मुस्ताङ, १० माघ– हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने पर्यटकको संख्या चौतिस प्रतिशतले बढेको छ । २०१६ को तुलनामा ३४.४९ प्रतिशतले पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित ईलाका कार्यालयले जनाएको छ । सन २०१७ मा ५२ हजार ४७५ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका कार्यालयका सुरेश थापाले जानकारी दिए ।
जसमध्ये उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकको संख्या चार हजार ११५ जना रहेको छ । सन २०१६ मा ३९ हजार १७ र २०१५ मा २५ हजार २७२ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । देशको शान्ति सुरक्षा राम्रो भएको, राजनीतिक स्थिरता, यातायातको सहज पहुँच र पचारप्रसारका कारण मुस्ताङ भ्रमणमा आउने आन्तरीक र बाह्य पर्यटक बर्षेनी बढ्दै गएको कार्यालयका प्रमुख तुलसी दाहालले बताए । भारत, चिन, अमेरीका, बेलायत, फ्रान्स, नेडरल्याड, दक्षिण कोरीया, क्यानडा, न्युजील्याड, ईजरायल लगायत देशका पर्यटक मुस्ताङ भ्रमणमा आएका छन् । अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत पर्ने मुस्ताङमा प्राकृतिक सुन्दरता, पृथक भुवनोट, हिमाली जिवन शैली, मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, माटोको सहरका रुपमा परिचित लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, मुक्तिनाथ, थोराङ्ला झञ्ज्याङ, मार्फा, ठिनी, कागबेनी लगायत थुप्रै पर्यटकीय स्थल रहेका छन् ।
मरुभुमि जस्तै भुगोलको पृष्ठभुमिमा देखिने हिमाल, साहासीक पदयात्रा, थकाली, गुरुङ, लोवा (बिष्ट) जातीको जिवनशैली, गुम्बा र गुफाहरु मुस्ताङको पर्यटकीय आकर्षण हो । पर्यटकको आवागमन बढेसँगै मुस्ताङका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । एक्यापले मुस्ताङ भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीबाट तथ्याङ्क सङ्कलन गर्दै आएको छ । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङ जिल्लालाई समेटीएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरीकले प्रतिव्यक्ति दुई सय र अन्य मुलुककाले प्रतिव्यक्ति दुई हजार रुपैयाका दरले सरकारलाई शूल्क तिर्नुपर्छ । अर्ध निषेधित क्षेत्रको रुपमा रहेको उपल्लो मुस्ताङ भ्रमणका लागि बिदेशी नागरिकले अध्यागमन बिभागबाट अनुमती लिनुपर्छ ।
Previous Articleएमालेले टुंग्यायो प्रदेश १ देखि ४ का उम्मेदवार
Next Article विवादले खानेपानी आयोजना प्रभावित