प्रदेशका प्रमुख आफन्त र नवप्रबेशी
बागलुङ, ३ माघ-सरकारले सातवटै प्रदेशको अस्थायी मुकाम तोकेको छ । बुधबार दिउँसो बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठकले प्रदेशहरुको अस्थायी मुकाम र प्रदेश प्रमुख तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए। जस अनुसार प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकिएको छ । प्रदेशको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान ९ बजे बोलाइएको मन्त्रिपरिषद बैठक दिउँसो ३ बजेका लागि सरेको थियो । उद्योग मन्त्री सुनिलबहादुर थापाले प्रदेश १ को अस्थायी मुकाम धनकुटा बनाउन माग गरेका थिए । प्रदेश ३ को ललितपुर र हेटौंडामध्ये कहाँ बनाउने भन्ने विवाद थियो । प्रदेश ५ को दाङ र रुपन्देही, प्रदेश ७ मा कैलाली र दिपायलमध्ये कहाँ बनाउने भन्ने विवाद थियो । दाङमा प्रदेश अस्थायी मुकाम माग गर्दै बुधबारदेखि अनिश्चितकालीन बन्द गरिएको छ । त्यस्तै प्रदेश ७ को अस्थायी मुकाम दिपायल तोक्न माग गर्दै डोटीमा पनि आन्दोलन भएको छ ।
सयैबिच सात प्रदेशले बुधबार प्रदेश प्रमुख पाएका छन् । यससँगै प्रदेशसभा गठनको बाटो खुलेको छ । तर, प्रदेश प्रमुखहरुको चयन जसरी भएको छ, यसमा नेपाली कांग्रेसले एकलौटी गरेको छ । एकजना चाहिँ मधेसी मोर्चालाई फकाउने रणनीतिअनुसार नेताका सम्धीलाई प्रदेश प्रमुख बनाइएको छ ।
प्रदेश प्रमुख नहुँदा निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परीणाम सार्वजनिक गर्न सकेको थिएन । अब आयोगले अन्तिम परिणाम सार्वजनिक गरेर प्रदेश प्रमुखलाई बुझाउनेछ र प्रदेशसभा सदस्यहरुको सपथको प्रक्रिया शुरु हुनेछ ।
को को भए प्रदेश प्रमुख ?
प्रदेश १ को प्रमुखमा डा. गोविन्द तुम्बाहाङ (सुब्बा) नियुक्त भएका छन् । उनी कांग्रेसका कार्यकर्ता हुन् । तर, बहुदल नआउञ्जेलसम्म उनी तत्कालीन नेकपा मालेसमर्थित अनेरास्ववियूका कार्यकर्ता थिए । बहुदल आइसकेपछि कांग्रेसमा प्रवेश गरेका हुन् ।
०४९ सालको स्थानीय चुनावमा धरानको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेका उनी २२५ भोटले हारेका थिए । चुनाव हारेपछि प्राध्यापन पेशामै फर्किएका डा. सुब्बा सिनासका प्रोफेसर हुन् ।
प्रदेश २ को प्रमुख बनेका रत्नेश्वर लाल कायस्थ पूर्वप्रशासकका साथै संघीय फोरमका सचिव पनि हुन् । सुरुमा उनलाई प्रदेश ५ को प्रमुख नियुक्त गर्न लागिएको थियो तर, फोरमको दबावमा २ मा आएका छन् ।
प्रदेश ३ को प्रमुख बनेकी अनुराधा कोइराला माइती नेपालकी संस्थापक हुन् । सन् २०१० मा सीएनएन हिरो समेत भएकी उनले भारत सरकारबाट पद्मश्री सम्मानसमेत पाएकी छिन् । कोइराला चुनावको पूर्वसन्ध्यामा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा कांग्रेस प्रवेश गरेकी थिइन् ।
प्रदेश ४ को प्रमुख बनेका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता हुन् । कांग्रेस निकट कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिल लयर्स एशोसिएसनका पूर्वअध्यक्षसमेत रहेका कुँवर सुशील कोइराला सरकारको पालामा सरकारको कानूनी सल्लाहकार महान्यायाधिवक्ता बनेका थिए ।
प्रदेश ५ का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्वसचिव एवं खिलराज रेग्मी सरकारका मन्त्री पनि हुन् । उनी राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरका सम्धी हुन् । ठाकुरकै पहलमा रेग्मी सरकारमा मन्त्री बनेका झालाई अहिले प्रदेश ५ को प्रमुख बनाइएको छ । प्रदेश ६ को प्रमुख नियुक्त भएका सुर्खेतका दुर्गाकेशर खनाल कांग्रेसका पुराना नेता हुन् भने मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुन् । मल्ल केही समयअघि मात्र कांग्रेसमा प्रवेश गरेका थिए । र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।