प्रकाश थापा
काँठेखोला गाउँपालिका र गलकोट नगरपालिकाको सिरान घोडाबाँधेको धुरी हो । यही घोडाबाँधेबाट बायाँतर्फ लाग्ने हो भने हटिया हुँदै ताराखोला पुगिन्छ भने दाँयातर्फ लाग्ने हो भने ताराखोला हुँदै हटिया पुगिन्छ । घोडाबाँधेबाट कच्ची मोटरबाटो वा पैदल यात्रा गरेरै भएपनि करिव ३५ कि.मी. को यात्रा गर्ने हो भने अमरभूमि, अर्गल, तारा, हिल, हरिचौर, हटिया, दुदिलाभाटि हुँदै उही घोडाबाँधेको फन्को मार्न सकिन्छ ।
बढ्दो पौष महिनाको जाडोयाममा घुमफिर गर्नेे क्रममा पर्यटकीय ताराखोला गाउँपालिकाको सेरोफेरो घुम्ने मौका जु¥यो । बागलुङ बजारबाट मध्यपहाडी लोकमार्ग हुँदै काँठेखोला गाउँपालिकाको गणेश चोक पछि शहीद मार्गबाट अमरभूमी हुँदै ताराखोला गाउँपालिका घुमफिर गरियो । पौष महिनाको मध्य कठाङ्ग्रिने जाडोको समयमा घुमफिर गर्न प्रकृतिले समेत चुनौती दिइरहेका बेला साथीहरुको उत्साहले ताराखोलाको यात्रा रमाइलो बनाइरहेको थियो । अमरभूमीको शहीद मार्गबाट प्रवेश गरिसकेपछि सुन्दर वनजंगलमा मोटरको घुरघुर आवाज र मोटरभित्रको दोहोरी गीतले यात्रालाई सुगन्ध दिइरहेको थियो । यात्रा अगाडि बढ्ने क्रममा अमरभूमीको भुस्कातमा दिउँसो १ बजेको समयमा नै मोटर अगाडि हुँदै लुरुलुरु बाटो काट्दै हिँडेको चितुवाको दर्शनले मनमा झन् उत्साह अनि भय थपेको थियो । पूर्वमा ताप्लेजुङदेखि पश्चिममा कञ्चनपुर सम्मका जिल्ला घुम्ने मौका मिलेको यो पंक्तिकारलाई चिडियाघर बाहेक प्राकृतिक अवस्था मै चितुवाको प्रत्यक्ष दर्शन गर्ने सुअवसर जुरेको थिएन । २०७४ साल पौष १९ गते दिउँसो १ बजेको समयमा यो लोपान्मुख वन्यजन्तुलाई प्रकृतिमा नै रमाइरहेको देख्नु खुशीको क्षण थियो । तर अपसोच आफूले देखेको वन्यजन्तुलाई बागलुङ बजारमा बसेका साथीभाईलाई देखाउने गरी तस्विर लिन नसक्नाले यात्रा भर थकथक भइरह्यो । चितुवा अनि अमरभूमि गाउँको दृश्यावलोकनसँगै अर्गल गाउँमा पुगियो । अर्गलको भातखाने डाँडामा ताराखोला गाउँपालिकाको केन्द्र रहेछ । स्थानीय प्रविधिमा चिटिक्कै परेको गाउँपालिकाको भवनमा छिरी गाउँपालिका प्रमुख प्रकाश घर्ती मगरसँग भलाकुसारी गर्दा उनका भावी विकासका योजनाहरु सुन्दा अवश्य यो गाउँपालिका सके नेपाल कै नभए बागलुङ जिल्लाको नमुना गाउँपालिका बन्छ कि भन्ने आभास भयो ।
गाउँपालिका भवनमा प्रमुखसँग एकछिनको बसाइपछि अर्गलको मगर बस्ती दृश्यावलोकन गरियो । भातखाने डाँडाबाट पारितिरको हिलको गाउँ र घुम्टेको धुरी अत्यन्तै सुन्दर देखिन्थ्यो । अझ वारी पट्टीको सिलेको दृश्य पनि केही कम थिएन । अर्गली मगर बस्तीमा आफ्नै किसिमको रहनसहन र तौरतरिका थियो । स्थानीय वृद्घहरुसँग गफिँदा अर्गलमा अर्गली मगरको कार्तिक महिनामा हुने भुस पोल्ने मेला आफैमा मौलिक परम्परा रहेछ भन्ने बुझियो । अर्गली मगरहरु पाल्पा जिल्लाको अर्गली भन्ने ठाउँबाट अहिलेको अर्गलमा आएर खोरिया फाँडी खेतिपाती तथा बसोबास गरेको सम्झनामा हरेक वर्ष कार्तिक महिनाको २४ गते भुस पोल्ने मेला लाग्ने गरेको ती बुढापाकाहरुबाट सुन्न पाईयो ।
