काठमाडौं, ११ माघ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको ‘कामचलाउ’ सरकारले बुधबार वृद्धभत्ता पाउने उमेरहद ७० वर्षबाट ६५ कायम गर्ने निर्याय गर्यो । सरकारको पछिल्लो निर्णयलाई नयाँ सरकार गठनको तयारीमा लागेको नेकपा एमालेले आपत्ति जनाइसकेको छ ।
सामाजिक सुरक्षा भत्ताको उमेरहद घटाउने सरकारी निर्णयको अर्थविद्हरुले विरोध जनाएका छन् । यस्ता दूरगामी महत्त्वका निर्णय संसदबाट पारित गरेर मात्र लागू गर्नुपर्ने संवैधानिक व्यवस्था छ । नेकपा एमालेले विरोध जनाइसकेका कारण यो निर्णय कार्यान्वयन हुने सम्भावना कम छ ।
आफ्नै हात जगन्नाथ !
देउवा सरकारको यो ‘अलोकप्रिय’ निर्णय कार्यान्वयन भएमा त्यसको लाभ स्वयम् प्रधानमन्त्री र उपप्रधामनन्त्रीले पनि लिनेछन् । नेपाली कांग्रेसका दर्जनभन्दा बढी केन्द्रीय सदस्यले यो लाभ लिन पाउने छन् । विक्रम संवत् २००३ सालमा जन्मेका कांग्रेस सभापति देउवा अहिले ७१ वर्षका भए । मन्त्रिपरिषद्को बुधबारको निर्णयअगावै उनी वृद्धभत्ताका लागि योग्य भइसकेका थिए । सांसदको सुविधा पाउने भएकोले देउवाले दोहोरो सुविधा लिन भने पाउने छैनन् । उसो त काठमाडौंमा सुविधा सम्पन्न बंगलामा बस्ने देउवा वृद्धभत्ता थाप्न जाने कुरा पनि भएन ।
देउवा सरकारको निर्णयप्रति एमाले अध्यक्ष केपी ओलीले बिहीबार पत्रकार सम्मेलनमै व्यङ्ग गरे, ‘शेरबहादुरजी सांसद हुँदै हुनुहुन्छ, किन हतार भएको उहाँलाई ? फेरि उहाँ ७१ वर्षको भइसक्नु भयो क्यारे ।’ देउवाका अतिरिक्त कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि वृद्धभत्ता पाउने छन् । २००१ सालमा जन्मेका पौडेल ७३ वर्षका भए । पटक-पटक उपप्रधानमन्त्री र सभामुख भइसकेका पौडेल पनि ‘कम्युनिष्ट’हरुले लागू गरेको वृद्धभत्ता थाप्न जाँदैनन् होला । ८२ वर्षका कुलबहादुर गुरुङ यसअघि नै योग्य भइसकेका छन् ।
सरकारको पछिल्लो निर्णय कार्यान्वयन भएमा सामाजिक सुरक्षा भत्ताको विरोध गर्ने कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत पनि वृद्ध भत्ताका लागि योग्य हुनेछन् । ६७ वर्षका महत पनि आफैँले विरोध गर्दै आएको वृद्धभत्ता लिन जाँदैनन् होला । कांग्रेस सरकारले तोकेको मापदण्डअनुसार डा. शेखर कोइराला ६७ र ७० वर्षका प्रदीप गिरी पनि पेन्सन पाउन योग्य हुनेछन् । २००४ सालमा जन्मेका उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ, ६७ वर्ष पुगेका आनन्द ढुंगाना ६८ वर्षका चीनकाजी श्रेष्ठ ७० वर्षका ध्यानगोविन्द रञ्जितले पनि वृद्धभत्ता पाउने छन् ।
६८ वर्ष पुगेका कृष्ण सिटौला र अर्जुननरसिंह केसी पनि ६५ वर्षे वृद्ध भत्ताका लागि योग्य भएका छन् । नेकपा एमाले नेतृत्वको सरकारले २०५१ सालमा ७५ वर्ष पुगेका वृद्धवृद्धालाई १ सय रुपैयाँ वृद्धभत्ता दिने निर्णय गरेको थियो । केपी ओली नेतृत्वको सरकारले २०७३ सालको बजेटमार्फत वृद्धभत्ता बढाएर २ हजार पुर्याएको थियो ।
सरकारको निर्णय कार्यान्वयन भएमा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले अर्को वर्षदेखि, सुजाता कोइराला, बलबहादुर केसी लगायतका नेताले दुई वर्षपछि वृद्धभत्ता पाउने छन् । संसद सचिवालयमा उनीहरुले पेश गरेको विवरण अनुसार गच्छदार ६४ र सुजाता ६३ वर्षका भए ।बलबहादुर केसीले अर्को वर्षदेखि पेन्सन पाउने छन् । कांग्रेसमा आफूहरुलाई ‘युवा’ दाबी गर्ने अधिकाशं नेताहरु ५० वर्ष भन्दा माथि लागेका छन् । लोकान्तर
यी हुन् वृद्धभत्ता पाउन योग्य कांग्रेस नेता
Previous Articleजबर्जस्ती करणी मुद्दामा कर्णेल शाह जेल चलान
Next Article प्रदेश ४ को प्रदेशसभा पहिलो बैठक माघ २२ गते