बागलुङ, १९ माघ– बागलुङ नगरपालिकाको सामाजिक विकास समितिको अगुवाईमा बिहिवारदेखि विद्यालयमा छड्के अनुगमन तथा विद्यार्थी सुनुवाई कार्यक्रम शुरु भएको छ । पहिलो दिन समितिले रुद्रे पिपल माविमा छड्के गरेको हो । विद्यालयलाई जानकारी नदिई गरिएको छड्केमा अधिकांस शिक्षकले हाजिरी नगरेको भेटिएको थियो ।
साथै नगरपालिकाले विज्ञ शिक्षक मार्फत नमूना कक्षा पनि संचालन गरेको थियो । अंग्रेजी बिषयका लागि श्रोत व्यक्ति ढकबहादुर पुन र गणितका लागि केवशप्रसाद पौडेललाई खटाइएको थियो । सामाजिक विकास समितिका अध्यक्ष गणेश थापाको अगुवाईमा नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेल, वडा नं. २ का अध्यक्ष जीवन आचार्य सहितका सदस्यहरु सहभागि थिए । उनीहरुले विद्यार्थीमाझ सुनुवाई कार्यक्रम पनि गरे । विद्यार्थीहरुले शिक्षकहरुले पढाउने शैली, विद्यालयको आवस्यकता बारे बोलेका थिए । शैक्षिक सामाग्री बिना पढाई गर्दा बुझाईमा समस्या पर्ने, विद्यालयमा शौचालयको समस्या, खेल मैदान नभएको, क्यालेन्डर अनुसार अतिरिक्त क्रियाकलाप नभएको जस्ता गुनासो सुनाए । विद्यार्थीको मागको सम्बोधन गर्दै प्रअ राजेश श्रेष्ठले विद्यालय हाता भित्र शौचालय निर्माणाधिन भएकोले अस्थायी बनाएर प्रयोग गर्दा दुर्गन्ध फैलिएको बताए । साथै समयमा हाजिरी नगरेको कमजोरी भएको स्विकारे ।
त्यस्तै अतिरिक्त क्रियाकलाप अन्र्तगत अव तत्काल लागू गराउने र पुस्तकालयको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा सामाजिक विकास समितिका अध्यक्ष थापाले देखेको कुरा जस्ताको त्यस्तै राख्ने र छड्के अनुगमन गर्ने बानीले सबै बिद्यालय र शिक्षकले आफ्नो कर्तव्य निरन्तर पुरा गर्ने बानी बिकास हुने बताए । कार्यक्रममा नगर शिक्षा अधिकारी पोखरेल, विद्यालयका शिक्षकहरु, वडा अध्यक्ष आचार्य लगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत खड्काको अध्यक्षता र पोखरेलको संचालनमा सम्पन्न भएको थियो । नगरपालिकाको सामाजिक बिकास शाखाले बिद्यालयलाई नमुना बिद्यालय बनाउने प्रतिबद्धता जनाएको थियो ।
Previous Articleफेरी बढ्यो पेट्रोलमा एक र डिजेलमा दुई रुपैयाँ मूल्य
Next Article २०७४ माघ १९ गते शुक्रबारको राशिफल