म्याग्दी, २६ पुस– सदरमुकाम बेनीमा सञ्चालन हुन गैरहेको छैटौं म्याग्दी महोत्सव तथा माघेसक्रान्ति मेला एवं ४ नम्बर प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको करिव ८० प्रतिशत तयारी पुरा भएको छ । यही पुस २८ गतेदेखि माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको आर्थिक सहयोग, प्रचारप्रसार, स्टल, खेलकुद प्रतियोगिता, टिकट विक्री, मञ्च, एतिहाँसिक फोटो प्रर्दशनी, बजार सज्जा लगाएत महोत्सवमा आवश्यक तयारी तिब्र गतिमा अगाडी बढेको संघका अध्यक्ष एवम् मुल संयोजक उत्तम कुमार कर्माचार्यले बताए विभिन्न ३९ उपसमितिले आफ्नो जिम्मेबारी अनुसार काम गरेकाले पनि तयारी समयमै सम्पन्न हुने बताए । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पवद्र्धन गरौं’ भन्ने मूल नारासहित आयोजित महोत्सवमा प्रदेशस्तरमा उत्पादन हुने बस्तुको विक्रीका साथै जिल्लाभित्र रहेका स्थानीय तहका उत्पादन, महिला उद्यमीलाई समेत निशुल्क स्टलको सुविधा रहेको छ ।
तीनबर्षमा हुने महोत्सवमा कृषि उपज, पर्यटन र जडिबुटीलाई मुख्य प्राथमिकता दिइने भएको छ । कृषि, पर्यटन र जडिबुटीको प्रचुर सम्भावना रहेको म्याग्दीमा महोत्सवमार्फत बजारीकरण र लगानीको वातावरण बनाउन सहज हुने म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । जिल्लाको अति गिूर्जामा रहेको चिप्लो तथा रुमको स्लेट ढुङ्गा, राखुको खरी, अल्लो पुवा र यसबाट उत्पादित सामाग्री महोत्सवका लागि तयारी अवस्थामा रहेको छ । कालीगण्डकी नदीमा जलेश्वरदेखि म्याग्दीकालीको दोभानसम्म ¥याफ्टिङ सञ्चालन गरिने छ । महोत्सव स्थलमा १८० ओटा विभिन्न व्यापारिक स्टलहरु रहने कोषाध्यक्ष अमित बानियाँले बताए । महोत्सवमा करिव १ करोड आर्थिक सहयोग जुट्ने लक्ष्य राखिएको छ ।
३० लाखको टिकट विक्रीका साथै स्टल बुकिङ्ग र प्रायोजकबाट प्राप्त भइरहेको सहयोगले समेत सहज भएको बताए । १० दिनसम्म चल्ने महोत्सवमा १ लाख ५० हजार आन्तरिक तथा बाह्य पर्यटकहरुलाई म्याग्दी जिल्लामा भित्राउने लक्ष्य राखिएको छभने करिब ६ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रियस्तरका वस्तु तथा सेवाहरुको स्टल प्रर्दशनी, नगर एवं गाउँपालिकास्तरीय महिला र पुरुष भलिबल, बास्केटबल, लोकनृत्य लगायत प्रतियोगिता रहेका छन् । त्यस्तै लोकदोहोरीगीत प्रतियोगिता, लाईभ दोहोरी कार्यक्रम, बालउद्यान, चिडियाघर, रमाइलो मेला, स्थानीय र राष्ट्रियस्तरका कलाकारहरुबाट साङ्गीतिक एवं सांस्कृतिक र प्रहशन प्रस्तुत, परम्परागत स्थानीय कला र संस्कृतिको प्रदर्शन र प्रस्तुतीलगायत रहेको छ । महोत्सवमा आउने आन्तरिक पर्यटकलाई बेनी नगरपालिका सहित जिल्लाका पाँचवटा गाउँपालिका भित्रका पर्यटकीयस्थलहरुसम्म पुग्ने आवश्यक सहयोग गरिने संघले जनाएको छ ।