बागलुङ, २८ पुस– जिल्ला सहकारी संघ लिमिटेड बागलुङको नवौ वार्षिक साधारणसभाबाट सर्वसम्मत चयन भएको सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुले बिहीवार सपथ ग्रहण गरेका छन् । निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले नव निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण समारोहमा नेपाल सूचना तथा सञ्चार केन्द्रीय सहकारी संघका उपाध्यक्ष मनकुमारी केसीले समाज रुपान्तरणका क्षेत्रमा प्रभावकारी काम गर्दै आएको सहकारी क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न सकेमा मात्रै समृद्ध नेपाल निर्माणको अभियान सफल हुने बताईन् । सहकारी क्षेत्रले जनतालाई आयआर्जनको वातावरण सिर्जना गर्नुका साथै उनीहरुसंग भएको रकमलाई एकीकृत गरी व्यसायिक रुपले अगाडि बढ्ने सहकारीहरुको संस्थागत विकासका लागि राज्यको ध्यान जानु पर्नेमा उजको जोड थियो । कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका नव निर्वाचित अध्यक्ष दिपक गौतमले सहकारी क्षेत्रबामार्फत समृद्ध समाज निर्माणको अभियानमा संघले सक्रियताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्मा, जिल्ला सहकारी संघ लिमिटेड बागलुङका संस्थापक अध्यक्ष कृष्णशंकर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरिष लगायतले वधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम निर्वाचन समितिका संयोजक रामबहादुर जिसीको अध्यक्षता, सदस्य दिनेश अधिकारीको सञ्चालन र सदस्य तेजप्रसाद शर्माको स्वागतमा सम्पन्न भएको थियो ।
यसैबीच जिल्ला सहकारी संघको नवौ वार्षिक साधारणसभाबाट भएको निर्वाचनमा उमेदवारी दर्ताका क्रममा संकलन भएको रकम निर्वाचन समितिले नलिई संघको तर्फबाट नेपाल पत्रकार महासंघ बागलुङको भवन निर्माण अभियानलाई सहयोग गरेको छ । जिल्ला सहकारी संघका तर्फबाट अध्यक्ष गौतमले नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषलाई नगद ५ हजार रुपैया हस्तान्तरण गरेका हुन् ।
Previous Article२८ पुस २०७४, ढोरपाटन दैनिक
Next Article बिमानस्थल निर्माणका लागी अध्ययन सुरु