नयाँ संरचनाअनुसार बागलुङ नगरपालिकाको वडा नं. १२ अमलाचौर प्रशस्त सम्भवना बोकेको वडा हो । धार्मिक पर्यटन, र उत्पादनशिल क्षेत्रका हिसाबले निकै सम्भावना भएको वडामा गत बैशाखमा सम्पन्न स्थानिय तहको निर्वाचनबाट नेकपा एमालेका पाका नेता गुरुदत्त पाठक वडाअध्यक्षमा निर्वाचित भए । पञ्चका पाला समेत वडाध्यक्ष भएर एक कार्यकाल सम्हालेका पाठक राजनीतिक हिसाबले पाका र अनुभवी वडाअध्यक्षको रुपमा चिनिने गरेका छन् । वडाअध्यक्ष भएपछि पुरानो अनुभव र नयाँ जाँगर लिएर जनताको काम गर्ने मैदानमा ओर्लिएका पाठकसँग सहकर्मी तारानाथ आचार्यको छोटो कुराकानी ।
वडाअध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुँदो रहेछ ?
–वडाअध्यक्षको रुपमा काम गर्न अहिलेको परिबेशमा निकै गाह्रो रहेछ । हुनतः पहिला पनि मैले वडाअध्यक्ष भएर काम गरेको अनुभव छ । लामो समय राजनीति गरें त्यो अनुभव पनि छ । तर अहिलेको परिवेश पहिलेको जस्तो रहेनछ । लामो समयसम्म स्थानिय तहमा जनप्रतिनिधि नभएको शुन्यताका कारण धेरै कुरा बिग्रिसकेका रहेछन् । त्यस्ता कुरालाई आफ्नो तहमा ल्याउन कठिन छ । अहिले वडाअध्यक्ष आम सर्वसाधारणको आशाको केन्द्र भएका छौं । लामो समयसम्म गुनासो बिसाउने ठाउँ नपाएका सर्वसाधारणले एकैपटक ठुलो अपेक्षा हामीबाट गरेका छन् । त्यही रुपमा काम गर्न सक्ने वातावरण छैन् किनभने लामो समयसम्म कर्मचारीको भरमा चलेका स्थानिय तहलाई पहिले आफ्नो तहमा ल्याउन आवस्यक छ । त्यसका लागि निकै मेहेनत गर्नुपर्ने देखीन्छ तर हामीले जनताको बिश्वास ढल्न दिँदैनौ । उहाँहरुका काम गर्नमा कुनै सम्झौता गरिँदैन् ।
वडाअध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–केहि साना खानेपानीका योजना सम्पन्न भएका छन्भने केही सडकहरु स्तरोन्नती गर्ने काम भएको छ । त्यो बाहेक सम्पन्न भैसकेका केही योजना भने छैनन् । हामीले नयाँ प्रयासको थालनी गरेका छौं । धार्मिक पर्यटनका हिसाबले निकै सम्भावना बोकेको हाम्रो वडालाई धार्मिक पर्यटन मार्फत स्रोतसाधनयुक्त बनाउन काम थालनी भएको छ । त्यसका लागि महत्वपुर्ण कुरा भनेको सडक रहेछ । हामीले पाक्जादेखी अमलाचौर र बास्कोट सुल्डाँडा भैरवस्थान सडकको डिपिआर तयार गर्ने काम सम्पन्न गरेका छौं । यसले हाम्रो वडाका आम सर्वसाधारणको प्रत्यक्ष जिवनमा अर्थ राख्छ भन्ने हामीलाई लागेको छ । हामीले सानातिना काम गरिसकेका छौ भने दिर्घकालिन असर गर्ने खालका योजना निर्माणको चरणमा छन् ।
वडा कार्यालय नियमीत नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
–वडा कार्यालय नखुल्ने भन्ने हैन तर नियमित सचिव नहुन सक्छन् । वडाका हरेक काम नगरपालिकामार्फत गर्नुपर्ने र नगरपालिका कार्यालय टाढा भएकाले नियमित सचिव वडामा नभेटिन पनि सक्छन त्यो सत्यता हो । मैले पनि सोचे जतिको समय वडालाई दिन सकेको छैन् किनभने नगरपालिकासँग नियमित सम्पर्कमा रहनु पर्ने र जनताको काम गर्न नगरपालिका नै आउनु पर्ने भएकाले कहिलेकाहिँ वडामा नहुन सकिन्छ तर जनताका काम नभएका छैनन् । हामीले समय मिलाएर जनताका काम गर्दै आएका छौं । कर्मचारीको समायोजन हुन नसक्दा केही समस्या वडामा छ त्यो हल गर्ने प्रयासमा हामी छौं ।
हजुरको क्षेत्रको विकासका लागि नगरपरिषदबाट के–के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के के गर्नु भयो त ?
