बागलुङ, १२ माघ– २५ बर्षदेखि संचालन हुन नसकेको बलेवा बिमानस्थल संचालन गर्नका लागि अध्ययनका लागि आएको नेपाल नागरिक उड्ययन प्राधिकरणको टोलीले पूर्व र दक्षिणका रुख काटेमा जहाज चल्ने बताएको छ । प्राधिकरणका प्रवन्धक इन्द्रराज अधिकारी सहितको प्राविधिक टोलीले स्थलगत निरक्षणपछि बलेवामा आयोजित एक कार्यक्रममा दक्षिण र पूर्वका सल्लाका रुख काट्नुपर्ने बताएको हो ।
साथै हाल प्रहरी चौकी रहेको स्थान नजिकैका केही अग्ला रुक पनि काट्न सल्लाह दिएको हो । ईन्जिनियर मिनराज ओझाले हवाई मैदानमा सामान्य मर्मत गरे पुग्ने बताए । उनले मर्मतबाटै डोनियर र ट्वीनअटर जहाज अवतरण गराउन सकिने जानकारी गराए । ‘सधै एउटै दिशाबाट जहाज आउजाउ गर्न सक्दैन, त्यसैले आसपासमा ठूला घर बनाउन पनि रोक्नुपर्छ’ ओझाले भने, ‘जहाज चलाउने मात्र नभएर दिर्घकालिन योजना बनाउने होभने स्थानीय बासिन्दाले बढी चासो लिनुपर्छ ।’ उनले स्थानीयले रुख कटाउने काम गरिसक्दा प्राधिकरणले टर्मिनल भवनको मर्मत गर्ने पनि बताए । हाल बलेवा बिमानस्थल २०४९ सालदेखि नै बन्द अवस्थामा छ । लामो समयदेखि बन्द भएकोले टर्मिनल भवन जीर्ण भैसकेको छ ।
‘आएका यात्रीलाई राख्ने र ओत लाग्ने स्थान, खानेपानी लगायतका व्यवस्था पनि बनाउनुपर्नेछ’ अधिकारीले भने, ‘स्थानीय तहले गर्ने केही जिम्मेवारी छभने हामीले केही काम गर्छौ ।’ आफ्नो दायित्व पुरा गरेमा छिटै जहाज ल्याउन सकिने उनले बताए । साथै नीजि बिमान कंपनीलाई पनि आवस्यकता देखाउन सकेमा जहाज ल्याउने उनको भनाई छ । जहाज संचालन गर्ने बिषयमा यसअघि काठमाण्डौमा भएको छलफलमा बागलुङ नगरपालिकाले बाहिरी घेरा लगायतको पूर्वाधारमा लगानी गर्ने बताएको छ । साथै जहाज उडान गर्दा आवस्यक पर्ने सिट क्षमतामध्ये अपुग भएका ४ सिटसम्मको नगरपालिकाले ग्यारेन्टी बसेपछि प्राधिकरण जहाड उडाउन सहमत भएको नगर प्रमुख जनकराज पौडेलले बताए । ‘जनताको चाहना अनुसार काम गर्न स्थानीय सरकार तयार छ’ पौडेलले भने, ‘नियमित संचालन गर्ने मैदान तयार पार्दा प्राधिकरणलाई पनि फाइदा पुग्छ ।’ बिमान स्थलसम्म पुग्ने सडकलाई बाह्रै महिना संचालन गर्ने तथा स्तरोन्नती गर्ने काममा भने तत्काल लगानी गर्नुपर्ने देखिएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । हाल मैदानको पूर्वि भाग भएर कालीगण्डकी कोरिडोरको ट्रयाक खुलेको छ । त्यस्तै पश्तिमतर्फ केही माथी बागलुङ कुश्मीसेरा सडक बनेको छ । पहिलो चरणमा पश्चिम तर्फको सडकलाई कालोपत्रे गर्ने काम शुरु भएको छ । केही समयमा कोरिडोरले पनि पूर्णता पाएमा जहाज नियमित संचालन हुने स्थानीय नरेन्द्र खड्काले विश्वास गरे ।
नगरपालिकको सम्झौता अनुसार पहिलो चरणमा नेपाल एयरलाइन्स र तारा एयरलाइन्सले उडान भर्नेछ । सातामा एकदुईवटा जहाज हुँदै दैनिक उडान गर्ने वातावरण बनाउने नगर प्रमुख जनकराज पौडेलले बताए । उनले चैतेदशै अघि बागलुङमा जहाज ल्याउन पहल गरेको बताए । २०१९ सालमा बनेको यो मैदानमा २०४९÷०५० सम्म जहाज आउजाउ गर्ने गरेको खड्का बताउछन् । उनले ४५ रुपैयाँमा पोखरा र ८५ रुपैयाँमा काठमाण्डौसम्म जहाज चढेर पुगेको स्मरण समेत गरे । बलेवा बिमानस्थलमा आयोजित कार्यक्रममा नागरिक उड्ययन प्राधिकरणका प्रवन्धक इन्द्रराज अधिकारी र नगर प्रमुख जनक पौडेलले बोलेका थिए । वडा अध्यक्ष चक्रबहादुर खत्रीले स्वागत र वडा सदस्य नारायण श्रेष्ठले कार्यक्रमको संचालन गरेका थिए । जहाज चल्ने हल्ला सुनेका स्थानीयहरु प्राविधिकटोलीको भनाई र जनप्रतिनिधिको आश्वासन सुन्न ओईरिएका थिए ।
बलेवा बिमानस्थल सञ्चालनको तयारी ‘रुख काटे जहाज चल्छ’
Previous Article२०७४ माघ १२ गतेशुक्रबारको राशिफल
Next Article १२ माघ २०७४, ढोरपाटन दैनिक