म्याग्दी, २८ पुस– उच्च पहाडी जिल्ला म्याग्दीलाई आगामी माघ ८ गते साक्षर जिल्लाका रुपमा घोषणा गरिने भएको छ । म्याग्दी जिल्लामा बसोबास गर्ने १५ वर्षदेखि ६० वर्ष उमेर समूहका कुल जनसङ्ख्यामध्ये ९६ दशमलव २७३ प्रतिशत जनसङ्ख्या साक्षर भएपछि जिल्लालाई नै साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । जिल्ला शिक्षा कार्यालय म्याग्दीले बुधबार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी साक्षर जिल्ला घोषणा गरिने विषयमा जानकारी गराएको छ । कार्यालयका अनुसार जिल्ला अनौपचारिक शिक्षा समितिले यसअघि आउँदो माघ ८ गते (बसन्तपञ्चमी) का दिन म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्ने निर्णय गरेको थियो ।
म्याग्दीको एक नगरपालिका, पाँचवटा गाउँपालिकामा रहेका सबै ४५ ओटै वडाहरु साक्षर घोषणा गरिसकिएको हुँदा जिल्लालाई साक्षर घोषणा गरिने म्याग्दीका जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठले बताए । जिल्ला शिक्षा कार्यालयको तथ्याङ्क अनुसार म्याग्दीको कुल जनसंख्या एकलाख २५ हजार ९४४ रहेको छभने कुल घरधुरी २२ हजार १९० रहेको उल्लेख छ । आर्थिक वर्ष २०६६÷६७ बाट साक्षर घोषणाको अभियान थालनी गरिएको थियो । जिल्ला शिक्षा कार्यालयले गरेको घरधुरी सर्वेक्षणको तथ्याङ्क अनुसार म्याग्दीमा १६ देखि ६० वर्ष उमेर समूहका ८२ हजार ८२६ जनसंख्यामध्ये ७९ हजार ७३९ जना नागरिक साक्षर बनेको पाइएको छ । लक्षित समुदायका ९५ प्रतिशतभन्दा बढी नागरिकले अङ्क र अक्षर लेखपढ गर्न सक्ने भएपछि साक्षर वडा, स्थानीय तह र जिल्ला घोषणा गर्न सकिने व्यवस्था अनुसार म्याग्दीलाई साक्षर घोषणा गर्न लागिएको हो शिक्षा कार्यालयको भनाई छ । साक्षर घोषणा गर्ने अभियानमा शिक्षा कार्यालय, विद्यालयहरु, सामुदायिक अध्ययन केन्द्र, साविकका गाविस कार्यालयले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेका थिए ।
म्याग्दी जिल्लालाई नेपालको ३९औं जिल्लाको रुपमा साक्षर जिल्ला घोषणा गर्न लागिएको हो । राष्ट्रिय मापदण्ड अनुसार म्याग्दीलाई साक्षर जिल्ला घोषणा गर्न लागिएको हुँदा आगामी दिनमा पनि निरक्षर सबैलाई साक्षर बनाएर साक्षरताको प्रतिशत वृद्धि गर्नुपर्ने जिल्ला अनौपचारिक शिक्षा समितिका संयोजक एवं जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले बताए । अध्यक्ष केसीको संयोजकत्वमा मूल समारोह समिति र थप चारवटा विभिन्न उपसमितिहरु गठन गरी साक्षर घोषणाको तयारीलाई तिब्रता दिइएको छ ।
म्याग्दी जिल्लालाई साक्षर घोषणा कार्यक्रम सदरमुकाम बेनीबजारस्थित रहेको बेनी सामुदायिक माध्यमिक विद्यालयको प्राङ्गणमा विशेष समारोहका साथ गरिने भएको छ । जिल्ला अनौपचारिक शिक्षा समितिका संयोजक एवं जिल्ला शिक्षा समितिका प्रमुख केसीको अध्यक्षता र विद्यालय निरीक्षक दलबहादुर थापाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्लास्थित स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा क्रियाशिल पत्रकारको सहभागिता थियो ।