काठमाडौँ, १५ माघ – आन्तरिक राजस्व विभागका तत्कालिन महानिर्देशक चुडामणि शर्माविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतलमा अर्को मुद्दा दायर गरेको छ । अख्तियारले विशेष अदालतमा सोमबार दर्ता गरेको मुद्दामा शर्माले सार्वजनिक पदमा बहाल रहँदा ४ करोड २९ लाख ५३ हजार एक सय २४ रुपैयाँ स्रोत नखुलेको सम्पत्ती आर्जन गरेको अभियोग लगाइएको छ ।
शर्माले सरकारी नोकरी तथा शर्माका परिवारले विभिन्न आयमुलक क्षेत्र तथा सेयर बजारमा गरेको लगानीका आधारमा उनले ३ करोड ६३ लाख ७२ हजार ९ सय ६१ रुपैयाँ आम्दानी गरेकाे पनि अख्तियारले जनाएको छ । त्यही अवधिमा उनले सेयर लगानी लगायतका क्षेत्रमा समेत गरी ७ करोड ९३ लाख २७ हजार ८५ रुपैयाँ खर्च गरेकोमध्ये ४ करोड २९ लाख ५४ हजार ९ सय ६१ रुपैयाँ बराबरको सम्पत्तीको स्रोत नखुलेको दाबी पनि अख्तियारले गरेको छ ।
‘चुडामणि शर्मा र उनको परिवारको अस्वभाविक उच्च जीवनस्तर तथा आफ्नो हैसियत भन्दा बढी रकम आफ्नो, श्रीमती तथा छोराहरुको नाममा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा मौज्दात देखिएको छ’, अख्तियारले भनेको छ, ‘विभिन्न बित्तिय संस्था तथा कम्पनीका सेयर खरिद तथा लगानी गरेको पनि पाइएकोछ । सवारी साधन खरिद एवं घर निर्माण तथा जग्गा लगायतका सम्पत्ति पनि किनेको देखिएको छ ।’
शर्माले ४ करोड २९ लाख रुपैयाँ कमाएको स्रोत पुष्टि गर्न नसकेकाले गैर कानुनीरुपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले शर्माविरुद्ध विगो ४ करोड २९ लाख ५४ हजार १ सय २४ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५, दफा १६ग, तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम विगो बमोजिम जरिवाना र कैद सजायका साथै उनले स्रोत पुष्टि गर्न नसकेको तथा भ्रष्टाचार गरी गैरकानुनी आर्जन गरेको सम्पत्तिको विगो ४ करोड २९ लाख ५४ हजार १ सय २४ जफत गर्न माग गर्दैं विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
शर्माले स्रोत पुष्टि हुन नसकेको सम्पत्ति श्रीमती कल्पना उप्रेती शर्माको नाममा लुकाएर राखेको भन्दै उनलाई पनि प्रतिवादी बनाएको छ। श्रीमतीको नाममा रहेको सम्पत्ति पनि जफत गर्नका लागि उनलाई पनि प्रतिवादी बनाउँदै अख्तियारले मुद्दा चलाएको हो ।