यात्रा मन नपराउने को होला ? अपवाद छोड्ने हो भने लगभग सबैजसोको प्यारो हुनुपर्छ यात्रा। सबैको जीवन स्वयंमै यात्रा हो। अझ यात्रैयात्राको योग जीवन हो। यात्राले मनोरञ्जनमात्र दिँदैन, ज्ञान र सूचना दिन्छ। प्रत्येक जिन्दगीलाई थप नयाँ जिन्दगीहरू दिन्छ। यात्राबिनाको जीवन अधुरो र अपूरो हुन्छ। यात्राका अनेक आयामले समाजका अनेक आयामसँग साक्षात्कार गराउँछ। एउटा समाजको मानिसले अरू सारा समाजका मानिस, संस्कृति, इतिहास, भूगोल, उकालीओराली सबैसबै सिक्छ र ग्रहण गर्छ आफूलाई पूर्ण बनाउन।
पर्वत रानीपानीको समाजमा जन्मेहुर्केका विष्णुप्रसाद शर्मा पराजुलीले मुलुकका धेरै जिल्लामा जेजति सिके त्योभन्दा बढी कर्णालीको एउटा जिल्ला डोल्पामा छरिएका समाजबाट सिके। सिकेनन् मात्र, ‘डोल्पो’ लेखेर सारालाई सिकाए पनि।
भुक्तभोगीहरूले भनिसकेका छन्, विदेश पुग्नुभन्दा कर्णाली पुग्नु चुनौती र अवसरको विषय हो। कर्णाली र कर्णालीमा पनि डोल्पा पुगेपछि नेपाल चित्रित हुन्छ। तल्लो डोल्पा त धेरै पुगेका छन्, थोरैमात्र पुगेको माथिल्लो डोल्पा पराजुलीको यात्राको मुख्य विषय बनेको छ। माथिल्लो डोल्पा एउटा स्वर्गको अनुभूति प्रदान गर्ने स्थान हो। जीवन्त संस्कृति बोकेको अनुपम ठाउँ पनि हो डोल्पा। पराजुलीको यात्रानिबन्ध कृति ‘डोल्पो : विश्वको जीवित संग्रहालय’ले यही बताएको छ।
डोल्पाबारे जनकलाल शर्माले २०३१ सालमै ‘कौतुकमय डोल्पो’ र घटराज भट्टराईले २०३९ सालमा ‘डोल्पाकी छोटी’ लेखिसकेका छन्, तर दुई वर्षअघि ‘तिब्बत यात्रा’ लेखिसकेका पराजुलीको यो ‘डोल्पो’ नेपाली साहित्यमा डोल्पाकेन्द्रित पहिलो यात्रानिबन्ध हो। माथिल्लो डोल्पाको अनुपम सौन्दर्यलाई विदेशीले पनि यात्रा र कृतिमा समेटिसकेका छन्।
जन्म, विवाह र मृत्यु सार्वभौम विषय हो तर यसलाई ग्रहण गर्ने र मनाउने शैली नेपालमै विविध छ। कृतिको मियो डोल्पा भए पनि लेखकले चार सय २० पृष्ठको यो कृतिमा जुम्ला, रुकुम, मुस्ताङ र बागलुङका सन्दर्भ पनि जोडेका छन्। जुम्लाको एउटा भेगमा बच्चा जन्मेको एक महिनापछि मात्र नाम राखिन्छ। त्यो पनि बुबाआमाले नै। केटाकेटीले आपसमा मन पराएपछि बिहेको टुंगो लाग्छ तर बुबाआमाको सहमतिमा घर भित्र्याउने चलन छ, केहीले भने आफैं ल्याउने पनि चलन छ। हामी धेरैलाई लाग्छ, अन्तिम संस्कारमा भन्दा बिहेबटुलोमा बढी खर्च हुन्छ वा गर्छौं। यस भेगका मानिसले बिहेमा भन्दा मानिस मर्दा धेरै खर्च गर्दा रहेछन्। मृत्युपछि गाउँकै अग्लो डाँडामा लगेर पोल्ने गरिन्छ। मृत्युको तीन दिनपछि त्यो ठाउँमा लिंगो गाड्नुपर्ने चलन पृथक लाग्छ। त्यतिमात्रै होइन मानिस मरेको पाँच सातासम्म लामा र आफन्तलाई रक्सी खुवाउनुपर्छ।
