तारानाथ आचार्य
बागलुङ जिल्लाका चार नगरपालिका मध्येमा निकै कम चर्चामा आउने नगरपालिका हो जैमिनी । जिल्लाकै सञ्चारमाध्यामको पहुँच कम र सदमुकामबाट प्रकाशन प्रसारण हुने सञ्चारमाध्यमको न्युन उपस्थितीका कारण जैमिनी नगर अन्य नगरपालिका तथा गाउँपालिका जस्तो चर्चामा कमै आउने गरेको छ । सरमुकाममा रहेका राष्ट्रिय सञ्चारमाध्यामका प्रतिनिधिहरुको पनि यो नगरको उन्नती र अवनती दुवै पक्ष कम उठाउने गरेको पाईएको छ । राज्यको पुर्नसंरचना हुनुभन्दा पहिला नौ वटा गाविसका रुपमा रहेको जैमिनी नगरपालिका पुर्नसंरचना पछि भने केही चर्चामा आउन थालेको छ ।
जैमिनी नगरपालिकाको केन्द्र बनाईएको कुश्मीशेरा बजार कतिपय जिल्लाभित्रकै सर्बसाधारणले पर्वतको कुनै सानो बजारका रुपमा सम्झने गर्छन् । संचारमाध्यामको कम पहुँच र सरोकारवालको हेलचक्राईका कारण यो परिस्थिती सिर्जना भएको हो । केही समयअघि म बागलुङ बजारहुँदै गुल्मीको शान्तिपुर जाने जीपमा कुश्मीशेराको लागि यात्रा गरेको थिएँ । बागलुङ बजारबाट कुश्मीशेरा–बरेङबजारहुँदै शान्तिपुर जाने उक्त जीपमा प्रायःजसो यात्रु बागलुङको बरेङका थिए । बरेङ गाउँपालिकाको ३ नम्बर वडामा घर बताउने एक स्थानिय बिद्यालयका शिक्षक समेत रहेछन् । उनी पहिलो पटक बागलुङ बजारबाट बलेवा– कुश्मीशेरा–राङ्खानीहुँदै बरेङको यात्रामा निस्केको बताए । सधैं जसो जिल्लाको पश्चिमहुँदै सदरमुकाम आउने गरेका उनी पहिलोपटक दक्षिणको बाटोहुँदै यात्रा गर्न पाएकोमा दंग थिए । जीपमा सवार अन्य केही सामाजिक व्यक्तित्व र शिक्षक पनि रहेछन् । प्रसंग बलेवा बिमानस्थलको उठेको थियो । बलेवा बिमानस्थलको निर्माणका बेला कुन– कुन गाविसका नागरिकले योगदान गरे भन्ने प्रसंगमा एक जनाले गाविसहरुको नाम लिए तर ती शिक्षकले बीचमै रोकेर भने पर्वतको कुश्मीशेरा बजारका मान्छे पनि बिमानस्थल निर्माणको क्रममा आएका ? मलाई अचम्म लाग्यो नजिकैको गाविसका त्यो पनि पेशाले समेत शिक्षक रहेका व्यक्तिलाई जिल्लाकै एउटा नगरपालिकाको केन्द्रको बिषयमा जानकारी छैनभने उनले पढाउने बिद्यार्थीले के सिक्ने ? यो जिज्ञासा लामो समय मनमा पाल्न सकिन र मैले सोधें सरलाई कुश्मीशेरा पर्वतको बजार हो भनेर कस्ले भनेको ? उनले सजिलै जवाफ दिए मलाई त आजसम्म कुश्मीशेरा पर्वतको कुनै सानो बजार भन्ने लागेको थियो । पेशाले शिक्षक भएका नाताले उनलाई यस बिषयमा जानकारी हुनुपथ्र्यो भन्ने हो तर आम सर्वसाधारणको लागि भने यो कुरा स्वभाविक थियो ।
