बागलुङ, ४ माघ– कतिपय वडालाई सडकले नछोएको समयमा नगरपालिकाको घोषणा भएको जैमिनी नगरपालिकाले सबै गाउँ, टोल र विद्यालयमा सडक लैजाने पहिलो प्राथमिकता बनाएको छ । सडक संजालको बिकास भएमा अरु काम सजिलै गर्न सकिन्छ भन्ने मान्यता बनाएको नगरप्रमुख ईन्द्रराज पौडेलले बताए । सदरमुकामदेखि कुश्मीसेरा जोड्ने सडकलाई कालोपत्रे बनाउने काम सडक डिभिजनबाट हुने भएकोले वडा तहमा सडक पु¥याउने काममा बढी बजेट बिनियोजन गरेर काम गरेको उनको भनाई छ ।
हिउँदमा खनेका सडकले बर्षातमा बाढी पहिरो ल्याउने खतरा नहोस् भनेर मापदण्ड बनाएर सडक निर्माण गर्ने र सँगसँगै नाली बनाउने योजना नगरले अगाडि सारेको हो । अहिले सम्म सडकले नछोएको छिस्तीलाई कृषि सडकले चालु बर्ष जोडिएको छ । साथै छिस्तीका दुइवटा माध्यामिक विद्यालयमा पनि सडक संजाल जोडिने उनको भनाई छ । सबै विद्यालयमा सडक जोड्न सकेमा बालबालिकाहरु सजिलै पढ्न जान सक्छन् भनेर यो सोचाई ल्याएको उनले बताए । ‘पहिलो चरणमा मावि, दोश्रोमा निमावि र तेस्रोमा प्राथमिक विद्यालयमा सडक पु¥याउने योजना छ’ उनले भने, ‘सडकनै बिकासको मेरुदण्ड हो ।’ निर्वाचनका बेला महत्वकांक्षी योजना अगाडि नसारेका पौडेलले काम गरेर देखाउने बताए । बजारमा सडक साँघुरो भएकोले चक्ल्याउने काम भैरहेको छ ।
५० लाख रुपैयाँको बजेटले काम भैरहेको छ । त्यस्तै कुश्मीसेरा देखि छिस्ती जोड्ने कृषि सडकका लागि २५ लाख र व्याडथलादेखि छिस्ती जोड्ने सडकमा ५० लाख रुपैयाँ बजेट बिनियोजन गरिएको हो । ‘बर्षातको पानी व्यवस्थापन गरेमात्र सडक दिगो बन्ने भएकाले नाली निर्माण सँगसँगै लगेका छौं’ प्रशासकीय अधिकृत बिष्णुप्रसाद सुवेदीले भने, ‘सडकलाई निर्माणकै क्रममा मापदण्डमा लैजान शुरु गरियो ।’ ग्रामीण तहका अधिकांस सडक ८ देखि १० मीटरको बनाएर नाली निकाल्ने काम थालिएको उनले बताए । बजार भित्रका सडक पनि साँघुरो भएकोले कम्तिमा ८ मीटर बनाउनुपर्ने उनले बताए ।
कुश्मीसेरा देखि जैमिनीघाट जोड्ने सडकको स्तरउन्नती गरेर कालीगण्डकी कोरिडोरमा जोड्ने योजना पनि छ । ट्रयाक खुलेको यो सडकको स्तरउन्नतीका लागि नगरपालिकाले बजेटको व्यवस्था गरेको हो । यसअघि सडक संजालको समस्याका कारण स्थानीय व्यवसायीले हिउँदमै खाद्यान्नको जोहो गरेर राख्न बाध्य थिए । बर्षातमा ढुवानी गर्न नसकिने भएकोले हिउँदमै जोहो गर्न बाध्य भएको स्थानीय व्यपारीको भनाई छ । ‘सबै घुम्ती फराकिलो बनाउने, नाली बनाउने र बर्षातमा पनि नियमित चल्ने सडक नभए सबैले सास्ती खेप्नुपर्छ भनेर खाली समयमा पनि कार्यालयमै बसेर काम गरेको छु’ सुवेदीले भने, ‘नगरलाई सकारात्मक गतिमा हिडाउन पहल गरेका छौं ।’ कामलाई प्राथमिकता दिने जनप्रतिनिधिहरु निर्वाचित भएकोले हरेक योजनाको सफलतामा सहयोग मिलेको पनि उनले बताए । नगरभित्रको सरसफाई, बजार तथा सडक व्यवस्थापनका लागि टोल सुधार समिति बनाईएको छ ।
त्यस्तै पुरानो बजारदेखि दमेक, पैयुँथन्थाप र राङखानी पुग्न टिमुरखोलामा र सर्कुवा, बिनामारे हुँदै दक्षिण पुग्न ठेउलेमा पक्की पुल बनिसकेका छन् । नगरभित्र फोहोर व्यवस्थापन र स्थायी प्रकृतिको कार्यालय भवन बनाउने काम भने चुनौती भएको पौडेलको भनाई छ । आफ्नै भवन भएमा भाडा जोगिने, काममा सहजता आउने उनले बताए । ‘नगरपालिकाले जग्गाको खोजी गरिरहेको छ, समयमै जग्गा उपलब्ध गराउन सकियो भने सरकारी अनुदानमा भवन निर्माण गर्न सकिन्छ’ पौडेलले भने, ‘स्थानीयको साथ र सहयोग हामीले खोजेका छौं ।’ खेलकुँद, खानेपानी, सरसफाई, शिक्षा र स्वास्थ्यका मुद्दामा सम्बोधन गरेर आन्तरिक व्यवथापन पनि मिलाउने कामले नगर कार्यपालिकाका सदस्यलाई फुर्सद नभएको उनले बताए ।
Previous Articleधौलागिरीमा आजदेखि लाईसेन्स वितरण शुरु हुँदै
Next Article ४ माघ २०७४, ढोरपाटन दैनिक