२५ मेगावाटका दुइटा टर्बाइन रहेको उक्त आयोजनाबाट उत्पादित विद्युतमध्ये युनिट नं. १ बाट व्यावसायिक उत्पादन सुरु गरिएको हो । युनिट २ बाट उत्पादित विद्युत ३ महिनापछिमात्रै व्यवसायिक रुपमा जडान गरिने आयोजनाले जनाएको छ ।
उद्घाटन कार्यक्रममा भने दुवै टर्बाइनबाट विद्युत उत्पादन गरिएको थियो । उक्त आयोजनाबाट बार्षिक ३ दशमलव १७ गिगावाट विद्युत उत्पादन हुने छ ।
चिनिया बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको उक्त आयोजनाले करीब १६ अर्ब रुपैयाँ खर्च गरेको आयोजना स्रोतले बताएको छ ।
यो चिनियाँ लगानीमा निर्माण भएको पहिलो जलविद्युत आयोजना हो । नेपाल विद्युत प्राधिकरणसंग वि.सं. २०५२ मा विद्युत खरिद विक्री सम्झौता (पीपीए) गर्दा १२ अर्ब रुपैयाँ खर्च हुने प्रक्षेपण गरिएको थियो । रन अफ रिभर प्रविधिमा निर्माण भएको उक्त आयोजनाको डलर भाउ बढ्नु, निर्माण सामग्रीको महंगी, आयोजनामा भएको बन्दहड्ताल, भूकम्प, नाकाबन्दी लगायतले लागत बढेको आयोजना स्रोतले बताएको छ ।
‘हामीले ५० मेगावाट विद्युत तयार गरेका छौं ।
केही प्राविधिक कारणले सवै उत्पादन जोड्न सकेनौं’ सोमबार जलविद्युत आयोजनाको औपचारिक उद्घाटन कार्यक्रममा कार्यकारी प्रवन्ध निर्देशक यान हुङ वेले भने, ‘हामीले उत्पादन गरेको विद्युतले यहाँको विकास हुनेमा ढुक्क छु ।’ उर्जामन्त्री जनार्दन शर्माले काठमाडौंको हायत होटलबाट आयोजनाको उद्घाटन गर्न जनाउ दिएपछि विद्युत गृहमा रहेका सांसद डा. भीष्मनाथ अधिकारीले स्वीच थिचेर विद्युतको व्यवसायिक उत्पादन भएको घोषणा गरेका हुन् ।
‘विद्युतको आधा माग पनि पुरा नभएको अवस्थामा यस आयोजनाको उत्पादनले लोडसेडिङ घटाउनेमा अवश्य टेवा पुग्नेछ’ उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै डा. अधिकारीले भने, ‘चिनिया कम्पनीले छिटो र छरितो रुपमा गरेको कार्य प्रशंसनीय छ । जलविद्युतमा लगानीमैत्री वातावरण बनाउन आवश्यक छ ।’
उनले लगानीमैत्री वातावरणका लागि सरकारले ठोस निर्णय अघि सार्नुपर्ने बताए । सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले राजनीतिक दल, सरकार र स्थानीयको आयोजनाप्रतिको सकरात्मक दृष्टिकोणले छोटो समयमै आयोजनाको निर्माण सकेको दावी गरे ।
उक्त आयोजना २० बर्षअघि अमेरिकी डलरमा प्रतियुनिट ५ दशमलब ९ सेन्टमा पीपीए गरिएको थियो । डलरको भाउ बढदा अहिले प्रतियुनिट ७ सेन्ट पुग्ने स्रोतले बताएको छ ।
सिनो हाइड्रो रिसोर्सेस लिमिटेडको मुख्य लगानीमा सन् २०१३ को जनवरीदेखि आयोजनाको निर्माणकार्य सुरु गरिएको हो । सन् २०१५ अप्रिल २५ मा गएको भूकम्प र त्यसपछि भारतले गरेको नाकाबन्दी असर गरेपनि तोकिएको समयमै निर्माण सकेको आयोजनाले दावी गरेको छ । बाहुनडाँडा र भुलभुलेको सीमाक्षेत्र मस्र्याङी र ङादी दोभानमा बाँध बनाइएको उक्त आयोजनाबाट ५ दशमलब ३ किलोमीटर सुरुङमार्फत भुलभूले ३ को मस्र्याङी नदी किनारमा निर्माण गरिएको गृहमा पानी ल्याएर विद्युत उत्पादन गरिएको छ ।
२५ मेगावट विद्युत खेर
नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइन निर्माण नगर्दा आयोजनाबाट उत्पादिन २५ मेगावाट विद्युत खेर गएको छ । आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीका अनुसार प्रसारण लाइनको अभावमा तयारी अवस्थाको २५ मेगावाट विद्युत जडान गर्न नसकिएको आयोजना स्रोतले बताएको छ ।
