बागलुङ, १ माघ-लामो समयदेखि बन्द बलेवा बिमानस्थल संच्ाँलन गर्ने बिषयमा बागलुङ नगरपालिका, नेपाल एयरलाइन्स र निजी क्षेत्रको तारा एयरलाइन्सको छलफल शुरु भएको छ । नगरप्रमुख जनक पौडेल, पुर्वमन्त्री दिनानाथ शर्मा, पुर्वसांसद प्रकाश शर्मा पौडेल,सहितको टोलीले नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक राजन पोरखेल सँगको छलफल सकारात्मक रुपमा टुंगो लागेको दावी गरेका छन् । आईतवार भएको छलफलपछि पोखरेलले तत्काल प्राविधिक टोली पठाएर अध्ययन गरिने आश्वासन दिएका पौडेलले बताए । ‘प्राविधिक टोलीले प्रतिवेदन बुझाएपछि साताको एकदुइवटा उडान गर्ने कुरा भएको छ’ पौडेलले भने, ‘चैतेदशै अघि बागलुङमा जहाज आउजाउ हुनेछ ।’ एक सातामा प्राविधिक टिम बलेवा आउने सहमति भएको पौडेलले बताए । जहाज संचालन गर्नका लागि मैदानदेखि दक्षिण तर्फका केही रुख काट्नुपर्ने प्राविधिक टोलीले यस अघि पनि प्रतिवेदन दिएको थियो । उक्त काम आगडि बढ्न सकेको छैन । हाल जहाज नचलेपछि मैदान गौचरणको रुपमा अलपत्र छ । टर्मिनल भवन पनि प्रयोग विहिन भएकोले जीर्ण बन्दै गएको छ ।
गत बर्ष १ करोड रुपैयाँ सरकारी बजेटमा बिमानस्थल तारा बार गर्ने काम भएको छ । संरक्षण अभावमा तारबार पनि प्रभावकारी नभएको हो । पोखरा बागलुङ राजमार्ग खुलेपछि २५ बर्ष अघिदेखि जहाज आउन बन्द भएको थियो । सदरमुकाम देखि बलेवा सम्मको सडक निकै अप्ठ्यारो र पोखरा जाने समय जत्तिकै लाग्ने भएपछि संचालन हुन सकेको थिएन । नारायणस्थानमा अवस्थित बलेबा बिमानस्थल संचालन गर्ने भन्दै चार बर्ष अघि नेपाल एयरलाइन्सको ९ एन एविएक्स टुइनअटर विमान लिएर तत्कालिन पयर्टन मन्त्री लोकेन्द्र विष्ट र शिक्षा मन्त्री दिनानाथ शर्मा अवतरण गरेका थिए । विमानस्थल २०१८ सालमा निर्माण भएपछि नियमित संचालन भइरहेको थियो । २०४८ सालमा पोखरा–बागलुङ राजमार्गको ट्रयाक खुलेपछि विमान आउने क्रम रोकिएको वडा अध्यक्ष चक्रबहादुर खत्रीले बताए । त्यतिबेला विमान उतारेका बरिष्ठ क्याप्टेन सुवास रिजालले पहाडी उडानका लागि बलेबा विमानस्थल उपयुक्त भएको प्रतिक्रिया दिएका थिए ।
पोखरा विमानस्थलबाट १३ मिनेटको उडान पछि आइपुगिने यो विमानस्थल विशेषगरी काठमाण्डौ र भैरहवाका लागि संचालन गर्न सकेमा बढी सहयोगी हुने स्थानीयको माग छ । गत मंसिरमा भएको निर्वाचनमा प्रतिनिधि र प्रदेश सभाका उमेदवारहरुले आफ्ना चुनावी नारामा बलेवा बिमानस्थल संचालन गर्ने उल्लेख गरेका थिए । त्यस्तै स्थानीय तहको निर्वाचन पछिको पहिलो नगर परिषदमा पनि बलेवा बिमानस्थल संचालनका लागि कार्यक्रम बनाइएको थियो । पूर्वाधार तयार गर्नका लागि नगरपालिकाले लगानी गर्ने भएको हो । जहाज चल्ने भएमा हाल निर्माणाधिन कालीगण्डकी करिडोरको स्तरउन्नती र कालोपत्रेका काम तत्काल शुरु गर्न थप दवाव सिर्जना हुनेछ । नेपाली सेनाले करिडोरको ट्रयाक खुलेपछि बलेवा जाने सडक आधा छोटिएको छ । सदरमुकाम देखि ३० मिनेटमा बिमानस्थलमा पुग्न सकिन्छ । नियमित र सहज रुपमा ट्याक्सी चल्ने व्यवस्था भएमा बिमानस्थल सजिलै संचालन हुने स्थानीयले बताए । बिमान संचालनका क्रममा कम्तिमा १६ सिट बुकिङ भएको हुनुपर्ने प्राधिकरणका टोलीको माग छ । उक्त माग सम्बोधनका लागि अपुग भएको खण्डमा ४ सिटको जिम्मा नगरपालिकाले जिम्मा लिन सक्ने गरी कुरा भएको पौडेलले बताए ।