बागलुङ, १४ माघ– गाउँको बिकास गर्ने प्रतिवद्धता जनाएर चुनाव जितेका जिल्लाका जनप्रतिनिधिहरुलाई अहिले आफ्ना सबै वडामा सडकको ट्रयाक खोल्ने मुख्य चुनौती भएको छ । जिल्लाको सबैभन्दा टाढा र कठिन भूगोलमा रहेकोले तमानखोला गाउँपालिकाको बिकास कर्णाली जत्तिकै जटिल छ । गाउँपालिकाको अध्यक्ष उमेदवार बन्दा काम सजिलै सकिएला भन्ने सोचेपनि जितेर आएपछि काम गर्न कठिन देखेको अध्यक्ष जोकलाल बुढा बताउँछन् । ‘काम गर्न धेरै गाह्रो छ, बजेट प्रसस्त होला भनेको थिए, सिमित बजेटले सडकको ट्रयाक खोल्ने काम असंभव जस्तै भयो ।’ चट्टान र खोंचमा रहेकोले यो गाउँपालिकाको वडा ६ मा कतैपनि ट्रयाक समेत खुलेको छैन । अन्य वडामा पनि खोला छेउछाउमा मात्र ट्रयाक खुलेको छ । बस्ती रहेका गाउँ–गाउँमा पु¥याउन ५ बर्षे रणनीतिक योजना बनाएको उनले बताए । जितेर आएपछि जनताले अनुभूति गर्नेगरी अन्य केही काम भने थालेको उनको दावी छ ।
गाउँलेको चाहना अनुसारको बिकास दिने दिर्घकालिन र अल्पकालिन योजना बनाउँदैमा उनी व्यस्त छन् । अध्यक्ष निर्वाचित भएपछि व्यक्तिगत खर्चमै उनी कर्मचारी झै गाउँपालिका नजिकै डेरा लिएर बसेका छन् । बुंगादोभान, खुंखानी र तमानलाई मिलाएर बनाइएको यो गाउँपालिका पुग्न सदरमुकाम बाट १ हजार ५ सय रुपैयाँको भाडा तिरेर ६ घण्टा पैदल हिड्नुपर्छ । त्यहाँका बासिन्दालाई ५ बर्षभित्र गाडी चढेर जाने व्यवस्था बनाउने चिन्तन बनाएको उनले बताए । प्रशासकीय अधिकृत खिमबहादुर बिक पनि सडकको ट्रयाक खोल्न कसरी सकिएला भनेर चिन्तित छन् । अविवाहित बुढा र बिक दाजुभाई जस्तै मिलेर काम गरिरहेका छन् । भन्छन्, ‘यति धेरै बिकट कर्णालीमा पनि छैन, उनीहरुका लागि बिकास पाएको अनुभूति दिन पहल गरेका छौं ।’ बुर्तिवाङदेखि ५ घण्टा पैदलमा पुगिने बुंगादोभानसम्म जनप्रतिनिधिकै पहलमा सडकको ट्रयाक खुलेको छ ।
२ घण्टामा सवारी चढेर पुग्न सकिने भएपछि गाउँलेलाई खुसीको सिमा छैन । ‘गाडी चढेर आउन पाईन्छ भन्ने सोचेका थिएनौं, अब बाटो राम्रो भए शिक्षा र स्वास्थ्य सेवाका लागि सदरमुकाम पुग्न सकिन्थ्यो’ तमानखोला ३ सोमरका बिष्णुप्रसाद रोकाले भने, ‘बाटो नभएर हाम्रा बालबालिकाले पढ्न जान पनि सकेका थिएनन् ।’ बुंगादोभानदेखि खुंखानी, नर्जाखानी र भित्रिवन सम्मका बासिन्दाले भने अझै ६ घण्टा पैदल हिडेपछि मात्र माध्यामिक विद्यालय भेट्न सक्छन् । निर्वाचिन भएर आएलगत्तै जनप्रतिनिधिहरुले बुंगादोभानदेखि खुंखानी १० किमी सडकको ट्रयाकको काम भैरहको छ । गाउँपालिकाको १५ लाख बजेटमा स्थानीय श्रमदान मिलाएर बनेको सडकले खाद्यान्न ढुवानीमा ठूलो राहत मिलेको छ । बुंगादोभानदेखि तमान जोड्ने १२ किमी सडकको ट्रयाक र देउरालीदेखि सोलेडाँडा जोड्ने १० किमी सडक बन्दै छ । सोलेबाट म्याग्दीको दरवाङ भएर बेनी पुग्दा यहाँका बासिन्दालाई दैनिक उपभोग्य बस्तु खरिदका लागि सहज हुन्छ । गाउँपालिकाको आफ्नै भवन छैन । स्थानीय स्वास्थ्य संस्थाका केही कोठा प्रयोग गरेर कार्यालय स्थापना गरिएको छ । २५ लाख रुपैयाँ लगानी गरेर स्वास्थ्य चौकीमा तला थपेपछि काम चलाउ कार्यालय राखिएको बिकले बताए ।
प्रसासकीय अधिकृत, लेखापाल र २ जना वडा सचिव बाहेक अन्य कर्मचारी छैनन् । गाउँपालिकाको प्रत्येक वडामा पैदलै जानुपर्ने बाध्यता छ । खानेपानीको पनि समस्या छ । विद्युत, यातायात, विद्यालय समेत नभएकोले गाउँपालिकाले दिर्घकालिन रुपमा वडा नं. ६ को पात्ले, नर्जाखानी र भित्रिवनलाई एकीकृत बस्ती विकास गरेर राख्ने योजना बनाएको छ । ‘झण्डै ४ सय घरलाई एकै ठाउँमा ल्याउन सकेमा खानेपानी, विद्युत, यातायात, शिक्षा, स्वास्थ्य लगायतका काम एकै स्थानमा पु¥याउन सकिन्छ’ बुढाले भने, ‘अहिले वडा नं. ६ मा माध्यामिक विद्यालय, स्वास्थ्यचौकी, खानेपानी, विद्युत र यातायात केहीपनि छैन ।’ पहिरोको जोखिम समेत भएकोले एकीकृत बस्ती विकासको योजना अगाडि सारेको उनले बताए । चुनावमा यो काम गर्ने आश्वासन भने उनले दिएका थिएनन् ।
गाउँपालिकामा जनप्रतिनिधिलाई सडक चुनौती
Previous Articleकाठेखोला–६ लाई सुन्तलाको पकेट क्षेत्र बनाईने
Next Article एमाले-माओवादीबीच मुख्यमन्त्री र सभामुखमा भागबण्डा