अहिले पनि करिब ३० लाख नेपाली युवाहरु बिदेशी भुमीमा आफ्नो श्रम बेचिरहेका छन् । दक्ष वा अदक्ष र अर्धदक्ष कामदारको रुपमा बिदेशी भुमिमा आफ्नो पसिनाले सिंचेको कमाईलाई स्वदेशमा लगानी गरेर यहि देशमा आम्दानीको वातावरण बनाउनेहरु कम छन् । सबै युवा कमाएर रमाउने मात्र हैन केहीले बिदेशमा सिकेको सिपलाई प्रयोग गरेर आफ्नै देशमा पनि राम्रो आम्दानी गर्न सक्छन भन्ने उदाहरण प्रस्तुत गरेका छन् यहाँका एक व्यवसायी । १६ बर्ष पहिले खाडी मुलुक दुवै छिरेका बागलुङ नगरपालिका–६ सल्लेफुर्काका मिनकुमार दर्नाल अहिले दुवैमा सिकेको सिपलाई प्रयोग गरेर बागलुङ बजारमा नै मनग्य आम्दानी गर्दै आएका छन् ।
गाउँमा छँदा पुखौंली पेशामा सामान्य सिलाईकटाईको काम सिककेका दर्नालले एसिया भित्रको युरोप भनेर चिनिने दुवै सहरमा गएर सिलाईकटाई तथा डिजाईनिङ सम्बन्धि काम गर्दा धेरै कुरा सिकेको बताए । करिव आठ बर्ष दुवैको तातो घाममा अर्काको काममा समय बिताएका दर्नालले मालिकको तलबका लागि मात्रै काम गरेनन् भविश्यको आफ्नो बाटो पनि बनाए र काम सिके । लामो समयसम्म मालिकको कम्पनीमा बसेर काम गर्दा आँफु नै मालिक बन्ने इच्छा लागेर बिदेशमा काम सिकेको दर्नाल बताउँछन् । ‘मैले सामान्य तल्लो तहको मजदुरको रुपमा त्यहाँ पुगेर काम सुरु गरेको हँु’ दर्नाल भन्छन्– ‘काम सिक्दै जाँदा तेस्रो तहको कर्मचारीसम्म बढुवा भएँ र अझ बढि काम सिक्ने अवसर मिल्यो ।’ कम्पनीमा काम गर्दा सिकेको सिपलाई प्रयोग गर्दै दर्नालले अहिले बागलुङ बजारमा टेलरिङ सेन्टर खोलेका छन् । दुबैमा कमाएको तीन लाख रुपैयाँ लगानी गरेर जिन्स र कटराईजका कपडाको डिजाईनिङ तथा सिलाई गर्ने गरी टेलरिङ खोलेको दर्नालले बताए । ‘बिदेशमा जिन्सका कपडाहरु निकै चलेको देखेको थिएँ’ उनले भने ‘स्थानिय बजारमा पनि यसको माग छ भन्ने लागेर व्यवसाय सुरु गरेको अहिले मलाई भ्याईनभ्याई छ ।’ मरुभुमिमा बगाएको पसिनाको मुल्यबाट खोलिएको टेलरिङले अहिले दर्नालको चार जनाको परिवार मात्रै पालिएको छैन् तीन जनाले उनको टेलरिङमा रोजगारी समेत पाएका छन् ।
सानो लगानीबाट सुरु गरेको व्यवसायबाट अहिले खर्च कटाएर ८० देखी ९० हजारसम्म आम्दानी हुने गरेको दर्नालले सुनाए । ‘दुवैमा हुँदा मेरो आम्दानी भनेको ५० हजार नेपाली मात्रै थियो’ दर्नाल भन्छन् ‘यहाँ करिव लाख कमाएको छु परिवार र अन्य तीन जनाको परिवार समेत मेरो व्यवसायमा आश्रित छ ।’ श्रम र सिपको प्रयोग गरेर बिदेशमा पसिना बगाउनेहरुले आफ्नो देशमा केही नगर्ने गरेको देखेर दर्नाल दुःखी छन् । ‘कतिधेरै दुःख गरेको मैले देखेको छु’ उनी सम्झन्छन– ‘कमाएको कमाईलाई सदुपयोग गरेर उद्यममा लागे यहाँ पनि केही गर्न सकिन्छ भन्ने लाग्छ ।’ अहिले दर्नालले जिन्स कटराईज र होजेरीका कपडाको नयाँ–नयाँ डिजाईन बजारमा ल्याउने गरेका छन् । आँफुले नै कपडाको कटिङदेखी डिजाईनको काम गर्ने र सिलाउनका लागि कालिगडहरु राखेको उनले बताए ।
ग्राहकहरुको चापका कारण समयमा काम पुरा गर्न कठिन रहेको भन्दै स्थानिय बजारमा यसको माग अधिक रहेको उनको बुझाई छ । ‘मैले दुवैमा सिकेको सिपलाई स्थानिय बजारमा बिकाएको छु’ दर्नाल भन्छन् ‘यस्तै सिपभएका हरुको बजार अझ फराकिलो छ ।’ उनले बिदेशमा रहँदा तलबको लागि मात्रै काम गर्न भन्दा बाँकी जिवनको लागि आवस्यक कामको सिप सिक्न सके फाईदा जनक हुने बताए ।
आँफुले भनेको र खोजेको जस्तो बिदेशमा नहुने भएपनि पाएको कामलाई नै सदुपयोग गरेर सिप सिक्न सकिने उनको भनाई छ । ‘नेपाली युवा कमाउनका लागि मात्रै हैन सिप सिक्नका लागी बिदेशिने परिपाटी हुनुपर्छ’ दर्नालले भने ‘कमाईले क्षणिक आवश्यकता धान्ला तर सिपले सधैं साथ दिँदोरहेछ ।’ एक छोरा, एक छोरी र श्रीमतिसहित बागलुङ बजारमा बस्दै आएका दर्नालले श्रम र सिपको प्रयोगले सुखी परिवारमा बस्न पाएको दाबी समेत गरे । ‘बिदेशमा गएर पैसा मात्रै बोकेर आएको भए अहिले फेरी बिदेशमा नै हुन्थें होला’ दर्नालले ठट्यौली शैलीमा भने ‘सिप सिकेकाले परिवारसँग रमाउन पाएको छु ।’
–प्रस्तुतीः तारानाथ आचार्य
Previous Articleसर्वसुलभ सेवासहितको वडा बनाउँछौ (अन्तरवार्ता)
Next Article अन्धविश्वासको पर्दा उघारौ