बागलुङ, २१ माघ– मिजार समाज बागलुङले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उत्कृष्ठ प्रदर्शन गर्न खेलाडीहरुको सम्मान गरेको छ । स्याङजाको वालिङ घर भई हाल मेयरकप फुटबल खेल्न आएका लक्ष्मण रुचाल र उसुकी खेलाडी रेखा बोहोरालाई शनिवार सम्मान गरेको हो । फुटबल खेलाडी रुचालले अण्डर १७ खेलमा सिंगापुर र दिल्ली, अन्डर १९ खेल उजेगिस्थान सिक्कीममा खेलेका थिए ।
त्यस्तै बंगलादेशमा भएको ११ औं साग खेलकुँद, बंगलादेशमा भएको प्रेसिडेन्ट कप लगायतमा खेलेका थिए । साथै ती खेलमा उनले उत्कृष्ठ प्रदर्शन गरेका थिए । बागलुङ नगरपालिका १४ नारायणस्थान निवासी उसुकी खेलाडी रेखा बोहोरालाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो । २० बर्षकी रेखाले उसुमा सातौं राष्ट्रिय खेलकुँद प्रतियोगितामा पश्चिमाञ्चलको प्रतिनिधित्व गर्दै स्वर्ण पदक पाएकी थिइन् । त्यस्तै खुला राष्ट्रिय च्याम्पियनमा रजत, जुनियर नेशनल च्याम्पियनशिपमा कास्य र राष्ट्रिय खेलकुँद परिषद च्याम्पियमा पनि ४८ केजी तर्फको रजत पदक पाएकी छिन् । हाल धौलागिरी बहुमुखी क्याम्पसमा स्नातक तेस्रो बर्षमा अध्ययनरत बोहोरा पढाई र खेल दुवै तर्फ अब्बल रहेकी छिन् ।
मिजार समाज भित्र जन्मेर उदीयमान खेलाडीको रुपमा देखिएकाले उनीहरुलाई सम्मान गरिएको अध्यक्ष रणसिंह बोहोराले बताए । समाजमा पछाडि पारिएको वर्ग भएर पनि खेल जीवनमा अगाडि जान सफल भएको भन्दै समाजले सम्मानका साथै ५ हजार रुपैयाँका दरले पुरस्कार पनि दिएको हो । त्यस्तै हामी सवैको रहर, नेपाल पत्रकार महासंघको घर भन्ने नारालाई साथ दिंदै मिजार समाजले पत्रकार महासंघको भवन निर्माण अभियानमा पनि १० हजार रुपैयाँ सहयोग गरेको छ । अध्यक्ष रणसिंह बोहोराले उक्त रकम महासंघका अध्यक्ष दिल शिरिषलाई हस्तान्तरण गरेका थिए ।
रणसिंह बोहोराको अध्यक्षता, सुमन बोहोराको संचालनमा सम्पन्न कार्यक्रममा सल्लाहकार चेतराम चर्माकार, दलित संजालका अध्यक्ष टकबहादुर बोहोरा, सम्मानित खेलाडी लक्ष्मण रुचाल र रेखा बोहोरा तथा बागलुङ नगर कार्यपालिाक सदस्य लक्ष्मी बोहोराले सम्मानितहरुलाई शुभकामना दिएका थिए ।
Previous Articleकस्ले जित्ला मेयर कपको उपाधि ?
Next Article भैरवस्थान जानेलाई अब छानाको पानी !