कृष्णप्रसाद शर्मा
जन्मदा हामी स्वतन्त्र भएर जन्मे पनि पछि हामी सबै कुराले जेलिएर बाँधिन्छौ जुन सबैलाई थाहा छ तर हामी घर व्यवहारले मात्र होईन जीवनको सबै अवयवहरूमा कसैको खटनपटनमा चलेका छौ कि जस्तो छ । भोटरहरू कार्यकर्ताको अधिनमा, कार्यकर्ताहरू सबै नेताको अधिनमा तर नेताहरू अरूकै अधिनमा छन् । अहिले निष्पक्ष भएर मनमा लागेको कुरा सामाजिक संजालमा लेख्यो भने विचार संग असहमत हुनेले अमुक पार्टिको हनुमान भनि दिन्छ । नेताहरूमा स्वतन्त्र विचार राख्नु भनेको आफ्नो राजनैतिक जीवन धरापमा पार्नु हो ।
हामी नालापानीमा बेलायती सेनासंग लडेको कुरा अहिले कहानी भएको छ । कालापानी, सुस्ता, दशगजादेखी लिपुलेकका बारेमा हामी धेरै बोल्न खोज्दैनौ किन कि हामी कसैको अधिन भित्रको स्वतन्त्र प्राणी हौ । देश बिकासका कुनै पनि कामदेखी राजनैतिक एवं संवैधानिक कुराहरूमा हामी आफैले केही गर्न सक्ने छैनौ । संविधान बर्षौ लगाएर अरबौ खर्च गरेर राखेका स्वतन्त्र विचार कसैको लागी ठीक नभएपछि हामी कसरी स्वतन्त्र छौ । संविधान हाम्रो भवनभित्र लेखिए पनि त्यसको प्रमाणिकरण छिमेकीसंग गराउनु पर्ने के हाम्रा नेता स्वतन्त्र छन् ? सविंधानमा के राख्ने के नराख्ने के हामीलाई अधिकार छैन भने हामी स्वतन्त्र हुनुको गर्व गर्न मिल्छ । खोला नाला हाम्रो देशको लालपुर्जामा भए पनि भोगचलन गर्न अरूलाई नै सोध्नु पर्ने भएपछि के हामी साँच्चै स्वतन्त्र छौ ? देशका नदिहरूको पानी समेत स्वतन्त्र रुपमा बग्न पाएका छैनन् किन कि बर्खा लाग्दा आफ्नै देशबासीको घर डुबाईन्छ तर हिउँदमा छिमेकीको खेतमा सिंचाई गराईन्छ । यस्तो पानी माथीको राजनिति बीच बाँचेका हामी खोई के स्वतन्त्र भयौ र !
नेता नारायणमान विजुक्छेले भाषणमा भन्दै थिए करीब २५००० नेपाली कर्मचारी छिमेकीका लागी भत्ता खाएर काम गरिरहेका छन् । आजकाल साँच्चै यस्तै हो जस्तो लाग्छ किन कि हाम्रो देशको कुनै पनि सुचना छिमेकी कहाँ कति छिटो पुग्छ त्यसैले तपाई हाम्ले बोलेका विचार के स्वतन्त्र रहलान् । सिमा क्षेत्रमा मात्रै होईन राजधानीमा भारतीय नं प्लेटका गाडी खुलेआम गुद्छन् हाम्रो बाटो स्वतन्त्र भएपनि गाडी स्वतन्त्र छैनन् । यहाँ रोक्ने छेक्ने कोही छैनन् । मनाङ मुस्ताङमा भारतका राजदुतको भ्रमण नियमित हुन्छ भने तराईमा चीनका कुटनीतिकहरूको भनेपछि हामी कसरी स्वतन्त्र छौ । अहिले अधिकांश नेपालका जलबिद्युत आयोजना भारतीय कम्पनीले ओगटेका छन् न काम समयमा गरेका छन् न ठेक्का हामीले रद्द गर्न सक्छौ त्यसैले हामी हाम्रा स्वदेशी कम्पनीलाई समेत दिन स्वतन्त्र छैनौ तर भनिरहेका छौ नेपाल एक स्वतन्त्र राज्य हो । देशका हुलाकी राजमार्गदेखी जुनसुकै बिकासका आयोजनाको चर्चा चल्दा यहाँका नेताहरू पहिले छिमेकीलाई दिनुपर्छ भनेर लबिङ गर्दछन् भने देशका उच्च तहमा सत्तासीनहरू भारतकै लागी, चीनकै लागी दौडधुपमा छन् हाम्रो फास ट्रयाक हामी आँफै किन बनाउन स्वतन्त्र छैनौ । स्वदेशी जनधन सीप र श्रमले नै निर्माण गर्न सकिन्छ भनेर ठाडो शिर गरेर बोल्ने भौतिक योजना आयोगका कर्मठ सचिव अर्जुन कार्की जस्ता मान्छेहरूलाई रातारात नेपाल ट्रष्टमा लगेर थन्काईएको छ । के सचिव तहको एउटा मान्छे बिचार समेत स्वतन्त्र रुपमा बोल्न नपाउने हाम्रो देश के साँच्चै स्वतन्त्र छ ?
