बागलुङ, ३ माघ– बागलुङ नगरपालिकाको दोस्रो नगरसभा मंगलबार विभिन्न तीन बिधेयक पारित गर्दै सम्पन्न भएको छ । नगरसभामा सभाका सचिव नारायणप्रसाद सापकोटाले टेबुल गरेका बिधेयक सर्बसम्मतीले पारित गर्दै सभा सम्पन्न भएको हो । नगरसभामा प्रस्तुत गरेको आर्थिक कार्यबिधि, सहकारी ऐन र कृषि ब्यबसाय प्रबद्र्धन ऐन सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
नगरसभाबाट पारित भएका कार्यबिधिहरु जारी भएको १५ दिनभित्र नगर प्रमुखले हस्ताक्षर गरेपछि कानुनको रुपमा लागु हुने सापकोटाले जानकारी दिए । नगरपालिकाले ऐन बनाएपछि सार्वजनिक खरिद ऐनमा रहेको अष्पष्टता हटेको र आर्थिक क्रियाकलाप तथा नगर कार्यपालिकाबाट हुने खर्चका कामहरुमा समेत सहजता आउने नगरपालिकाले जनाएको छ । त्यस्तै सहकारी ऐनले सहकारीको प्रबद्र्धन र नियमनमा काम गर्ने छभने कृषि प्रबर्धन ऐनले कृषकहरुलाई व्यवसायिक उत्पादनमा लगाउँदै स्वरोजगारीको वातावरण सिर्जना गर्न मद्धत गर्ने अधिकृत सापकोटाले जानकारी दिए । प्रदेश सभाको गठन र प्रदेश सभाले बनाउने ऐनहरुको बिषयमा अन्यौलता रहेकै बेला स्थानिय सरकार बागलुङ नगरपालिकाले नगरसभामार्फत कानुनको निर्माण गरेको हो । सरकारले जारी गरेका कतिपय ऐन तथा बिधेयकहरुमा अष्पष्टता रहेकाले त्यसलाई स्पष्ट पार्दै स्थानिय स्तरमा कानुन निर्माण गर्नु परेको नगरपालिकाले जनाएको छ ।
स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १०२ को उप दफा १ ले स्थानिय सरकारले आफ्नो कार्य सञ्चालनका लागि कानुन बनाउन सक्ने गरी ब्यबस्था गरेबमोजिम बिधेयकमार्फत कानुन निर्माणको कामलाई अगाडी बढाईएको नगरपालिकाले जनाएको छ । नगर प्रमुख जनकाराज पौडेलको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाको सञ्चालनमा सम्पन्न समापन समारोहमा नगर उप–प्रमुख सुरेन्द्र खड्काले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । नगरसभा सभा सकिए लगत्तै प्रमुख तथा उप–प्रमुख र कर्मचारीहरुको टोलीले मंगलबार नै जारी बिधेयकहरुको बिषयमा जिल्लाका सरोकारवाला तथा कार्यालय प्रमुखहरुसँग छलफल समेत गरेको जनाएको छ । यसैबीच, बागलुङ नगरपालिकाको दोस्रो नगर सभाले आर्थिक लेनदेनलाई दुरुस्त बनाउनको लागि भन्दै लेखा समिती तथा अनुशासन समिती समेत गठन गरेको छ ।
पाँच सदस्य रहेको लेखा समीती निर्माणको लागि नगरसभाका सदस्यहरुले आवाज उठाएपछि मंगलबार केहीबेर नगर सभा अबरुद्ध भएको एक नगरसभा सदस्यले बताए । त्यस लगत्तै अध्यक्षले लेखा समीती निर्माणको माग जायज रहेको बताएपछि सभाले ५ सदस्य रहेको लेखा समिति निर्माण गरेको हो । समितिको संयोजक भने टुंगो नलागेको बताईएको छ । समितीको सदस्यहरुमा गंगा शर्मा, रामबहादुर खड्का, अर्जुन घिमिरे, सुरेन्द्र आचार्य, रहेका छन् । त्यस्तै अनुशासन उपसमितिमा संयोजक राजन केसी, सदस्यहरु सुर्य लामिछाने, सुरज बोसेल, गंगा केसी र अमृता बराईली रहेको नगरसभा सदस्य सुर्य लामिछानेले जानकारी दिए । गत पौष २५ गते सुरु भएको नगरसभा निरन्तर सात दिन चलेर मंगलबार सम्पन्न भएको हो ।