लालबहादुर ऋतम्भरा
नेपालको राजनीतिमा सर्वाधिक उच्चारण गर्ने शब्द हो; समृद्धि । घोषणा पत्र र भाषणमार्फत समृद्धिको नारालाई निर्वाचनमा हामीले अझ बढी बिक्री गरेकै हो । बिक्यो पनि । गरिबीको दुष्चक्रबाट आहत भएका जनताहरु समृद्धिको नारा वरिपरि गोलबन्द भएर भने, अब स्थायी सरकार ! अब त विकास र समृद्धि ! हामीले पनि समृद्धिलाई यति धेरै सिंगारपटार ग¥यौ कि, जनताहरु मन्त्रमुग्ध भएर हामीलाई साथ दिए । जनतालाई लागेको छ, आजको भोली नै समृद्धि आउनेछ । तत्काल जनताले देख्न र भोग्न पाउनेछन् । मानौ जादुको छडी नै छ बहुमतको सरकारमा । यसरी हामीले भन्यौ र जनताले मज्जाले सुने ।
लामो समयदेखि राजनीतिको संघर्षमा जेलिएर सधै बलिदानमा सीमित हाम्रा ऐतिहासिक गाथाहरुको गङ्गगो भारी सकिनसकी बोकेर अब त केही हुन्छ कि भन्ने आसामा हिडिरहेका व्यग्र जनताहरुको बीचमा समृद्धिको नारा थोकथोकमा बिक्री हुनु ज्यादा नौलो कुरा होइन । अभाव, संकट, द्धन्द्ध र सम्झौतामा रुमल्लिरहेको हाम्रो शीरमाथिको आकाशमा सपनाका रंगीन चंगाहरु उड्ने कल्पनाले मात्र पनि जनतालाई तरंगित गर्नु स्वाभाविक नै हो । हामीसँग एकातिर जनताका चाहना, अपेक्षा र आशाहरुको मेनु छभने अर्कोतिर दलालीकरणमा जकडिएको दरिद्र अर्थतन्त्र र राजनीतिको अस्थिपञ्जर ।
गत मंसीर १० र २१ गते दुई चरणमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको १ महिना बढी समय बितिसक्दा पनि सम्पुर्ण मत परिणाम घोषणा हुन सकेको छैन । राजनीतिकर्मीको आफ्नै सीमा र नैतिकता हुन्छ भन्ने विश्वव्यापी मान्यतालाई धुलो चटाउने र नैतिकहीनताको उपाधि भिरेर जग हँसाउने सरकारको रवैया कन्तविजोग छ । लोकतान्त्रिक पार्टी भन्ने तर जनादेशलाई अवज्ञा गरेर सत्ता लोलुपताको भद्दा मजाक शेरबहादुर देउवा बनेका छन् । यिनको राजनीतिक नियुक्तिमा, सरुवा बढुवामा, राज्यका स्रोत र साधनको दुरुपयोगमा सक्रियता देख्दा लाग्छ लाज र घिन भन्ने शब्द हराएकै हो त ? यी र यस्ता खालका विकृति, विसंगतिको भरिया बनेर कनीकुथी हिडेको नेपालको राजनीतिमा बदलाव आएको नेपाली जनताले देख्न चाहन्छन् । जनताले ठूलो आशा र भरोसा गरेर जिताएर पठाएका जनप्रतिनिधिहरु देउवा सरकारको हठले बेरोजगार छन् । बेरोजगारको अवधि अझै डेढ महिना पर सर्ने निश्चितै छ ।
नेपाली कांग्रेसको नाडी राम्रोसँग छामिसकेका जनताले वामपन्थी पार्टीलाई जान्न र बुुझ्न चाहन्छन् । पटकपटकको सत्तारोहण हेरेर, देखेर, भोगेर कांग्रेसको चालढालमा अभ्यस्त भइसकेका जनताहरुले नेपालका वामपार्टीको नेतृत्वमा बन्ने सरकारबाट अलि बढ्ता नै अपेक्षा राखेका छन् । नेपाली कांग्रेस नेपाली जनताका दैनन्दिनीसँग खेल्दै अवसर र आश्वासन बाँडेर बढ्यो, हुर्कियो । वामपार्टीहरु आदर्श र सपना बाँडेर हुर्किए, बढे । यस अर्थमा वामपार्टीप्रति जनताको आशा र अपेक्षा केही बढी भएको कुरालाई हेक्का राख्नैपर्दछ । नेपाली कांग्रेसले केही नगर्दा पनि आममाफी पाउँछ, किनकी काँग्रेसले केही गर्छ भन्ने अपेक्षा नै धेरै जनता राख्दैनन् तर नेकपा