अहिलेको दुनियाँमा मानिसहरुको सूचनाका साधन भनेका सञ्चारमाध्याम नै हुन् । जब सञ्चार माध्यामको कुनैपनि क्षेत्रमा कम उपस्थिती हुन्छ त्यो क्षेत्रको बिषयमा, त्यो क्षेत्रको विकास तथा बिनाश दुवैको बिषयमा अर्को कुनै क्षेत्रको नागरिक सधै अनबिज्ञ रहन्छ । जैमिनीमा सञ्चार क्षेत्रको उपस्थिती नहुनुमा सञ्चार संस्थाको कमजोरी एकातर्फ होला तर सोही क्षेत्रका राजनीतिककर्मी, नागरिक समाज, शिक्षक, बुद्धिजिवी तथा आमनागरिकको समेत ठुलो भूमिका रहेको छ । २१ औं शताव्दीको सूचना र प्रबिधिको युगमा पनि स्थानिय स्तरमा रहेका सञ्चारमाध्यालाई संरक्षण र सम्बर्धन गर्न नसक्नु, सञ्चार संस्थासँग आबद्ध रहेका व्यक्तिलाई उचित अवसर र सम्मान दिन नसक्नु हरेक क्षेत्रको विकासमा रचनात्मक सहयोग भन्दा खुट्टा तान्ने प्रबृत्तिको विकास बढि हुनु यस क्षेत्र प्रचार–प्रसारमा पछि पर्नुका मुख्य कारण हुन् । हरेक कुरामा आर्थिक लाभको मात्रै लेखाजोखा गर्ने व्यवसायी, आफ्ना कुराहरु लुकाएर बस्ने सर्वसाधारण, सञ्चारमाध्यामका अगाडि सधै ठुला पल्टिने बुद्धिजिवी, बिद्यालय घर ब्यबहारमा मात्रै केन्द्रित शिक्षकका कारण यो क्षेत्रमा सूचना प्रबिधिको विकास हुन नसकेको कटु सत्यलाई यहाँ प्रस्तुत गर्दा तितो लाग्न सक्छ । जैमिनीमा सञ्चार संस्था नखोलिएका वा संचार क्षेत्रमा काम गर्ने मान्छे नै नभएका भने होईनन् । खुलेका केही पत्रिका जैमिनीभित्रकै सरोकारवालाको असहयोगका कारण बन्द भएका अवस्थामा छन्भने केही नयाँ खुलेका सञ्चारमाध्याम संघर्षरत अवस्थामा छन् । यो क्षेत्रबाट सञ्चार संस्थामा काम गर्नेहरु खुट्टा तानेर मेट्ने वा असहयोग गर्ने वातावरण कै कारण पलायन भै रहेका छन् । सामाजिक दायित्व बहन गर्दै हातमुख जोर्ने उपाय खोजीरहेका यस क्षेत्रबाट सञ्चारकर्मी तथा पत्रकार बनेका दर्जनौ ब्यक्ति केही पलायन भएर ठुला सहर छिरे भने केही बिदेश भाँसिए । जिल्लाकै अन्य क्षेत्रमा जस्तो पत्रकारिता पेशाको सम्मान छ । स्थानिय निकायदेखी उद्योगी व्यवसायी सरकारी तथा गैह्र सरकारी संस्थाले पत्रकार तथा पत्रकारीताको विकासको लागि सहयोग गरीरहेका छन् त्यो वातावरण जैमिनीमा छैन् । अझ भनौ पत्रकारिता क्षेत्रको विकासको लागि जैमिनीको पहल सुन्य जस्तै छ । सम्भावनाका हिसाबले जिल्ला सदरमुकामको बागलुङ नगरपालिकालई पछ्याउन सक्ने क्षमता राख्ने जैमिनी नगर अहिले कर्णालीको कुनै एक गाउँपालिकाको जस्तै गतिमा छ । जैमिनीमा राजनीतिक उपस्थिती कम