लमजुङ, २४ पुस – जिल्लाको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रसित बनेका छन्। सुन्दरबजार नगरपालिका–९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो। स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन्।
गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो। पछिल्ला दिनमा धुवाँको मुस्लो बढ्दै गएको स्थानीयवासी सुनिता खनालले बताइन्। विशेषगरी बिहान र बेलुकीको समयमा धुवाँको मात्रा बढी देखिने खनालको भनाइ छ। सुक्खा जमिनबाट अचानक धुवाँ आउन थालेपछि त्रस्त भएका स्थानीयवासीले परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन्। स्थानीयवासीले भेला भई सुरक्षा र आवश्यक जाँचबुझका लागि निवेदन दिएको स्थानीय विश्वबन्धु अधिकारीले बताए।
घटनाबारे छानबिनका लागि गृह मन्त्रालयसँग समन्वय गरी पहल गरेको प्रमुख जिल्ला अधिकारी युवाराज मैनालीले बताए। जानकारी पाएसँगै आफूले पनि स्थलगत अवलोकन गरेको उनले बताए। आश्चर्यपूर्ण घटनाका सम्बन्धमा विभिन्न आङ्कलन भएका छन्। मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको पावर हाउस नजिकै सुख्खा जमिनमा धुवाँ निस्किएपछि जमिन भित्रको पानीको दबाबका कारण चट्टान तातेर धुवाँ निस्किएको हुन सक्ने स्थानीयवासीको आशङ्का छ।
वर्षौंदेखि वरपर जमिनमा कुनै पानीको मूल नभएको र जमिन सुख्खा भएकाले पानी वा चिस्यानको बाफ नभई जमिन भित्रको तातोको धुवाँ हुनसक्ने स्थानीयवासी कृतिनाथ सापकोटाले बताए। दिन प्रतिदिन तातो धुवाँको मात्रा बढ्दै गएकाले यथाशीघ्र छानबिन गरी सुरक्षाको प्रत्याभूति दिन स्थानीयवासीको माग छ। रासस
जमिनबाट धुवाँ निस्किएपछि सुन्दरबजारवासी त्रसित
Previous Articleबागलुङमा सवारी दुर्घटना एक जना गम्भीर घाईते
Next Article प्रदेशको अस्थायी राजधानी तोक्न राष्ट्रपतिको सुझाव