नेपाल दक्षिण एसियामा सूचना र सञ्चारको विकासमा अग्र स्थानमा रहेको देशका रुपमा परिचित छ । यहाँ सूचना र सञ्चारको क्षेत्रमा जसरी विकास भैरहेको छ त्यो गतीमा अन्य क्षेत्रको विकास हुने हो भने दक्षिण एसियाको धनि देशको रुपमा चित्रण हुन समय नलाग्न सक्छ । केही बर्ष अगाडि सम्म हुलाकको भरमा सूचनाको आदान प्रधान हुने गरेको देशमा अहिले सूचना तथा सञ्चारका साधानहरुको विकास यस्तो गतिमा भयो कि त्यो विकास कल्पना भन्दा बाहिर थियो । विश्व बजारमा भन्दा निकै द्रुत गतिमा नेपालको सञ्चार क्षेत्रमा विकास भएको छ । हुलाक र अकाशवाणीको भरमा रहेको सूचना प्रवाह गर्ने परिस्थिती एका एक विकास भएर अहिले ईमेल इन्टरनेटको दुनियाँमा आएको छ ।
हिजो हुलाक गर्नका लागी चिठी लेख्न जानेकाहरुलाई खोज्न हिँड्नेहरु पनि आज मोबाईलमा इन्टरनेट सँग रमाईरहेका छन् । हुलाक, आकाशबाणी, ल्याण्डलाईन फोन, मोवाईल फोन हुँदै ईमेल इन्टरनेटसम्मको प्रक्रियामा नेपालले निकै छोटो समयमा फड्को मार्यो जसका कारण चिठी लेख्दै गरेकाहरुले आकाशबाणी र ल्याण्ड लाईन फोनको नामै नसुनी इन्टरनेटको प्रयोग गरे । सूचना र सञ्चारको क्षेत्रमा भएको चरम विकास देश र जनताका लागि खुसिको कुरा हो । सूचना प्रवाह गर्ने माध्यामहरुको प्रयोगले आज सारा विश्वलाई निकै साँघुरो घेरामा सिमीत गरीदिएको छ । आज हावामा उड्दा कयौं घण्टामा पुग्न सकिने ठाउँमा भएको एक नेपाली नागरीक सँग अर्को नेपालीले घरमै बसेर साक्षात्कार गर्न सक्छ । त्यो पनि प्रत्यक्ष देखा देख गर्दै । सूचना प्रवाह गर्ने साधनहरुकै प्रयोगले आज सात समुन्द्र पारि रहेको छोरोको दैनिकी नेपालमा रहेकी आमाले राम्रोसँग जानकारी राख्न सक्छीन् । यो सञ्चारका साधनहरुले ल्याएको सकरात्मक पाटो हो ।
सूचनाका साधनहरुको सदुपयोगले जति फाईदा दिईरहेका छन् । यिनैको दुरुपयोगका कारण आज समाज आतंकित समेत बनेको छ । फोन, सामाजिक सञ्जाल तथा इन्टरनेट सदुपयोग गरे उपयोगी र दुरुपयोग गर्दा निकै घातक चिज हुन् । नेपालमा यस्ता सञ्चार साधानहरुको जतिले सदुपयोग गरीरहेका छन् दुरुपयोग गर्नेहरुको संख्या पनि दिन दुई गुना र रात चौगुनाको दरमा बृद्धि भैरहेको छ । आज देशमा आधुनिक सञ्चार साधनहरुको प्रयोग गरेर अपराधिक कर्म गर्नेहरुको संख्या बढ्दै गएको छ भने ठगि गर्नेहरु पनि सल्वलाई रहेका छन् । हावाको माध्यामबाट प्रसारण हुने यस्ता सञ्चार साधनहरुको निगरानी गर्न कठिन हुने भएकाले राज्यले प्रयास गर्दा गर्दै समेत यस्ता वस्तुहरुको दुरुपयोग गर्दै फाईदा उठाउनेहरु बढिरहेका हुन् । पछिल्लो समय सामाजिक सञ्जाल र फोनको प्रयोगबाट ठगि गर्ने, अपराध गर्ने र समाजमा कोलाहाल मच्चाउनेहरुले यसको दुरुपयोग गर्न थालेका छन् । कुनै पनि वस्तु प्रयोग गर्दा सदुपयोगमा जति फाईदा छ दुरुपयोग गर्दा त्यसको दोब्बर बेफाईदा हुन्छ । यस्तो अवस्थामा राज्य वा सरोकारवालको एक्लो प्रयासले नियमन र नियन्त्रण असम्भव हुन सक्छ । त्यसैले सञ्चारका साधानहरुको दुरुपयोग गर्दै ठगी, अपराध र कोलाहाल मच्चाउनेहरुबाट नागरीक आँफै सचेत बन्न जरुरी छ ।