भएको वा विकास गर्न सक्ने ठाउँमा पहुँच नभएको भने होईन् । जैमिनीको माटोले देशको सिंहदरबारमा सहजै पहुँच राख्न सक्ने धेरै सपुतहरु जन्माएको छ तर शहर छिरेकाहरुले आफ्नो माटोलाई नै भुल्ने प्रबृत्तिका कारण कयौं अवसरहरु यस नगरपालिकाले गुमाएको छ । सम्भावनाका कुरा गर्ने होभने पर्यटनका हिसाबले प्रसस्त सम्भावना बोकेका क्षेत्रहरु यस नगरपालिकामा पर्छन् । चाहे गाजाको दह होस् या हाँडीकोटको धुरी, नेपालकै नमुना मिनीग्रेड आयोजना होस् या माईकाथानको सौन्दर्यता, केही चर्चामा नआएका गुफा र जैमिनीधाम लगायतका धेरै पर्यटनका सम्भावना यस क्षेत्रमा छन् । हिजो कर्मचारीको भरमा २० बर्ष चलेको स्थानिय तह होस या अहिले जनप्रतिनिधि आएपछि बनेको जनताको स्थानीय तह नै किन नहोस यसतर्फ ध्यान कमै गएको पाईएको छ ।
नगर भित्रका पर्यटकीय क्षेत्रको विकासका लागि मुख्य आधार भनेको प्रचार–प्रसार हो । सञ्चार माध्याम तथा सञ्चार संस्थासँग सम्बन्धितहरुको विकासका लागि स्थानिय तहले योजना बनाउँदा राणा शासन कालमा जंगबहादुर राणाले बिद्यालय स्थापना गर्दा आफ्नो बिनासको लागि आँफै जग थापेको भनेर रोईकराई गरेको जस्तै रोईकराई गर्ने स्थानिय तहबाट के आशा गर्ने ? लामो समयपछि स्थानिय तहमा जनप्रतिनिधि आएर समयमा चालु आर्थिक बर्षको बजेट आयो । नेपाल सरकारको अनुदान र आन्तरिक स्रोतको परिचालन गर्ने गरी बनेको बजेटमा नगर भित्रका हरेक क्षेत्रको सम्बोधन गरिएको छ । चाहे धेरै होस् या थोरै बजेटको व्वस्थापन मिलाईएको छ । तर सञ्चार क्षेत्रको लागि नगरपालिकाले कुनैपनि सम्बोधन गरेको छैन् । त्यो मात्र हैन संचारमाध्याम तथा सञ्चार संस्थाको प्रयोग गरेर आम सर्बसाधारणलाई चेतनामुलक र नगरका गतिबिधिको प्रचार–प्रसार गर्ने हिसाबको कार्यक्रम बनाई प्रकाश प्रसारण गर्ने सम्मको योजनाका लागि बजेटको व्यबस्थापन गर्ने हिम्मत नगरपालिकाले गरेन् । सञ्चार माध्याम तथा सञ्चारकर्मीहरु कुनै पनि राज्यको निकायका शत्रु होईनन् । उनीहरु पनि यहि समुदायका पहरेदार हुन भन्ने कुराको हेक्का नगरपालिका र नगरपालिकाको सञ्चालन गर्ने बागडोर सम्हालेकाले बुझ्नु जरुरी छ । स्थानिय स्तरमा भएका संभावना खोजी प्रचारप्रसार र सुशासनको लागि सञ्चारमाध्याम तथा सञ्चारसँग आबद्ध नागरिकको विकासमा नगरपालिकाले आवश्यक कदम चालोस् । कुनैपनि क्षेत्रलाई निषेध गरेर हैन आत्मसाथ गरेर अगाडि बढ्दा मात्रै दिगो तथा ब्यबस्थित विकास हुन सक्छ । यसैमा सबैको भलाई हुने छ ।