बागलुङ, २ माघ– गत मंसिर १० गते सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको चुनावी परिणाम आएको ३५ दिन काटेपनि बागलुङका ८ उमेदवारले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन् । निर्वाचन जितेका र निकटतम प्रतिस्पर्धी भएका बाहेक साना दलका उमेदवारले विवरण नबुझाएका हुन् । जिल्ला निर्वाचन कार्यालयले पटक–पटक ताकेता गरेपनि उनीहरु अझै सम्पर्कमा नआएको जिल्ला निर्वाचन अधिकारी बिकासचन्द्र पौडेलले बताए । निर्वाचनको परिणाम मंसिर २४ गते सार्वजनिक भएको थियो । कार्यालयका अनुसार, आइतवार विवरण बुझाउने तोकिएको समय सकिएको छ ।
निर्वाचनमा बागलुङ निर्वाचन क्षेत्र नं. १ का एमाले उमेदवार डा. सूर्य पाठकले २२ लाख २ हजार खर्च गरेको विवरण बुझाएका हुन् । पाठकसँग निर्वाचन हारेकी सहकारी राज्यमन्त्री चम्पा खड्काले १७ लाख २३ हजार रुपैयाँ खर्चेकी छन् । त्यस्तै क्षेत्र न. २ का देवेन्द्र पौडेलले पनि २२ लाख २१ हजार खर्च विवरण पेश गरेका छन् । जिल्लामा सबैभन्दा धेरै खर्च गर्ने माओवादी नेता देवेन्द्र पौडेल छन् । प्रतिनिधिसभा क्षेत्र नं. २ का सांसद पौडेलले २२ लाख २१ हजार रुपैयाँ खर्च विवरण पेश गरेको जिल्ला निर्वाचन अधिकारी बिकास पौडेलले बताए । कांग्रेसका नरबहादुर पुनले १८ लाख २८ हजार खर्चेको विवरण बुझाएका छन् ।
प्रदेश सभातर्फ एमालेका इन्द्रलाल सापकोटाले १२ लाख १ हजार खर्च गरेका छन्भने कांग्रेसका दिपेन्द्र थापाले ७ लाख ५० हजार, क्षेत्र नं. १ को २ का प्रदेश सभामा बिजयी उमेदवार कृष्ण थापाको चुनाव खर्च १ लाख ३ हजार रुपैयाँ मात्र छ । त्यही निर्वाचनमा हारेका प्रकाश शर्मा पौडेलको १४ लाख २५ हजार रुपैयाँ छ । क्षेत्र नं. २ को प्रदेशमा माओवादीका चन्द्रबहादुर बुढाले १३ लाख ११ हजार कांग्रेसका मञ्जेषबम मल्लले ११ लाख ५३ हजार खर्चेको बताए । प्रदेश २ मा राजमोका टेकबहादुर घर्तीले १५ लाख रुपैयाँ खर्चेका छन्भने कांग्रेसका जित शेरचनले ११ ला २१ हजार खर्चेको विवरण पेश गरेका छन् । घर्तीको क्षेत्रमा राजमोको आधार कम भएकाले धेरै रकम खर्चेको थापाले बताए । निर्वाचनको परिणाम घोषणा भएको ३५ दिनभित्र खर्च विवरण पेश गर्ने प्रावधान छ । ३५ दिन काटेपनि मालेका निरबहादुर क्षेत्री, राप्रपा राष्ट्रबादीका जयलाल सापकोटा र सुमनजंग राजभण्डारी, संघिय समाजवादी फोरमका यामकुमार पुन र बिरबहादुर दर्जी, आमुल परिवर्तन मसिहा पार्टीका डिलबहादुर बिक र बाबुराम पाण्डे तथा देशभक्त जनगणतान्त्रिक मोर्चाका निलबहादुर पुनले खर्च विवरण बुझाएका छैनन् । निर्वाचित ताका दलहरुले करोड बढी रकम खर्च गरेको आरोप लागेको थियो ।
बिवरण बुझाउने क्रममा भने कम बुझाएका हुन् । विशेषगरी प्रतिनिधि सभातर्फ क्षेत्र नं. १ मा एमाले र कांग्रेस उमेदवारको ठूलो रकम खर्च भएको अनुमान गरिएको छ । क्षेत्र नं. २ मा माओवादीका पौडेल खर्च गर्नेमा अगाडि थिए । तर उनीहरुले निर्वाचन आयोगले तोकेको २५ लाख भित्र खर्च गरेको हिसाब सार्वजनिक गरेका हुन् । निर्वाचनमा जिल्लामा २७ उमेदवार रहेकोमा अन्तिम समय सम्म २४ जना थिए । अन्य हारेका उमेदवारको पनि सामान्य खर्च विवरण आएको छ ।