बुढापाकाको कुरा सुनेपछि घुमफिर गर्ने क्रममा मौला खड्गकोट मन्दिर हेरियो । मन्दिर हेरेपछि धुलाम्मे मोटरबाटो हुँदै तारा गाउँको करिमेलातर्फ लागियो । तारा गाउँको आँगमनसँगै चिसोले पनि नेटो काटेकोे थियो । कलकल बग्ने खोलाको सुसेलीसँगै बाटोका छेउछाउँमा रहेका बंैसका रुखहरुले हाम्रो आगमनलाई चिसो बताससँगै हल्लिएर स्वागत गरिरहेका थिए । करिमेला पुग्दा नै रात परिसकेको थियो । कोही साथीले यतै बसौं त कोही साथीहरु सिप भन्ने ठाउँसम्म पुगेर बसौं भन्ने दुविधामा भए पनि अन्ततः सिप नै पुगेर बस्ने निधो गरियो । मोटरका गुरुले गलकोटे लोक गायक बसन्त थापा र खिमा रोका मगरले गाएको “आलु मिठो ताराखोलाको…हासम बोलम गरम रामाइलो के भर छर, मर्ने चोलाको..” भन्ने पञ्चे बाजाको गीत बजाउँदा हाम्रो यात्रा पनि आलु झै स्वादिलो बनेको थियो । सिपका एक स्थानीयको घरमा पुस १९ गतेको रात काट्ने निधो भयो । लगलग कपाउने चिसोलाई छेल्न बेलुकीको खानामा लोकल कुखुरा, कोदोको ढिंडो, भाँगोको अचार, आलु र सुकेका च्याउको तरकारी बन्यो । आलुका लागि तारा गाउँ प्रख्यात रहेको कुरा बाटोमा सुनेको आलु मिठो ताराखोलाको भन्ने गीतले नै प्रष्ट पारेको थियो । अझ झन् भाँगो र विविध किसिमका च्याउहरु तारा गाउँका स्पेशल परिकार रहेछन् । बेलुकीपखको खाना खाएपछि दस वर्षे जनयुद्ध ताकाको कथा र व्यथा एक युवाले सुनाए । २०६० साल चैत्र ७ को बेनी आक्रमणमा माओवादीका तर्फबाट धेरै गाउँलेहरु सहभागी भएका रहेछन् । सो आक्रमणका तितामिठा अनुभवहरु ती युवाले सुनाए । ताराखोला गाउँपालिका जनयुद्धले पूर्ण रुपमा प्रभावित भएको रहेछ । यहाँ जनयुद्धका क्रममा धेरै जना शहीद र अंगभंग पनि भएका रहेछन् । उति बेला माओवादीका केन्द्रीय तहका नेताहरु समेत सिपमा सैनिक अभ्यासको क्रममा आउने गरेका रहेछन् । कहाली लाग्दो युद्धको कुरासँगै ती युवाले ताराखोलामा मनोरम प्रकृतिका कारण जन्मिएका अवसरहरु पनि सुनाए । बढ्दो जाडोमा मिठो खाना र तातो कुरापछि सो दिनको रात काटियो ।
