बागलुङ, १९ माघ– जिल्ला भित्रका राम्रो भनेर चिनिने विद्यालयहरुमै शिक्षक दरबन्दी अभाव छ । अभिभावक र शिक्षकको अगुवाईले निजी श्रोतका शिक्षक राखेर उनीहरुले आफ्नो गुणस्तर थामेका छन् । समय अनुसार मेलापात र ढुंगागिटीको काम गर्ने किसान र मजदुरहरुले दिएको चन्दाको भरमा तीविदालयहरु चलेका छन् । ती मध्ये सबै भन्दा धेरै शिक्षक निजी श्रोतको राख्न बाध्य हो नारायणस्थानको गणेश मावि । ‘एकदुइ छाक खान नपाएपनि विद्यालय राम्रो बनाउनुपर्छ भनेर सकेको गर्ने धेरै छन्’ अध्यक्ष नारायण श्रेष्ठले भने, ‘विद्यालय सुधार्न राम्रा शिक्षक राख्नै पर्छ, त्यसका लागि हामीसंग बजेट नभएपछि चन्दाकै भरमा चलेका छौं ।’ २०६३ देखिनै यो विद्यालयले अधिकांस निजी श्रोतका शिक्षक राखेर पढाएको छ । यस्तो समस्या भोग्नेहरु धेरै विद्यालय छन् । मासिक लाखौं रकम संकलन गरेर मात्र उनीहरुले शिक्षकको तलब खुवाएका छन् ।
गणेश माविले मासिक झण्डै ४ लाख रुपैयाँ संकलन गरेपछि मात्र शिक्षकलाई तलब खुवाउन पुग्ने श्रेष्ठले बताए । ‘मजदुरीको कमाई सहयोग गर्ने अभिभावकबाटै विद्यालय चलाएका छौं’ श्रेष्ठले भने, ‘अभिभावकको सहयोग सदुपयोग गर्दे गुणस्तर दिएका छौं ।’ अब्बल पढाई हुने यो सामुदायिक विद्यालयले पश्चिमाञ्चलको उत्कृष्ठ विद्यालयको पुरस्कार समेत पाईसकेको छ । ‘सामुदायिक विद्यँलय राम्रो भएनन् भन्ने आरोपलाई हामीले चिर्ने प्रयास गरेका छौं’ श्रेष्ठले भने, ‘गुणस्तरीय शिक्षा दिन खोज्दा अभिभावकलाई आर्थिक भार भने परेको छ ।’ गुणस्तरीय विद्यालय बनाउन कक्षा १ देखि १२ सम्म अंग्रेजी माध्यमको पढाई, अतिरिक्त कक्षा, कम्प्युटर कक्षा र खेलकुद गतिविधिका लागि थप शिक्षक राख्नुपरेको उनले बताए । दरवन्दीका शिक्षक थोरै र भएकापनि नयाँ प्रविधि मैत्री नभएपछि विद्यालयलाई थप आर्थिक भार परेको हो । विद्यालयले कम्प्युटर, ईपार्टी लगायतको प्रविधि मार्फत पढाई संचालन गर्छ ।
त्यस्तै अतिरिक्त कक्षा मार्फत बालबालिका लाई प्राविधिक र व्यवहारिक ज्ञान पनि सिकाएको प्रअ चुडामणी सुवेदीले बताए । ७ सय ५० विद्यार्थी पढ्ने भएकोले हरेक कक्षमा दुइ देखि चारवटा समूहमा राखेर पढाउने गरिएको छ । गणेश मावि जस्तै गुणस्तरीय शिक्षामा नाम चलेका जिल्लाका दर्जनबढी विद्यालयले यस्तै समस्या भोगेको बताएका छन् । ताराखोला स्थित मालारानी आधारभूत विद्यालय, अमरभूमिको जनप्रेम मावि, खरवाङको त्रिभूवन मावि, दगातुम्डाँडाको खड्गदेवी मावि, बुर्तिवाङको नवज्योती प्रावि, कुश्मीसेराको पल्लोपाखा मावि र धौलागिरी बहिरा आवासीय मावि लगायतमा दरबन्दीका शिक्षक समेत नपाएपछि अभिभावकको चन्दाबाट अतिरिक्त शिक्षक नियुक्ती गर्नु परेको हो ।
‘जुन विद्यालयमा पुरै सरकारी दरबन्दी छ, तिनै विद्यालयमा गुणस्तर कमजोर छ’ जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले भने, ‘अभिभावक र शिक्षकले आफ्नो दायित्व सम्झेको विद्यालय नमूना बनेका छन् ।’ शिक्षा विभागले दिने पुरस्कार अधिकांस दरवन्दी नभएका विद्यालयले जितेको उनले बताए । पुरै दरबन्दीका शिक्षक पाएको विद्यालयका शिक्षक राजनीतिक दलको नेतृत्वमा रहने प्रवृत्ति हावी भएको पौडेलले आरोप लगाए । जिल्लाकै कतिपय बिद्यालयहरुमा सहयोगीले समेत पठन पाठन चलाउँदै आएको बिद्यालयहरुले बताएका छन् ।
Previous Articleविद्युत् उत्पादनको अधिकार स्थानीय तहलाई
Next Article पोखरा र वालिङ सेमिफाइनलमा