जैमिनी नगरमा रहेका सबै वडाहरु साविकका गाविसलाई सिंगै वडाको रुपमा कायम गरिएको छ । तर जैमिनी कै वडा नं. २ र ३ भने साविकको देमक गाविसलाई दुई भागमा बिभाजन गरेर बनाईएका वडा हुन् । साविकको गाविसलाई दुई वडामा बिभाजन गर्दा तल्लो दमेक अर्थात् वडा नं २ ले साविकको गाविसका सबै भौतिक संरचना प्रयोग ग¥यो भने वडा नं ३ लाई सबै संरचना निर्माण गर्नुपर्ने दायित्व आई लाग्यो । गत बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेससँग मिलेर नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा बेदबहादुर छन्त्याल निर्वाचित भए । ३३ बर्ष लामो शिक्षण पेसा छोडेर छन्त्याल वडाध्यक्षमा निर्वाचित भएका थिए । माओवादी र राजमोका उम्मेदवार कृष्ण भुजेललाई दुई सय असी मतान्तरले जितेर वडाध्यक्षमा निर्वाचित भएका छन्याललाई अहिले वडाको विकासका लागि भ्याईनभ्याई भएको छ । छन्त्यालसँग तारानाथ आचार्यले गरेको छोटो कुराकानी ।
वडाध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुदो रहेछ ?
–नयाँ संरचनाअनुसार नगरपालिका भित्रका धेरै साविकका गाविसलाई वडाको रुपमा विकास गरियो तर हाम्रोमा त्यो भएन् । बिलकुल नयाँ वडा भएकाले हामीसँग कार्यालय सञ्चालन गर्ने सानो कोठा समेत छैन् । यसले गर्दा वडाका सबै संरचनाहरु शुन्यबाट सुरु गर्नुपर्ने अवस्था छ । एकातर्फ संरचना नभएको ठाउँमा संरचनाको निर्माण गर्ने काम र अर्कोतर्फ जनचाहना अलग छ । जनताका अपेक्षा धेरै छन् । द्रुत विकास जनताले चाहेका छन् । हामी अभावमा छौं । स्रोत साधन छैन् । सानो स्रोतलाई परिचालन गर्दै जनताका काम र संरचना निर्माणको काम गर्दा अलि असहज नै महसुस भएको छ । तर हामीले जनताका काम गर्न अहोरात्र खटेका छौं । उहाँहरुको मन मर्न दिँदैनौं ।
वडाअध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–वडाअध्यक्ष भएलगत्तै हामीले बटोलाई प्राथमीकतामा राखेर काम थालेका हौं । वडाका सबै बस्तीहरुमा बाटोको ट्रयाकसम्म पुग्न नसकेको अबस्था छ । यो अवस्थालाई मध्यनजर गरेर काम थालेका छौं । पहिलो चरणमा हामीले कालापातल गाजाको दहसम्मको बाटो स्तरोन्नतीको काम गरेका छौं । वडा भित्रका ६ वटा बिद्यालयमा घेरा बार बनाउने काम गरेका छौं । खानेपानीको निकै असुबिधा रहेको हाम्रो वडामा केही साना खानेपानीका योजनाहरु निर्माण हामीले गरेका छौं । स्वास्थय चौकीसम्म नभएको वडामा स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँच सहज तरिकाले पुग्ने खालका कार्यक्रम हामीले सञ्चालन गरेका छौं ।
वडा कार्यालय नियमीत नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
–हाम्रोमा त्यो समस्या छैन् । बरु समस्या के हो भने साविकको दमेक गाविस हाल दुईवटा वडामा बिभाजित भएको छ । तर सचिव भने एकजना मात्रै खटाईएको छ । यसकारण एकै ठाउँमा सचिव नभेटिनु स्वभाविक हो । तर मैले जनताका काम गर्न नियमित कार्यालय खोल्ने र नियमित काम दिने गरेको छु । बिद्यालयको एउटा कोठा मागेर बनाईएको कार्यालयमा सबै काम गर्न सम्भव छैन् । कतिपय काम त मैले झोलामा लेटरप्याड र छाप राखेर चौतारीमा बसेर पनि गरेका छौं । सचिव ज्युले पनि सोही अनुसार काम गर्नु भएको छ । सेवा दिने कुरामा कुनै कसर बाँकी राखेका छैनैं ।
हजुरको क्षेत्रको विकासका लागि नगररिषदबाट के के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के–के गर्नु भयो त ?