एमाले लगायतका वामपार्टीहरु सरकारमा पुगेर केही गरेनन् भने यो बढ्दा आलोचनाको, निन्दाको, विरोधको विषय बन्छ । अर्को कांग्रेस जस्तो गरि दिन गुजार्ने छुट हामीलाई छैन । यसो भए जनता के चाहन्छन् भन्दा हामीले भन्यौं समृद्धि । हो, त्यही समृद्धिको विषयमा हामीले जति भनेका छौ त्यति न जनताले बुझेका छन् न हामीले नै । समृद्धिलाई निराकारमा बुझेका हौला, तर आकारमा बुझेका छैनौं । समृद्धिलाई नारामा बुझेका हौला, कार्यक्रममा बुझेका छैनौं । समृद्धिलाई हामीले गर्दै जाँदा शनैः शनै एकदिन आउने समयका रुपमा बुझेका हौंला तर कार्ययोजनाको रुपमा बुझेका छैनौं । एउटा मिठो कल्पनाको रुपमा समृद्धि बुझिरहँदा त्यो कसरी वास्तविकतामा परिणत हुन्छ भन्ने स्पष्ट कार्यनीतिमा हामी ढालिएका छैनौ । जबसम्म हामीले समृद्धिलाई बुझ्न सक्ने र बुझाउन सक्ने गरि मुर्त रुपमा ढाल्न सक्दैनौ नि तबसम्म हाम्रो समृद्धिको यात्रा रुमानी कल्पना हुन्छ । कुहिरो भित्र काग हराएजस्तो अन्यौलताको हुस्सुभित्र हाम्रा गन्तव्यहरु हराउँछन् ।
हामीले समृद्धिको खाली पाना बाँडेका छौं, त्यसमा स्केच खिच्ने काम अब हामीले गर्नैपर्छ । समृद्धिलाई अवोधगम्य होइन, वोधगम्य बनाउनुपर्दछ । मानवीय गुणस्तरीय विकासको चरमविन्दु समृद्धि होभने हामीले भन्नुपर्दछ तत्काल समृद्धि सम्भव हुँदैन तर त्यो यात्रामा हामी अविचलित अगाडि बढ्नेछौं । तर समृद्धिलाई अमूर्त बनाउनु हुदैन । समृद्धि के हो भन्दा; पार्टी सरकारमा पुग्नु र नेता मन्त्री बन्नु । ठूलो पार्टीका सक्रिय कार्यकर्ता हुनु । कि पार्टीको भजन गाउँदै वफादार कार्यकर्ता हुनु वा दलाली गुर्न र धनी हुनु । जे जसरी हुन्छ पैसा कमाउनु । लाखौ खर्च गरेर टिकट लिनु र करोडौ खर्च गरेर जित्नु । काम नगरी हरिलठ्ठक भएर दिनभरि डुल्ने युवाले घरमा मिठो मिठो चौरासी व्यञ्जन खान पाउनु । सुको आम्दानी नभएकाले पनि हरेक साँझ टुच्च गिलास ठोक्याउनु र जिब्रो पड्काउनु । जनताले कार्यकर्तासँग माग्नु, कार्यकर्ताले पार्टी नेतासँग माग्नु । नेताले जनप्रतिनिधि वा विधायकहरुसँग माग्नु, तिनले राज्यसँग माग्नु, राज्यले दातृराष्ट्रसँग मागेर जोवन धान्नु । यस्तै–यस्तै बुझ्ने वा बुझ्न बाध्य हुने स्थितिले हामीलाई समृद्धिमा पु¥याउदैन । खासमा के हो समृद्धि हामीले भन्न सक्नुपर्दछ ।
हामीले हाम्रो समाज चिन्नुपर्दछ । हाम्रा सामथ्र्य चिन्नुपर्दछ । हामीले समाजका चालक शक्तिहरुलाई ठम्याउनुपर्दछ । परिवर्तनकारी शक्ति र वर्गलाई पहिचान गर्न सक्नुपर्दछ । हामीले हाम्रा समस्याहरु चिन्नुपर्दछ । हामीले हाम्रा विवशता र नियति चिन्नुपर्दछ, त्यसमाथि झटारो हान्नुपर्दछ । हामीले हाम्रो बाटो पहिल्याउनुपर्दछ र त्यसमा हिड्न जान्नुपर्दछ । त्यसैले हामीले भन्न सक्नुपर्दछ कि हामीले गर्ने विकास हो । भौतिक पूर्वाधारको विकास, जनशक्तिको विकास, उत्पादक शक्तिको विकास । रोजगारीको सिर्जना, वेरोजगारीको अन्त्य । कृषिको आधुनिकीकरण । उर्जामा लगानी, पर्यटनको विकासमा जोड ।
