। १ घण्टा ३२ मिनट चलेको सभामा बोल्दै एमालेका अर्का नेता किरण गुरुङले पनि पृथ्वीनारायण शाहलाई सम्झँदै भाषण सुरु गरे।
भाषिक एकिकरण गर्ने भानुभक्त आचार्य , शहीद लखन थापा, २००७ सालको क्रान्तिको क्रममा बन्दीपुरमा शहीद बनेका धर्मध्वज गुरुङ, चित्रबहादुर गुरुङलाई सम्झेपछि उनले विपी कोइराला र गणेशमानको नाम लिए। लमजुङमा जन्मेका कवि माधव घिमिरेलाई उनले शताब्दी पुरुषको संज्ञा दिए। प्रतिपक्षीप्रति नम्र बनेका उनले गणितीय हिसाबले साना ठूलो भएपनि संसदको रुपमा सबै बराबर रहेको बताए। सत्तापक्ष र प्रतिपक्ष मिलेर अगाडि बढ्नुपर्नेमा उनको जोड रहेको थियो। औपचारिक समारोहपछि संक्षित कुराकानीमा किरणले आफू नै मुख्यमन्त्रीको दावेदार रहेको दोहोर्याए।
मुख्यमन्त्रीमा दुबै गुरुङको दावी
प्रदेश–४ को सबैभन्दा ठूलो दल एमालेले माघ २८ गते संसदीय दलको नेता छान्ने जानकारी दिँदै उनले पार्टीको इन्चार्ज भएकोले आफ्नो दलको नेतामा आफ्नो दावी स्वभाविक भएको बताए। उनले एमाले संसदीय दलको गोप्य मतदानले यो विषयको टुंगो लगाउने जानकारी पनि दिए। दलको नेताको अर्का आंकाक्षी पृथ्वीसुब्बा गुरुङले पनि दलको नेता आफै हुने ठोकुवा गरे। ‘‘यो विषय २८ गते टुंगो लाग्छ’ उनले भने, ‘सर्वसम्मत नभए चुनाव हुन्छ।’
प्रदेशसभा-४ : युरेनियमको चर्चा र संघियताको विरोध
Previous Articleप्रदेश ४ को पहिलो बैठक शुरु
Next Article बागलुङमा कृषी यन्त्र र औजारहरुको ब्यवसाय सुरु