जिल्लामा पहिलो पटक आजदेखी प्रदेश स्तरको मेयर कप फुटवल प्रतियोगिता आयोजना हुँदै छ । मंगलबारबाट सुरु हुने यो प्रतियोगिताले नेपालको संबिधानले परिकल्पना गरेअनुसारको नयाँ संरचनामा बनेको प्रदेश नम्बर चारलाई जोड्ने प्रयास गर्ने छ । प्रदेश स्तरको प्रतियोगिता आयोजना भएकाले प्रदेश नम्बर चारका सबै नगर तथा उपमहानगर र महानगरपालिकाले सहभागिता जनाउने अवसर पाएका छन् । प्रतियोगितामा सहभागी हुने ११ समुहलाई हेर्दा समग्रमा प्रदेश भित्रका सबै जिल्लाहरुको प्रतिनिधित्व हुने संकेत देखिएको छ । मनाङ, मुस्ताङ जस्ता केही जिल्लाहरुबाट प्रतियोगितामा सहभागी छैनन् । जिल्लामा नै खेलकुदका गतिबिधि कम हुने र प्रदेश स्तरको प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने खेलाडिहरु नभएका कारण सहभागिता जनाउन नसकेका ति जिल्ला तथा नगरपालिकाहरुलाई पनि सहभागिताको लागि मात्रै भएपनि सहभागी बनाउन सकेको भए अझ सुनमा सुगन्ध हुने थियो । प्रतियोगीताले एकातर्फ खेल क्षेत्रमा राम्रो सहयोग गर्ने छभने खेलकुदको माध्यामबाट जिल्लाको पर्यटनको बिकासमा टेवा पु¥याउने कुरामा पनि बिश्वास गर्न सकिन्छ ।
खेलमा ११ समुह सहभागी हुँदा दुई समुह गृह जिल्लाका र बाँकी दुई समुह छिमेकी जिल्लाका सहभागी हुँदैछन् । बाँकी सात समुह अन्य जिल्लाबाट सहभागी हुने कुरा पक्का भएको छ । प्रतियोगिताको अर्को महत्वपुर्ण पक्ष भनेको जिल्ला सदरमुकाममा रहेको खेल मैदान र होम–स्टेसहितको गाउँ भकुण्डेमा रहेको खेल मैदानमा खेल बाँडेर खेलाईनु हो । भकुण्डेमा हुने खेलका कारण भकुण्डेको सौन्दर्यता र त्यहाँको होम–स्टेको प्रचार–प्रसार मात्रै हुने छैन् बैकल्पिक खेल मैदानको रुपमा भकुण्डेको खेल मैदानलाई विकास गर्न सहयोग पुग्ने छ । भकुण्डेमा खेल खेल्न जाने खेलाडी, खेल हेर्नका लागि त्यहाँ पुग्ने दर्शक र स्वयम आयोजकले प्रयोग गर्ने आधारभुत आवश्यकताका कुराहरुको प्रयोगले मात्रै पनि भकुण्डेको आर्थिक विकासमा टेवा पुग्ने छ । अर्कोतर्फ त्यहाँ पुग्ने अन्य जिल्लाका खेलाडी तथा दर्शकहरुका कारण त्यहाँको होम–स्टेको प्रचार–प्रसारमा टेवा पुग्ने कुरमा कसैको दुई मत नहोला ।
करिव छ दिन लामो प्रतियोगिता सञ्चालनका क्रममा जिल्ला सदरमुकामको व्यापार व्यवसायमा पनि ठुलो टेवा पुग्ने देखिएको छ । खेलका लागि जिल्लामा आउने खेलाडि र दर्शकहरुले यहाँका होटल तथा रेष्टुँराको प्रयोग गर्ने र आवश्यक अन्यबस्तु तथा सेवा पनि यहाँकै प्रयोग हुने भएकाले आर्थिक रुपमा जिल्लालाई टेवा पुग्ने छ । बागलुङ नगरपालिकाले खेलकुदको क्षेत्रमा गरेको यति ठुलो लगानी सह्रायिन छ । खेलकुदको माध्यामबाट आफ्नो नगरपालिकाको प्रचार–प्रसार र विकासको लागि जुन कदम नगरपालिकाले चाल्यो त्यसमा यहाँका ब्यापारी, व्यवसायी लगायत सबै सरोकारवालाले हातमा हात मिलाएर सहयोग गरौं । पहिलो मेयर कप खेलकुदको विकासका लागि मात्रै हैन समग्र जिल्लाको आर्थिक तथा पर्यटनको विकासका लागि हो भन्ने कुराको हेक्का रहोस । नगरपालिकाले पनि प्रतियोगितालाई एउटा देखाउने उपलव्धीमुलक बनाउनका लागि आवश्यक थप सबै खालका अस्त्रहरुको प्रयोग गरेर जिल्लाको र नगरपालिकाको गरिमा बढाउनमा लागोस प्रथम मेयरकप सफलताको शुभकामना ।