हाम्रा देशको संविधानमा के राख्ने हामीलाई समेत अधिकार छैन । जर्मन नागरिक भएका कारण त्यहाँको उच्च पदमा जान रोक्ने खालको संविधान भएको भारतले हामीलाई नागरीकताको पाठ सिकाएर संविधानमा राख्न खोज्दै छ जसको लागी तराई केन्द्रित दलहरू लहलहैमा छन् । उनिहरूलाई फिजीमा के भयो भन्ने सामान्य ज्ञान समेत छैन । मधेशका नागिरकलाई अधिकार दिएर लाने काम नेपाल सरकारको हो नकि भारतको तर हाम्रै देशमा रहेका केही खेतलाहरू यस्तै कुराको परालमा आगो बाल्न सलाई गोजीमा बोकेर हिडेका छन् । माग राख्ने अधिकार हुन्छ तर ति कति व्यवहारिक छन् त्यो पनि बुझ्न जरुरी छ । हामी आफ्नै सोचमा माग राख्न समेत सक्तैनौ भने के साँच्चै हामी स्वतनत्र छौ ।
कुनै बेला हिन्दी फिलिमलाई प्रतिबन्ध गर्नुपर्छ भन्ने माग राखेको हालको माओबादी केन्द्रको नेतृत्वका उपप्रधानमन्त्री बिमलेन्द्र निधीले हिन्दीलाई कामकाजको भाषाको रुपमा संविधान मै राख्नु पर्ने धारणा अघि सारेका छन् । हो, हाम्रो छिमेकीसंग हाम्रो रोटीबेटीको सम्बन्ध छ तर हाम्रो तराईमा मातृभाषा बोल्नेहरू धेरै छन् कि हिन्दी भाषा बोल्ने ? । यो अभिव्यक्ति कुनै स्वतन्त्र अभिव्यक्ति नभइ भरेर पठाएको अभिव्यक्ति हो । कुन भाषा कति बोल्छन् हामीलाई थाहा हुन्छ कि बिदेशीलाई । कुन भाषा बोल्ने र कुन भाषामा कामकाज गर्ने कुरामा हामी आफैले निर्णय गर्न सक्दैनौ भने हामी स्वतन्त्र छौ भनेर छाती फुलाउने अझै ।
हामी केवल स्वतन्त्र देखिए पनि खासमा हामी स्वतन्त्र छैनौ । कुन बाटो हिड्ने, कुन भाषा बोल्ने, कोसंग संगत गर्ने यि सारा अरूले निर्देशित गरेको भरमा हामी चल्नु परेको छ । जुनसुकै प्रमको पनि पहिलो दर्शन भेट भारत मै गर्नुपर्ने जुन गलत संस्कार छ त्यसैको गलगाँढमा हाम्रो छाती फुलेको देखेका छौ । दिल्ली बिनाको राजनिति प्रायः असम्भव नै भएको छ । उतैको खानपान तर बसाई मात्र नेपालको भएका हाम्रो नेताहरू भएको देश भन्नलाई मात्र स्वतन्त्र हो खासमा हामी सबै छिमेकीका रोबोट हौ । हामी मेसिन हो त्यसैले हामी स्वतन्त्र छैनौ ।
Previous Articleबागलुङमा फार्मेसी दिवस मनाईयो
Next Article सिमामा सास्तीः कहिलेसम्म सहने