हरेक वर्ष चिसो याममा नागरिकले कठ्याग्रिएर जीवनलिला समाप्त गर्नुपर्ने विकराल अवस्था छ । हरेक वर्ष चिसोमा कठ्याग्रिएर तराईका गरिब नागरिकले ज्यान गुमाउनु परेपनि सरकारले उनीहरुलाई बचाउन प्रभावकारी कदम चालेको देखिदैन । विगत चार÷पाँच दिनदेखि चलेको शीतलहर र चिसो हावाका कारण सप्तरीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर र खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरू चौधरी रहेका छन् । तराईका गरिब नागरिकको चिसो छेक्ने बास नहुँदा कतै पाल त कतै झुप्रोमा रात बिताउनु पर्ने बाध्यता छ । सप्तरीमा चिसोका कारण अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । अत्यधिक चिसो र शीतलहरका कारण तराईका गरिब नागरिकको जनजीवन कष्टकर बनेको छ । जाडोबाट बच्नको लागि न्यानो कम्बलसमेत नहुँदा जनजीवन कष्टकर बनेको हो । चिसो बढ्नाले दलित बस्तीका बालबालबालिका र वृद्धवृद्धा चिसोबाट बढी प्रभावित भएका छन् ।
दिनभर श्रम गरेर गुजारा चलाउँदै आएका तराई गरिब नागरिकले चिसो हावासँगै बढेको अत्यधिक जाडोले काम गर्न समेत जान सकेका छैनन् । दिनभर कडा परिश्रम गरेर आम्दानी भएको पैसाले गर्जाे टार्ने उनीहरु चिसोका कारण काम गर्न समेत जान नसक्दा भोकभोकै रात गुजार्नु पर्ने अवस्था सिर्जना भएको छ । सरकारले चिसोबाट बच्नको लागि केही परिणाममा दाउरा मात्रै वितरण गर्दै आएको छ । दाउराको भरले मात्रै चिसो रात कटाउन मुश्किल हुन्छ । सरकारले उनीहरुका लागि चिसो छेक्ने घर बनाउनुका साथै न्यानो कपडाको समेत व्यवस्था गर्नुपर्छ । अर्काेतर्फ चुनाव ताका आर्कषक नारा लिएर सर्वसाधारणको घर–घरमा पुगेकाहरुले चुनावपछि आफ्ना बाचा पुरा गर्न ध्यान दिएको देखिदैन । नागरिकबाट अनुमोदित भएका जनप्रतिनिधिले आफ्नो क्षेत्रका नागरिकलाई चिसोबाट बचाउनको लागि तत्काल प्रभावकारी काम गर्नुपर्छ । चिसोबाट प्रताडित बनेका तराईका सर्वसाधारण नागरिकलाई दाउरा होइन ओत लाग्ने गतिलो बासको व्यवस्था गर्नुपर्छ । चिसोबाट नागरिकले ज्यान गुमाईरहँदा पनि सरकार रमिते बन्नु हुँदैन । चिसोले बालबालिकामा विभिन्न रोगहरु निम्तन सक्छ ।
तराईमा चिसोले सताईरहेको छभने पहाडी जिल्ला जाजरकोटमा एक सातादेखि फैलिएको रुघाखोकी र भाइरल ज्वरोले जिल्लामा नौ जनाको मृत्यु भइसकेको छ । तर, यति पीडादायी घटना भईरहँदा पनि प्रभावित क्षेत्रमा औषधि र स्वास्थ्यकर्मी पुग्न सकेका छैनन् । शासन सत्ता लम्ब्याउने लिगेलिगे रेसमा रहेको देउवा सरकारले जाजरकोटका नागरिकको पीडा सुन्न भ्याएको छैन । भाइरल र रुघाखोकीका बिरामीको उपचार गर्दागर्दै औषधि नै सकिएको छ तर औषधि पठाउनतर्फ कसैको ध्यान जान सकेको छैन । औषधि र स्वास्थ्यकर्मी छिटो रोग प्रभावित क्षेत्रमा पठाउन माग गर्दै स्थानीयले बड्कुले स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई घेराउ गरेको समाचार भाईरल भएपनि स्वास्थ्य मन्त्रालयले अदेखे र नसुनेझै गरिरहेको छ । जाजरकोटको दुर्गम ठाउँ बड्कुलेबाट रोग प्रभावित क्षेत्र मजकोट पुग्न करिब पाँच घण्टा लाग्छ । तर, प्रभावित क्षेत्रमा हवाई मार्गबाट औषधि र चिकित्सक पु¥याउन सरकारले अब बिलम्बट गर्नु हुँदैन । अशिक्षा र गरिबीबाट गुज्रिरहेको जाजरकोटको दुर्गम बस्तीमा अझै पनि स्वास्थ्यकर्मी भन्दा धामीझाँक्रीको भर पर्दा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ । सरकारले जाजरकोटमा जबसम्म शिक्षाको ज्योति फैलाई धामीझाँक्रीलाई निरुत्साहित नगरेसम्म जाजरकोटले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था जारी रहनेछ ।
Previous Articleप्रवेश पासः भ्रम र यथार्थ
Next Article २०७४ पुस २४ गते सोमतबारको राशिफल