–मैल वडाको विकासको लागि धेरै योजनाहरु नगरबाट माग गरेको छु । यो बर्ष नगरपालिकाबाट बाटोको लागि मात्रै ४५ लाख बजेट वडामा आएको छ । पहिलो काम भनेको बाटोले नछोएका बस्तीहरुमा बाटो पु¥याउने हो । सोहीअनुसार योजना माग भएर गएका छन् । अनि बाटोको स्तरोन्नती गर्ने हो । मलिाहरुको आर्थिक र सामाजिक विकासका लागि भवन निर्माण, कृषि भण्डार निर्माण, आन्तरिक पर्यटनको विकासका लागि गाजाको धुरीमा मन्दिर निर्माण, सेरादेखी गाजाको दह सडक, देउरालीखानी, कालापातल सडक, लगायतका सडकको निर्माण तथा स्तरोन्नतीका लागि योजना माग गरेर पठाएका छौं । शिक्षा, स्वास्थय, कृषि र पशुपालन लगायतका क्षेत्रमा क्षमता विकास गर्दै स्वरोजगार उत्पादन गर्ने योजना अनुरुपका कार्यक्रम बनाई नगरसँग योजना माग गरिएको छ ।
तपाईको वडाकासडक कच्ची छन, कहिलेसम्म पक्की बनाउनु हुन्छ ?
–ठुलो महत्वकांक्षा नराखौं । म वडाअध्यक्ष हुनुभन्दा पहिलेदेखी नै मैले पहल गर्दै आएको बागलुङ बजारदेखी गाजाको दहहुँदै बरेङसम्मको बाटो कालोपत्रे गर्नको लागि नापीको काम सकिएको छ । निकै ठुलो योजना भएकाले यो योजनाको सम्बोधन मन्त्रिपरिषदको बैठकबाट नै हुनुपर्छ , अब छिट्टै नयाँ सरकार बन्ला र मन्त्रिपरिषदको बैठकले यो बाटोको योजनालाई सम्बोधन गर्ला भन्ने लागेको छ । यो बाटो ५ बर्ष भित्रमा पक्की हुन्छ । अरु बाटाहरुको नाली काट्ने र सामान्य ग्राभेल गरेर बाह्रै महिना सवारी चल्ने वातावरण मिलाउँछौं ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–हाम्रो वडामा सबै सामुदायिक बिद्युतीकरण छ । समुदायको लगानीमा बिद्युतीकरण भएकाले सबै काठका पोलहरु छन् । काठका पोलहरु फेरीने छन् । वडालाई नमुनाको रुपमा विकास गर्छौं । नमुना वडा बनाउनका लागि आवस्यक सबै पुर्वाधारको निर्माणका लागि लाग्छौं । आलुको पकेट क्षेत्र बनाउने लक्ष्य छ । उपल्लो दमेक आलुको उतपादनका हिसाबले निकै सम्भावना बोकेको क्षेत्र हो । व्यवसायिक आनलु खेती गरेर आलुको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना हाम्रो छ । शिक्षा, स्वास्थ्य, बाटो, पर्यटन, कृषि र पशुपालन लगायतका क्षेत्रमा व्यापक ब्यवसायीकरण गर्दै रोजगारीको सिर्जना गर्ने लक्ष्य छ ।
अन्त्यमा यस पत्रिकामार्फत केही भन्नु छ कि ?
–यो अवसरका लागि पहिले त हजुरलाई धन्यवाद । हाम्रा क्रियाकलापको बारेमा हजुरको अनलाईनमार्फत राज्य र सर्वसाधारणको बिचमा पु¥याउन हजुरहरुले खेलेको भुमिका निकै राम्रो छ । रचनात्मक सहयोगको सधै अपेक्षा गर्दछौं । धन्यवाद ।