सरकारले प्रसारण लाइन निर्माण गर्न ढिलाई गरेपछि आयोजनाले सन् २०१४ बाट नै भुलभुले–मध्यमस्र्याङी प्रसारण लाइन ‘सिंगल सर्किट’ निर्माण सुरु गरेको थियो । १३२ केभीको उक्त प्रसारण लाइन २० किलोमीटरको छ । उक्त प्रसारण लाइन नेपाल विद्युत प्राधिकरणको ब्यवस्थापन र सुपरभिजनमा ३५ करोड लागनी गरी माथिल्लो मस्र्याङी आयोजनाले निर्माण गरेको हो । आयोजनाले उक्त लगानी नेपाल विद्युत प्राधिकरणबाट पछि असुल गर्ने आयोजना स्रोतले बताएको छ ।
माथिल्लो मस्र्याङी ‘ए’ बाट उत्पादित विद्युत ७० मेगावाटको मध्यमस्र्याङी जलविद्युत केन्द्रमा ‘स्वीच एड’ गरिएको छ । मध्यमस्र्याङीबाट तल्लो मस्र्याङी (६९ मेगावाट) सम्मको १३२ केभीको राष्ट्रिय प्रसारण लाइनको क्षमता ९० मेगावाटमात्रै रहेको मध्यमस्र्याङी जलविद्युत केन्द्रका प्रमुख राजेशकुमार पाण्डेयले बताए ।
‘मध्यमस्र्याङीको ७० र माथिल्लो मस्र्याङीकै २५ मेगावाट पनि बढी भार हुन्छ’ उनले भने, ‘प्रसारण क्षमताको पावर ब्यालेन्सका लागि यी दुई आयोजनामध्ये एउटाले अहिले नै कम्तीमा ५ मेगावाट विद्युत उत्पादन घटाउनुपर्छ ।’ माथिल्लो मस्र्याङी ‘ए’ आयोजनाको पुरै क्षमता विद्युत प्रसारण लाइनमा जडान गरिए मध्यमस्र्याङी जलविद्युत आयोजनाको विद्युत उत्पादन बन्द गर्नुपर्ने अवस्था आउने स्रोतले बताएको छ ।
‘प्राधिकरणसंग सम्र्झाता गर्दा माथिल्लो मस्र्याङी ए बाट विद्युत उत्पादन भएबापत रकमको ८० प्रतिशत हर्जाना तिनुपर्ने छ’ प्राधिकरण स्रोतले भन्यो, ‘प्रसारण लाइनले नधान्ने अवस्थामा के गर्ने भन्ने विषयमा प्राधिकरण नै अलमलमा परेको छ ।’
नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार तल्लो मस्र्याङीसम्मको ‘डबल सर्किट’ प्रसारण लाइन नबनाउँदा सम्म माथिल्लो मस्र्याङी ‘ए’ ले पुरै क्षमताको विद्युत उत्पादन गरेपनि प्रवाह हुन सक्दैन ।
स्रोतका अनुसार अबको हिउँदमा सवै विद्युतको उत्पादन घट्ने भएकाले माथिल्लो मस्र्याङी ‘ए’ आयोजनाको विद्युत उत्पादन थेग्ने र १ बर्षमा निर्माणाधिन तनहुँको तुरतुरदेखि तल्लो मस्र्याङीसम्मको ‘डबल सर्किट’ प्रसारण लाइनको निर्माण सक्ने लक्ष्य लिइएको छ । त्यसपछि माथिल्लो मस्र्याङी ‘ए’ आयोजनाको पुरै विद्युत खपत हुने स्रोतलेब ताएको छ ।
सामाजिक उत्तरदायीत्वमा १ अर्ब खर्च
निर्माण थालेको ४ बर्षको अवधिमा आयोजनाले १ अर्ब रुपैयाँ बराबरको सामाजिक उत्तरदायित्वको कार्यमा लगानी गरेको जनाएको छ । सीप विकास तालिम, अस्पताल, विद्यालय, सामुदायिक भवन निर्माण, आमा समूह भवन, खानेपानी तथा सिँचाई, सडक निर्माण, पुलपुलेसा, मन्दिर तथा गुम्बा निर्माणमा खर्च गरेको आयोजनाले जनाएको छ ।
कूल १ सय १५ वटा आयोजना रहेकोमा ९४ वटा आयोजना सम्पन्न भएको र बाँकी निर्माणाधिन अवस्थामा रहेको आयोजनाले जनाएको छ । माथिल्लो मस्र्याङी ‘ए’ जलविद्युत आयोजना सरोकार तथा समन्वय समितिका अध्यक्ष जीतबहादुर गुरुङले आयोजनाले निर्माणका बेला स्थानीयको मागलाई पुरा गर्ने सन्दर्भमा सामाजिक उत्तरदायित्वका काम गरेको बताए । आयोजनाले स्थानीय युवा क्लव, राजनीतिक दल, आमा समूह, सामुदायिक विद्यालय, धार्मिक तथा खेलकूद कार्यमा २७ लाख रुपैयाँ चन्दा समेत दिएको जनाएको छ ।
Previous Articleसरकारलाई दिएको समर्थन फिर्ता लिने मोर्चाको चेतावनी
Next Article कस्मिर युद्धमा पाकिस्तानको साथ दिने चीनको संकेत