बिहानको चिसो मौषमले गर्दा आठ नबजी उठ्न नै सकिएन । आठ बजे उठेपछि तारा गाउँको स्वच्छ लोकल दुध खाएर घुमफिर गर्न लागियो । सिपबाट फेरि करिमेला झर्दा लोक्ताबाट हाते कागज उत्पादन गर्दै गरेको दृश्य देखियो । हाते कागजको उत्पादनले तारा गाउँको मौलिकता झल्काइरहेको थियो । अलिपर पुगेपछि अल्लो अर्थात् चाल्ने सिस्नोको पुवाबाट कपडा बुनेको देख्न पाइयो । तारा आफैमा अर्गानिक कृषि उत्पादनको गाउँ समेत रहेछ । बारीभर अर्गानिक रुपमा खेतिपाती गरिएको थियो । यसैगरी तारा गाउँका अग्लाअग्ला भीरहरु भीर मौरीका वासस्थान रहेछन् । हरेक वर्ष जेठको महिनामा यहाँका गाउँलेहरुले भीर मौरीको मह कढ्दा रहेछन् ।
करिमेलाबाट उकालो लागेर नाङ्गी भन्ने ठाउँमा पुगियो । नाङ्गीबाट हेर्दा तारा गाउँ छरपष्ट रहेको देखिन्थ्यो । एघार बजेतिर ढिलो गरी खाना खाएर एकछिन मनोरम प्रकृतिको काँखमा बस्दा मनै फुरुङ्ग थियो । नाङ्गीका स्थानीय धनप्रसाद बुढाको कुरा सुन्दा तारा गाउँ जडिबुटीमा पनि धनी रहेछ । यहाँ क्यान्सरको अचुक औषधी मानिने लौठसल्लादेखि लिएर सयौं जडिबुटीहरु पाइने रहेछन् । हुन त ताराखोला गाउँपालिका बागलुङ जिल्लामा क्षेत्रफलको अनुपातमा धेरै वन क्षेत्र हुने स्थानीय तह पनि हो । यस गाउँपालिकाको १२९.६ वर्ग कि.मी. क्षेत्रपलमध्ये १०१.६ वर्ग कि.मी. क्षेत्रफल अर्थात् ७८.५ प्रतिशत क्षेत्र वन जंगलले ढाकेको छ । उता कला र सँस्कृतिमा पनि समग्र ताराखोला गाउँपालिका भरिपूर्ण रहेछ । असारे मेला, भदौरे मेला, सिस्नो खोस्ने मेला मौलिक पर्वहरु पनि यहाँका मौलिक सँस्कृति रहेछन् ।
दिउँसोको अर्नी (खाजा) का रुपमा तिते फापरको स्वादिष्ट रोटी र भाँगोको चट्नी खाँदा गाउँले परिवेशले झनै मोहित पा¥यो । दिउँसोको अर्नी खाएपछि करिमेलाबाट तल झरेर मोटरमा गीत सुन्दै हिलको घुस्मेली झरियो । हिलमा बनेको २.५ मेगावाटकोे दरमखोला ‘ए’ जलविद्युत आयोजना हेर्दा कलकल बग्ने खोलाहरु अबका दिनहरुमा सदुपयोग हुन्छन् कि भन्ने आशा जाग्यो । घुस्मेलीदेखि पर पुगेपछि दरमखोलाको छेउमै रहेको गाईघाट झरना अवलोकन गरियो । झरनाको अवलोकनपछि बाटोमा पर्ने पुरानो गलकोटे राजाको दरबार अवलोकन गर्दै गलकोटे लोक गायक विष्णु खत्रीको “गलकोटमा बग्यो दरम…सँगै जीवन बिताउने बेलामा छुट्टिने रैछ करिम..” बोलको गीत संगितको तालमा हटिया बजारहुँदै घोडाबाँधे आई बागलुङ बजार फर्कियो ।
बागलुङ बजार आए पनि ताराखोलाका रसिला यादहरु मानसपटलमा अझै ताजै छन् । प्रकृतिले साथ दिएको ताराखोलामा होम–स्टे (घरबास) र जनयुद्धको कथा व्यथा समेटिने गरी युद्ध पर्यटनलाई पनि साथ–साथमा जोडिदिए सुनमा सुगन्ध हुने थियो । ताराखोले अर्गानिक खाना खान र जडिबुटी, जंगल, वन्यजन्तु लगायत पहाडी भूदृश्यको अवलोकन गर्न तपाईहरु पनि एक पटक लगाउने हो कि ताराखोलाको पर्यटकीय फन्को ।
Previous Article३ माघ २०७४, ढोरपाटन दैनिक
Next Article तोकियो प्रदेशको अस्थाई राजधानी र प्रदेश प्रमुख