–खासमा यस बर्षको नगर परिषदमा सडकका योजना हामीले लगेका छौं । त्यसपछि भनेको धार्मिक पर्यटनको विकास हो । भैरवस्थानको व्यापक प्रचार–प्रसार र भौतिक सुधार आवस्यक छ । त्यसका लागि हामीले नगरपालिकामा योजना बनाएर बजेट माग गरेका छौं । बजेट बिभिन्न धार्मिक पर्यटकीय स्थलका लागि भनेर एकमुष्ठ छुट्टिएको छ तर भैरवस्थानको लागि कति भनेर बिनियोजन भएको छैन् । त्यसले गर्दा काम गर्न सकिएको छैन् । अर्को कुरा हामीले भैरवस्थानको गुरुयोजना पहिले नै बनाएका थियौं त्यसको कार्यान्वयनको लागि नगरपालिकासँग बजेट माग गरेका छौं । कालिगण्डकीदेखी पम्पिङमार्फत भैरव स्थानमा पानि पु¥याउने योजना, स्वास्थ्यचौकीको लागि भवन र उपकरणको योजना, कृषकहरुलाई ब्यबसायीक दुग्ध उत्पादनमा प्रोत्साहन तथा अनुदानको व्यवस्था गर्ने योजना, सुत्केरी तथा मृत्यु राहात रकमको योजना लगायतका योजना बनाएर हामीले नगरपरिषदमार्फत माग गरेका छौं ।
तपाईको वडाका सडक कच्ची छन, कहिलेसम्म पक्की बनाउनु हुन्छ ?
–मेरै कार्यकालमा सबै सडक पक्कि बनाउने सम्भावना त कम छ तर मापदण्ड तयार गरेर कामको सुरुवात भने हामी गर्छौं । हामीसँग बागलुङ अमलाचौर, बागलुङ पैञ्युपाटा भैरबस्थान र कालीगण्डकीदेखी भैरवस्थान सहितका तिनवटा सडक छन् । मेरो कार्याकालमा पक्कि हैन १५ मिटर पराकिला ग्राभेल सडक बनाउने योजना मेरो छ । यो काम हामी गर्छौं । सडकलाई ग्राभेल गरेर नियमित यातायात सञ्चालन हुने व्यवस्था मिलाउने हाम्रो प्रमुख दायित्व हो, त्यो हामी पुरा गछौं ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–मेरो कार्याकालमा हाम्रो वडालाई नमुना वडाको रुपमा प्रस्तुत गर्ने योजना छ । बाह्रै महिना यातायात चल्ने सडक, कृषिमा आत्मानिर्भर बनाउँदै दुग्ध उत्पादनमार्फत आर्थिक बृद्धि, आर्गानिक खेती तथा आर्गानिक उत्पादनको प्रयोग, सुत्केरी र किरिया खर्चको व्यवस्था भएको वडा तथा सर्वसुलभ र नियमित सेवा दिने वडाको रुपमा विकास हुने छभने शिक्षा स्वास्थ्य पर्यटनको क्षेत्रमा व्यापक सुधार आईसकेको वडाको रुपमा हाम्रो वडा विकास हुने छ । हामीले सुरु गरेको सुत्केरी तथा किरिया खर्च उपलव्ध गराउने कुरामा थोरै समस्या देखिएको छ । नगरपालिकामार्फत आएको बजेट यसमा प्रयोग गर्न नपाईने र स्थानिय स्तरमा स्रोत नभएकाले समस्या छ तर हामीले समाधान तथा स्रोत खोजेर लागु गर्ने पक्षमा छौं ।
अन्त्यमा यस पत्रिकामार्फत केही भन्नु छ कि ?
–यो तपाईंको अनलाईन निकै लोकप्रिय अनलाईन हो । यसमार्फत सम्प्रेसित भएका सुचनाहरुले हामीले गरेका काम र कमजोरीमा खवरदारी गर्ने गरेको छ । निष्पक्ष रुपमा तपाईहरुले चलाएको कलम र हामीलाई दिएको अवसरले स्थानिय तहको विकासमा टेवा पुगेको महसुस मैले गरेको छु । यसरी नै नियमित हामीलाई रचनात्मक आलोचना र सकरात्मक सहयोग गर्दै जानुहोला शुभकामना छ । धन्यवाद ।