भौगोलिक हिसाबले जैमिनी नगरपालिकाको मुटुमा रहेको वडा नं–४ सर्कुवा नगरपालिका भरिमा बिद्युतिकरण र खानेपानीका हिसाबले आत्मानिर्भर वडाका रुपमा चिनिन्छ । लामो समयको अन्तरालमा स्थानिय तहको निर्वाचन भएपश्चात वडाले एक जना जुजारु युवाको नेतृत्व पाएको छ । कृषि योग्य जमिन पर्यटकीय स्थल, लगायत आर्थिक र सांस्कृतिक हिसाबले समेत सक्षम मानिने सर्कुवामा गत बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसका यमबहादुर शाहीलाई २ सय ३३ मतले पछि पार्दै निर्वाचित भएका एमालेका युवा नेता चक्र थापासँग सहकर्मी तारानाथ आचार्यको छोटो कुराकानी ।
वडाअध्यक्षको रुपमा काम गर्न कत्तिको सहज हुदो रहेछ ?
–लामो समय जनप्रतिनिधिबिहिन अवस्थामा चलेको वडामा एक्कासी आएर काम गर्न असहज नै छ । किनभने पहिले राजनीतिक दलहरुको संयन्त्रको भरमा चलेको वडालाई आफ्नो स्थानमा फर्काउन अलिकती समस्या छ । अर्कोतर्फ हिजो बिहान संयन्त्रकै भरमा भद्रगोल अवस्थामा सञ्चालनमा रहेका योजनाहरुलाई एउटा पद्धतिमा ल्याउनको लागि कठिन छ । नयाँ भएकाले आँफैलाई पनि काम सिक्दै गर्नुपर्ने र लामो समयसम्म बिना पद्धति हँचुवाको भरमा चलेको वडालाई सहि निकास दिन निकै मेहेनत गर्नुपर्ने देखीन्छ । तर जनताले विश्वास गर्नुभएको छ यो बिश्वास ढल्न भने कुनैपनि हालतमा दिँदैनौं ।
वडाअध्यक्ष भएपछि जनताले महशुस गर्ने गरी के–के काम गर्नुभयो ?
–पहिलो कुरा त हामीले बिभेद अन्त्यको पहल थाल्यौं । यसका लागि वडा भित्रका ८३ बर्ष पुरा गरी ८४ बर्षमा प्रबेश गरेका सबै जाति र समुदायका अग्रजहरुलाई जम्मा पारेर उहाँहरुबाट बिना भेदभाव आशिर्वाद लिने काम ग¥यौं । यसमा हाम्रो मुख्य ध्येय भनेको बिभेदको अन्त्य गर्नु थियो । त्यो कार्यक्रमले एक हिसाबको सन्देश समुदायमा लग्यो र बिभेद अन्त्यका लागि हामीले थालेको पहलमा केही हदसम्म सहयोग पुग्यो । त्यो मात्र नभएर हामीले अग्रजहरुलाई सम्मान समेत गरेका छौं । वडाले आयोजना गरेर बृद्ध–बृद्धालाई सम्मान गर्दा परिवारमा हेला र दुव्र्यवहार भोगीरहेका बृद्ध–बृद्धाले माया ममता र सम्मान पाउने वातावरण बनेको छ । अर्को कुरा हाम्रो वडामा रहेका अधिकांश सामुदायिक बिद्यालयको शैक्षिक अवस्था खस्कँदो अवस्थामा रहेका छ । यस समस्याको समाधानका लागि हामीले नगरपालिका स्तरीय शैक्षिक सुधार गोष्ठीको आयोजना गरेका थियौं । र यसबाट शैक्षिक क्षेत्रको सुधारका लागि आवस्यक सल्लाह सुझाव प्राप्त भए । सोही अनुसार बिद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि हामीले पहल थालिसकेका छौं ।
वडा कार्यालय नियमीत नखुल्ने र सचिव नभेटिने समस्या छ भन्छन नि ?
