बागलुङ, ९ माघ– समाजशाष्त्र र मानवशाष्त्रका अनुसन्धनात्मक लेखहरुको संगालेको रुपमा धौलागिरी जर्नलको एघारौं संस्करण प्रकाशित भएको छ । धौलागिरी बहुमुखी क्याम्पसको समाजशाष्त्र मानवशाष्त्र विभागले जर्नल प्रकाशित गरेको हो ।
क्याम्पसको ५५ औं वार्षिकोत्सवको अवसर पारेर सोमबार पुस्तक बिमोचन गरियो । इन्टरनेटबाटै खोजेर पढ्न सकिने, संसारभरका कुनैपनि लेखकको लेखमा हुवहु नमिल्ने तथा अनुसन्धानमा आधारित बनाएर पुस्तक प्रकाशित गरिएको प्रधानसम्पादक मानबहादुर खत्रीले बताए । ‘अनुसन्धानका विद्यार्थीलाई उपयोगी बन्ने उद्धेश्यले हरेक बर्ष पुस्तक प्रकाशित गर्दै आएका छौं’ खत्रीले भने, ‘समाजशाष्त्र मानवशाष्त्रका विद्यार्थीलाई भने यो विशेष महत्वको छ ।’ धौलागिरी बहुमुखी क्याम्पसले विगत १५ बर्षदेखि समाजशाष्त्र मानवशाष्त्रको स्नातकोत्तर तहमा पढाई संचालन गर्दै आएको छ ।
पढाई संचालन भएको केही बर्षमै जर्नल प्रकाशित गर्न लागेको थियो । विश्वका चर्चित विश्व विद्यालयका प्राध्यापकहरुको सल्लाह र सहयोगमा प्रकाशित जर्नलमा प्रकाश दर्नाल, ऋषिकेश पाण्डे, केशवकुमार आचार्य, गिरीप्रसाद पन्थी, युवराज लुईटेल, ज्ञानु क्षेत्री, गौरव केसी, प्रणव खरेल, दिपेश कुमार केसी, मधुसुदन सुवेदी लगायतको लेख समावेश गरिएको हो ।