मुस्ताङ, १५ माघ– जिल्लाका स्थानीय तहले कृषकलाई यस वर्ष २५ हजारभन्दा बढी स्याउका बिरुवा वितरण गरेका छन् । स्याउ खेती विस्तारका लागि बाहगाउँ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकलाई २५ हजार ५०० स्याउका बिरुवा वितरण गरेका हुन् । घरपझोङले १० हजार, बाहगाउँ मुक्तिक्षेत्रले १५ हजार र थासाङले ५०० वटा स्याउका बिरुवा वितरण गरेको जनाएका छन् । गाउँपालिकाको कृषि शाखामार्फत कृषकलाई स्याउका बिरुवा वितरण गरिएको हो ।
रु. ४५ मूल्य पर्ने स्याउका बिरुवा कृषकलाई रु. २२ मा उपलब्ध गराइएको घरपझोङ गाउँपालिकाका कृषि प्राविधिक बिमल खत्रीले बताए । उनका अनुसार कृषकलाई स्याउ बगैँचा सरसफाइका लागि नीलो तुथो, स्प्रे, सिकेचर, करौँटीलगायत औजारसमेत उपलब्ध गराइएको छ । थासाङ गाउँपालिकाले स्याउका साथै ५०० वटा ओखरका बिरुवा वितरण गरेको छ ।
रु. २७ मूल्य पर्ने ओखरका बिरुवा रु. १३ मा उपलब्ध गराइएको हो । यसअघि कृषि विकास कार्यालयले सञ्चालन गर्दै आएको कार्यक्रम राज्य पुनःसंरचना लगत्तै स्थानीय तहका शाखाबाट हुन थालेको छ । स्थानीय तहले कृषकको आयआर्जन वृद्धि र रोजगारी सिर्जनाका साथै स्याउको उत्पादन बढाउन खेती विस्तारमा जोड दिएको बाह गाउँ मुक्तिक्षेत्र गाउँपालिकाको कृषि शाखाकी नायब प्राविधिक सहायक मनिता तामाङले बताइन । शीतोष्ण बागबानी विकास केन्द्रले उत्पादन गरेको बिरुवा खरिद गरेर कृषकलाई उपलब्ध गराउँदै आएको छ ।