–वडा कार्यालय नखुल्ने भन्ने समस्या हामीकहाँ छैन् । किनभने म आँफै नियमित वडामा उपस्थित भएर वडा कार्यालय खोल्ने गरेको छु भने अर्कोतर्फ बिषयगत कार्यालयका कर्मचारीहर हामीसँग भएकाले उहाँहरु आएर पनि कार्यालय खोल्ने गर्नु भएको छ । सचिव नआउने समस्या भने छ । कार्यालयमा नियमित नआउने, सम्पर्कमा नरहने लगायतका समस्या छन् । लामो समयसम्म स्थानिय निकायमा नेतृत्व नभएकाले उहाँहरु नै अध्यक्षको समेत जिम्मेबार हुनुहुन्थ्यो अहिले जनप्रतिनिधि आईसकेपछि अलिक उहाँहरुलाई समायोजन हुन असहज भएको जस्तो मलाई लाग्छ तर सचिव नियमित उपस्थित नहुने भएपनि जनताका काम गर्न भने हामीले छोडेका छैनौं । स्थानिय पञ्जिकाधिकारीको काम समेत मैले आँफै गरेर पनि जनताको काम टारेका छौं ।
हजुरको क्षेत्रको विकासका लागि नगरपरिषदबाट के–के योजनाहरु अगाडि सार्नु भएको छ र हालसम्म के के गर्नु भयो त ?
–वडा भित्रका सडक, शिक्षा, स्वास्थयमा सुधार, पर्यटन, कृषि सिंचाईं तथा पशुपालनका क्षेत्रमा व्यापक बजेको व्यवस्थापन गर्दै स्थानिय स्तरमा रोजगारीको सिर्जना गर्ने खालका कार्यक्रम तय गरेर हामीले नगरपरिषदमा पु¥यायौं । सोही अनुसारको हाम्रो वडालाई यसबर्ष करिव एक करोड बीस लाख बराबरको बजेटको व्यवस्था भएको छ । सोहीअनुसार उपभोक्ता समिती गठन गरेर हामीले काम अघि बढाएका छौं । अधिकांश काम सम्पन्न हुने चरणमा पनि छन् । स्वरोजगार बनाउनका लागि हाम्रो वडाको तर्फबाट जोडबल रहिरहने छ ।
तपाईको वडाका सडक कच्ची छन, कहिलेसम्म पक्की बनाउनु हुन्छ ?
–मेरो कार्याकालमा सबै सडक पक्किनै त गर्न कठिन होला तर हामीले योजना बनाएर आगामी दश बर्ष भित्रमा वडाका सडकहरुलाई पक्कि बनाउने गरी काम थाल्ने योजनामा छौं । मेरो कार्याकालमा कम्तिमा नालीयुक्त र सरासर गाडी चल्ने खालको सडक बाह्रै महिना सर्वसाधारणले प्रयोग गर्न सक्ने बनाउने योजना छ । बाटोमा पानी तर्काउने र बेला–बेलामा मर्मत गर्ने होभने उपयोग गर्न समस्या नहोला भन्ने लागेको छ । सोही अनुसार नगरपालिका स्तरमा र उपल्लो तहसम्म पहल थाल्ने छौं ।
आफ्नो कार्यकालमा हजुरको वडालाई कस्तो बनाउने योजना हुनेछ ?
–हाम्रो वडा खानेपानी र बिजुलीमा आत्मनिर्भर छ । कृषिमा सुधार गरेर उत्पादनमुखी बनाउने, शिक्षामा सुधार गरेर उपलव्धीमुलक बनाउने , स्वास्थ्यलाई सर्वसुलभ बनाउने, सिंचाईंलाई प्राप्त बनाउने योजना हाम्रो छ । ऐतिहाँसिक महत्व बोकेको माईका थान धार्मिक पर्यटकीय स्थल हाम्रो वडामा पर्छ त्यहाँसम्म पर्यटकलाई ल्याउनको लागि पहल गर्ने र धार्मिक पर्यटनबाट अर्थोपार्जनमा वडाबासीलाई सहभागी बनाउने योजना हाम्रो छ । अत्यावश्यक बस्तु तथा सेवाहरु सर्वसुलभ भएको वडाको रुपमा विकास गर्ने छौं । आत्मनिर्भर वडा बनाउने काम थालेका छौं ।
अन्त्यमा यस अनलाईनमार्फत केही भन्नु छ कि ?
–विकास भन्ने कुरा चुड्कीको भरमा हुने कुरा होईन । बिस्तारै स्रोत र साधनहरुको उपयोग गरी हुन लागेको विकासलाई आम सर्वसाधारणले समेत सहयोग गर्न जरुरी छ । यसका लागि आम राजनीतिक दल तथा स्थानिय सर्वसाधारणको इच्छा शक्ति समेत अवश्यक छ । सबैलाई विकासको काममा सहयोग गर्न म आग्रह गर्दछु । तपाईंहरु जस्ता मिडियाले सकरात्मक कुराको प्रचार र गलत कुराहरुमा सच्चिने मौका दिनुहोला हामीलाई खबरदारी गर्दै रहनुहोला । हामी जनतासँग जोडिएर विकासमा लाग्छौं । समय र अवसरका लागी यहाँलाई धन्यवाद ।