एमालेलाई २९ सिट, माओवादीलाई १४ सिट
बागलुङ, ३ माघ – नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँट गरेको छ । सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा बुधबार दिउँसो भएको बैठकपछि दुई दलले राष्ट्रिय सभाको सिट बाँडफाँटको टुंगो गरेका हुन् ।
नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङका अनुसार वाम गठबन्धनले ४३ सिटमा उम्मेदवारी दिने सहमति भएको हो । ‘हामीले ४३ सिटमा उम्मेदवारी दिने गरी सिट बाँडफाँट गरेका छौँ’, नेता नेम्वाङले भने, ‘७० र ३० को अनुपातमा दुई दलबीच सिट बाँडफाँट भएको हो ।’
दुई दलको संयुक्त कार्यदलले ४३ सिटमा वाम गठबन्धनको जित पक्का भएको भन्दै भागवण्डा मिलाएको हो । बाँडफाँट अनुसार प्रदेश १ मा एमाले ५ सिट, माओवादी १ सिट, प्रदेश २ मा एमाले १ सिट,माओवादी १ सिट, प्रदेश ३ मा एमाले ५ सिट, माओवादी १ सिट, प्रदेश ४ मा एमाले ४ सिट, माओवादी २ सिट, प्रदेश ५ मा एमाले ४ सिट, माओवादी २ सिट, प्रदेश ६ मा एमाले ५सिट, माओवादी ३ सिट, प्रदेश ७ मा एमाले ४ सिट र माओवादी २ सिट रहेको छ ।
राष्ट्रिय सभामा जम्मा ५९ सिट हुने व्यवस्था रहेको छ । बाँकी रहेका १३ सिटमा मधेसवादीसहितका दलसँग परामर्श गरेर उम्मेदवारी तय गरिने नेम्वाङले बताए । राष्ट्रिय सभामा तीन सिट भने सरकारले मनोनयन गर्न पाउने व्यवस्था छ ।
राष्ट्रिय सभामा वाम गठबन्धनको सिट बाँडफाँट
Previous Articleतोकियो प्रदेशको अस्थाई राजधानी र प्रदेश प्रमुख
Next Article फेरि बढ्यो इन्धनको मूल्य