यो त धेरै नै भनियो, भनिराखेकै कुरा हो । के हो त मुलभूत समस्या भन्ने कुरालाई बुझ्नुपर्दछ । हाम्रो अविकासका स्रोतहरु के–के हुन् ? त्यसमा हामीले विकासको घन हान्नुपर्दछ । बाँझा जमीनहरु, अनुत्पादक श्रमशक्ति, दलाल पुँजी र बजार, उपभोक्तामा सीमित जनता, अर्कमण्यतामा जकडिएको कर्मचारीतन्त्र, भिजन नभएको मगन्ते राजनीतिक नेतृत्व । यी हाम्रा पछौटेपना, अविसकास, गरिबी र दरिद्रताका खास स्रोतहरु छन् यी माथि हाम्रा कार्यक्रमले हिर्काउनुपर्दछ । हाम्रा कार्ययोजनाहरु यस खालका अविकासका स्रोतहरुका अन्येष्टीका लागि हुनुपर्दछ । समस्याहरुको निदान नै नयाँ संभावनाको उद्घोष हो । यही नै समृद्धिको सुरुवात हो ।
हामीले के गर्दा राष्ट्रिय पूँजीको सिर्जना हुन्छ । कसरी पूँजीलाई उत्पादनशील बनाउने ? यसको जवाफमै समृद्धिको गोरेटो भेटिन्छ । पुँजीको साधारण पुनरुत्पादनको चरित्रलाई विस्तारित पुनरुत्पादनमा कसरी बदल्ने ? यसभित्र नै समृद्धिको भविष्य छ । हाम्रा कार्यक्रमहरु जति दलाल पूजीपतिलाई निरुत्साहित गर्ने र राष्ट्रिय पूजीपतिलाई उत्साहित गर्ने खालको हुन्छ त्यति हामी विकासमा अघि बढ्छौं । बलियो दलाल पुँजीलाई कमजोर बनाउँदै कमजोर उत्पादक वा राष्ट्रिय पुँजीलाई बलियो बनाउनु नै समृद्धिका लागि विकल्पहीन बाटो हो । यो बाटोमा अघि बढिरहँदा निश्चितै रुपमा अत्यन्तै कठीनतम् घडी आउनेछ । समृद्धिका लागि हाम्रै विगतका परंपरा, दलाल पुँजीको उत्पादन र पुनरुत्पादनको राज्य तथा समाज माथिको प्रभाव र दलाल अर्थ राजनीतिक, सामाजिक परिस्थिति बाट प्रशिक्षित सस्कृति र मनोविज्ञान ठूलो खड्को बनेर उभिनेछ । नेकपा एमालेको आठौ महाधिवेशनमा अगाडि सारिएको दस्तावेजको मुख्य विषय यस्तो छः अहिलेको नेपाल अर्धसामन्ती अर्धऔपनिवेशिक होइन बरु यो पुँजीवादी हो, हामीकहाँ पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको छः, अब नेपालको कम्युनिष्ट आन्दोलनको ध्येय समाजवाद हो; तर राष्ट्रिय पुँजीको विकास नभइकन समाजवाद सम्भव नहुने र नेपालको पुँजीवादीकरणको मुख्य चरित्र दलाल भएको हुँदा हाम्रो कार्यभार राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्नु हो । यसो भनिरहँदा राष्ट्रिय पुँजीको विकास गर्ने किन भनियो ? अहिले समाजको गतिशीलता, पुँजीवादीकरणको प्रक्रिया, पुँजीको चरित्र जस्ता प्रश्नको यथेष्ठ र वैज्ञानिक उत्तर खोज्नु पर्दछ । त्यसो गरेर समृद्धिको बाटो पहिल्याउन सकिन्छ ।
समृद्धि भन्नासाथ हामीले सम्पन्नता, पुगिसरीको अवस्था वा भावका रुपमा बुझ्छौ । यो बाटो भन्दा पनि गन्तव्य हो, यात्राभन्दा पनि लक्ष्य वा उद्देश्य हो । धनधान्यले भरिपूर्ण हुने उद्देश्य मात्र भएर पुग्दैन । उद्देश्य के लिने भन्नेमा हाम्रोमा कहिल्यै समस्या र विवाद भएन । कसरी अघि बढ्ने, कुन बाटो, कुन गति, कुन तरिका र कुन सँस्कृतिबाट अघि जाने भन्ने विषयमा अलमल र दुविधाग्रस्त हुनु वामराजनीतिको पनि समस्या हो । भोलिलाई सुन्दर बनाउने कल्पना ठीकै छ तर आजलाई कसरी राम्रो बनाउने भन्ने विषय हाम्रो प्राथमिकतामा परेन । आजका ज्वलन्त समस्याहरुसँग जुध्ने साहस र सामथ्र्यलाई एकीकृत गर्ने मुद्दाले हामीलाई छोएन । सुन्दर भोलिका कुरा गर्दै आजका खराब चिजबस्तुसँग मितेरी लाउदै हिडेका कुराहरु प्रश्न र आलोचनाका विषय बनेनन् । हामीले समाजवादको कल्पना त ग¥यौ तर सामन्तवादी संस्कार, सँस्कृतिलाई उच्छेदन गर्नमा जोड गरेनौं बरु सम्झौता गर्दै गयौ र साम्यवादको सपना देख्न पनि छाडेनौ । हाम्रा पार्टी, संगठन र नेतृत्व आजका खराब, गलत चीजको मुकदर्शक बन्ने तर भोलिका दिनहरु सुनौला हुनेछन् भनेर दाबी गरिरहने नियतिबाट गुज्रिरह्यो ।
यसोभन्दा लाग्न सक्छ कि के हामीले केही गरेनौं । धेरै ग¥यौं तर धेरै गर्नुपर्ने छ । पार्टी ठूलो बनायौं, सरकार सत्तामा पुग्न सक्ने शक्तिशाली पार्टी बनायौं । सांसद, मन्त्री बनायौं । स्थानीय सरकार पनि बनायौं । तर यसो भन्दैमा धाज्रे हुने अवस्था हो त ? हाम्रो निर्वाचन प्रणाली नहुनेको लागि अभिसाप बन्दैछ । चुनावी प्रतिस्पर्धा अस्वस्थ र भद्दा हुदैछन् । उम्मेदवारका छनौटका मापदण्ड, कार्यकर्ताको मूल्याकंन पद्दतिमा गुट हाबी भएको छ । हाम्रा कार्यकर्ताहरुको पार्टी प्रतिको निष्ठा, इमानदारिता र वैचारिक अडिगतामा डरलाग्दो ह्रास आएको छ ? हाम्रो परनिर्भरता यसरी बढिरहेको छ कि हामी माग्नेमा परिणत भइरहेका छौं । हाम्रो अर्थतन्त्र विनिमय र व्यापारको चक्रमा दिनानुदिन खोक्रो हुदैछ । हाम्रा समाजिक जीवन र मूल्य क्षयीकरण हुदैछ । साम्प्रदायिकता, जात, लिङ्ग, क्षेत्र, भेग, टोल, थर, गोत्रका विषयहरुले प्रवलता पाउदै छन् । समाजमा संवेदनहीनता बढेको छ । त्यसैले यी यावत् समस्याहरुसँग जुध्दै समाजवादको तयारी गर्ने कुरा चानचुन होइन । यसका लागि राजकीय क्षेत्रको योजना र तयारीले पनि पुग्दैन । राजकीय क्षेत्र, पार्टी, जनसंगठन सबैको एकिकृत प्रयत्न आवश्यक हुन्छ ।
राम्रो बाली लगाउनको लागि खेतमा जानुपर्दछ । सबैभन्दा पहिले त्यहाँ भएका झारपातलाई निर्ममतापूर्वक गोड्नुपर्दछ । पानी, मलको उचित प्रवन्ध र श्रमको उपयुक्त प्रयोग गर्नुपर्दछ । ठीक त्यसरी नै समृद्धि ल्याउनको लागि हामीले आफैविरुद्ध पनि संघर्ष गर्न तयार हुनुपर्दछ । हाम्रा चिन्तन, सोच, संस्कार र व्यवहारमा रहेका झारपात उखेलेर फाल्नुपर्दछ । हामीले आफैलाई छिमल्न तयार हुनुपर्दछ । आफ्ना पूर्वआग्रह, मान्यता र दृष्टिकोणहरुलाई मार्न तयार हुनुपर्दछ । भष्ट्र मनोवृत्तिको झाडीलाई फाड्न तयार हुनुपर्दछ । परिवर्तन भनौं या विकास भनौं या समृद्धि नै भनौ, यो यात्रामा अघि बढ्ने होभने हामी हाम्रै अतित सँग जुध्नुपर्दछ । हाम्रै पुर्वमान्यता र बुझाईसँग पौठेजोरी खेल्न तयार हुनुपर्दछ । अभ्यस्त भइसकेका बानीसँग हामीले लडाई लड्नुपर्दछ । हामीले हामीलाई देश केन्द्रीत, सिंगो समाज केन्द्रीत हुन नदिने आत्मकेन्द्रीत मनोविज्ञानसँग मुकाबिला गर्नुपर्दछ । यसका लागि हाम्रो आत्मगत र वस्तुगत परिस्थिति तयार गर्नैपर्छ । आर्थिक विकास र सांस्कृतिक क्रान्तिलाई सँग–सँगै जोडेर मात्र समृद्धिको यात्रामा अघि बढ्न सकिन्छ ।