‘जसरी से–गुम्बा, थोसाङ गुम्बा, से–फोक्सुन्डो ताल, नीलो भेडा, नीला सल्ला, हिमचितुवा, कस्तुरी, मृगले यो क्षेत्रको नेपालको प्रतिनिधित्व गर्छन्, त्यसरी नै यस्ता संस्कृतिले हाम्रो समाजको विकास र उच्च सभ्यताको चिनारी दिन्छन्’, यात्राकार पराजुलीले लेखेका छन्। उनले संस्कृति र परम्परामात्र होइन, प्रकृति र प्राकृतिक स्रोतबारेको विषयलाई पनि उत्तिकै सशक्त ढंगले उठाएका छन्। डोल्पा भन्नेबित्तिकै धेरैले सम्झने एउटै नाम छ, से–फोक्सुन्डो ताल। यसको सौन्दर्यले मानिसलाई यसरी लोभ्याउँछ कि उपल्लो डोल्पोका दर्जनौं विशेषता फिक्का हुन्छन्। ‘प्रकृतिको संसारभित्र लुकेर बसेको सुन्दरताको रसास्वादन गर्न सक्छौं, प्रकृतिसँग मायाप्रीति गाँस्न सक्छौं र प्रकृतिलाई अँगालोमा बाध्न सक्छौं’, उनका केही शब्द डोल्पोको प्रकृति वर्णन गर्न पर्याप्त छन्। से–फोक्सुन्डोको वर्णन उनी यसरी गर्छन्, ‘मोती टल्केझैं क्षणक्षणमा कहिले गाढा हरियो त कहिले गाढा नीलो हुने से–फोक्सुन्डोको आकर्षणमा पौडिन सक्छौं। त्यस बेला प्रकृतिले हामीलाई दिने चोखो माया आफ्नी प्रेमिकाले दिने चुम्बनभन्दा पनि सयौं गुणा मीठो र अविस्मरणीय हुन्छ।’
पहिलो चरणमा २६ दिन र दोस्रो चरणमा आठ दिन डोल्पा घुमेर अवलोकन गर्नुमात्रैले कृति बनेको छैन, लेखकले डोल्पासँग जोडिएका १४ स्वदेशी र १६ विदेशीका कृति अध्ययनसमेत गरेका छन्। उनीसँग भएका डोल्पाका यावत् ‘सुन’ लाई उनले भाषाको गुणस्तरीयताको अभावका कारण ‘सुगन्ध’ दिन नसक्दा कतिपय पाठकलाई चित्त नबुझ्न सक्छ। तरm ‘सहर’मा बसेर ‘गाउँ’मा ‘स्वर्ग’ देख्नेहरूलाई भने यो लेखनले ‘अग्र्यानिक’ स्वाद दिनेमा विश्वस्त छु। चार खण्डमा रहेको यो कृतिभित्र प्रत्येक खण्डमा चार पृष्ठ रंगीन तस्बिर र तिनमा राखिएका फोटासँगैका क्याप्सनले कृतिलाई पूर्णता दिएको छ। जसै पाठक पढिसक्छन् तसै फोटाबाट थप पुष्टि र पूर्णता पाउँछन्। कतिसम्म भने चार सयभन्दा बढी पृष्ठ पढ्न समय नपुग्ने कुनै नियात्राकारले १६ पृष्ठका फोटा गहिरिएर अध्ययनमात्र ग¥यो भने पनि कम्तीमा १६ वटा यात्रा लेख्नेछ।
भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको यस पुस्तकमा नियात्राकार पराजुलीले डोल्पामा जेजति धर्म, संस्कृति, परम्परा, प्रकृति, घर, लुगाफाटा, जीवनशैली, जडीबुटी छन् ती सबै अब हुने विकासले लोप हुनसक्ने संकेत गरेका छन्। यी सबैको वर्णन गरेर डोल्पालाई विश्वकै जीवित संग्रहालय भएको पुष्टि गरेका छन्। यद्यपि भूमिकामा मदनमणि दीक्षितले ‘डोल्पो : विश्वको जीवित संग्रहालय’ भने पनि चित्त नबुझेको भन्दै ‘पृथ्वीकै सुन्दरतामा र प्राणधारीहरूमा नयाँ जीवन तथा मोहक श्वासप्रश्वासको जीवित प्राकृतिक प्रस्तुति’ हुनुपर्ने तर्क गरेका छन्।
लोप हुनसक्ने संकेतका क्रममा नियात्राकार विकासविरोधी देखिएजस्तो लागे पनि उनले वर्तमान संघीयता कार्यान्वयनका क्रममा हुने विकासलाई समेत जोड्न भ्याएको यो उदाहरणबाट त्यो भ्रम पाठकमा हुने छैन, ‘अर्कातर्फ व्यापारिक रूपमा तिब्बतदेखि सुनौली हुँदै भारतको रक्सौल जोड्ने छ, चीनले ऐतिहासिक रेशम मार्गलाई आधुनिक युगमा जोडेर सार्थक पारेझैं नेपालले पनि यो सडक जोड्दा कम्तीमा सातौं शताब्दीदेखि प्रयोगमा आएको नेपाल, तिब्बत, भारतबीचको धार्मिक तथा व्यापारिक नाका आधुनिक युगमा जोडिने थियो र आधुनिक विकासले ठूलो फड्को मार्ने थियो।’
‘भात गोद्नु’जस्ता ठेट शब्द अहिलेको पुस्ताले नपचाउला, नबुझ्ला पनि। धेरैलाई ‘मार्सी धान’, ‘जिउरे (सेल रोटी)’, ‘लुङ्दार’, ‘छ्योर्तेनजस्ता शब्दले भाषा बचाएको छ। उनले भात गोद्ने प्रसंगमा लेखेका छन्, ‘खुर्सानी र कालो दालसँग भात गोद्नुबाहेक हामीसँग अरू विकल्प थिएन।’ स्थानीय परिवेश, भाषा र सन्दर्भ लगायतका विषय आफैंमा एउटा कथा उनेका उनले पाठकलाई यिनमा लोभ्याउन सफल भएका छन्। ७५ वर्षीय डिलबहादुरको जोश, जाँगर, फरासिलोपन पुस्तकमा उल्लेख छ। यस्ता थुप्रै पात्र, परिवेश, संस्कृति र विकासबारे नियात्रामा लेखेका छन्।
खस क्षेत्रीलाई मतवाली क्षेत्र भनिएको र लेखिएकोमा उनलाई चिन्ता छ। रैथाने खस क्षेत्रहरूलाई मतवाली र भोटे भनेर हेपिएको सन्दर्भ सशक्त ढंगमा उठाएका छन् उनले। डोल्पाको धर्म र संस्कृति पुरानो भएकाले यिनलाई इतिहाससँग जोड्न सके नेपालको सबैभन्दा पुरानो इतिहास ब्यूँतने र बच्ने उनको बुझाइ छ। तिब्बतमा बौद्ध धर्मले क्रमशः पुरानो बोन धर्मलाई मास्दै लगेको सन्दर्भ प्रस्तुत गर्दै डोल्पाको बोनलाई बचाइराख्नुपर्नेमा उनको जोड छ। यति हुँदाहुँदै पनि वैदिक धर्ममा यो क्षेत्रलाई हिमाली उपमहादेश भनिएको सन्दर्भमा महाभारत र वेदहरूमा भएका धर्म र दर्शन आदिलाई जोड्न चुक्दा नेपालको पुरानो इतिहासलाई जीवन्त बनाउन पराजुली पछि परेका छन्।