राजेशचन्द्र राजभण्डारी
बागलुङ महोत्सब २०७४ चर्चा परिचर्चा बीच सम्पन्न भएको छ । बागलुङ उद्योग बाणिज्य संघको आयोजनामा भएको पाँचौ बागलुङ महोत्सबले अहिले पुस महिनाको ठण्डीमा पनि सारा बागलुङबासीलाई तताउन सफल भयो । यसलाई सकारात्मक पाटोको रूपमा हेर्न जरुरी छ । अहिले सबैभन्दा बढी चर्चा र चासोको बिषय भनेको महोत्सबमा बितरण गरिएको प्रबेश पास कै भयो । जसले पनि आफुले पास नपाएको फलानाले पायो भनेको मात्रै सुन्नु प¥यो । बागलुङ महोत्सब २०७४ कसरी सफलतापुर्बक सम्पन्न गर्ने भन्ने भन्दा पनि भित्र प्रबेश गर्ने पास कै चिन्ताले एकथरि बागलुङबासीलाई सताएको देखियो ।
बागलुङ बजारमा सात पुस्तालाई पास बितरण भएको हल्ला चलिरहँदा नेपाल पत्रकार महासंघका साथीहरूलाई महोत्सबको टिकट बेच्न भ्याइनभ्याई छ । अहिले बागलुङ महोत्सबमा बितरण गरिएको पास कै बिषयमा केही कुरा स्पष्ट पार्नुपर्छ भन्ने मलाई पनि लाग्यो । म पनि बागलुङ महोत्सब २०७४ को प्रचार–प्रसार उप–समितिको संयोजक । बागलुङ उद्योग बाणिज्य संघको प्रेस सल्लाहकार भएको नाताले पनि अहिले बजारमा छरिएको भ्रमबारे स्पष्ट पार्नुपर्ने दायित्व पनि हो ।
अहिले बागलुङ बजारमा गरिएको हल्ला, सामाजिक संजाल फेसबुक र केही सञ्चारमाध्यममा आए जस्तो बागलुङ महोत्सब २०७४ मा सात पुस्तालाई पुग्ने गरेर पास बितरण भएको हो त ? अबश्य पनि हैन । बागलुङ उद्योग बाणिज्य संघको आजीवन सदस्य छन् । साधारण सदस्य छन् । बागलुङ महोत्सब सफल पार्न लाखौं रूपैयाँ सहयोग गर्ने संघसंस्था, ब्यबसायी र ब्यापारीले सहयोग दिएबापत उनीहरूले प्रबेश पास पाएको अबश्य हो । यो कुरामा कुनै दुई मत छैन । बागलुङ उद्योग बाणिज्य संघले महोत्सब अबधिभरलाई भनेर रू. १ हजार रूपैयाँ लिएर पास बनाई दिएको छ । आफ्नो सदस्यहरूलाई सदस्यता नबिकरण गर्दा महोत्सब सहयोग रू. दुई सय लिएर पास बनाउने काम खुलेआम माइकिङ गरेर गरेको बिषय हो । जहाँसम्म केही पास बितरण गरिए । त्यो धौलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा महोत्सब सम्पन्न गर्नका लागि पनि बितरण गरिएको पास हुन् । बिगत समयमा भएको बागलुङ महोत्सबमा भन्दा यसपटक अझै कम मात्रै पास बितरण भएको छ । जुन बजारमा भएको हल्ला जस्तो भने अबश्य हैन । अहिले क्याम्पस पढ्ने बिद्यार्थी कम भएको कारणले पनि प्रबेश पास कम नै गएको हो । पासलाई ब्यबस्थित गर्नको लागि स्वबियुलाई जिम्मेवारी दिएको कारणले पनि बजारमा हल्ला भए जस्तो भने मनपरि ढंगले पास बितरण भएको आरोप मात्रै हो । अहिले जे–जति महानुभाबले सामाजिक संजालमा महोत्सबको बारेमा चिन्ता ब्यक्त गर्नुभएको छ यसलाई साँच्चै भित्री मनदेखि भए सकारात्मक रूपमा लिनुपर्छ । तर कुरा अहिले पास बितरण गर्दा आफुले नपाएकोमा मात्रै चिन्ता हो भन्ने स्पष्ट छ ।
अहिले गाउँघरका गरिब निमुखा जनतालाई मात्रै टिकट बिक्री गर्न लगाईयो भन्ने कुरामा पनि त्यति दम छ जस्तो लाग्दैन । मेला महोत्सब सम्पन्न आर्थिकले काम गरेको हुन्छ । धेरै ठाउँबाट सहयोग जुटाएर मात्रै एउटा महोत्सब सम्पन्न गर्न सकिन्छ । साँच्चै भन्ने होभने बागलुङ उद्योग बाणिज्य संघले एक बर्ष अगाडिदेखि बागलुङ महोत्सब गर्ने भनेर लागि परेपछि मात्रै अहिले पुस १४ गतेदेखि २३ गतेसम्म १० दिने महोत्सब सफल भएको हो । २ दर्जनभन्दा बढी विभिन्न उप–समिति गठन गरेर सबैले आ–आफ्नो क्षेत्रको जिम्मेवारी पूरा गरेपछि अहिले साँच्चै भन्ने होभने बागलुङ महोत्सब सफलतापुर्ण रूपमा सम्पन्न भएको हो । धौलागिरी बहुमुखी क्याम्पसको प्राङ्गणमा विभिन्न ब्यबसायिक स्टल १८२ वटा राखेर महोत्सब भित्र टिकट काटेर छिर्ने दर्शकले आफुलाई चाहिने सामाग्री खरिद गर्ने अबसर पनि आयोजकले जुटाउने काम गरेलाई सकारात्मक मान्न सकिन्छ । बागलुङ उद्योग बाणिज्य संघले बागलुङमा पहिलोपटक पुस महिनाको ठण्डी मौसममा महोत्सब गर्ने जुन साहस ग¥यो यसलाई एउटा प्रयोगको रूपमा लिइएको थियो तर केही कमीकमजोरीका बाबजुद पाँचौ बागलुङ महोत्सब सफल भएको छ भनेर निर्धक्कसंग भन्न सकिन्छ ।
बागलुङ महोत्सबको बिरोध गर्नेहरूको प्रमुख नारा भनेको सात पुस्तालाई पुग्ने पास, ठुलाबडा भएका सबैले पास नै पास घाँटीमा भिरेर छिरे भन्ने कुरा चाहिँ पुर्बाग्रहपुर्ण नै छ । बागलुङ जिल्ला क्षेत्र नम्बर १ का माननीय सांसद डा. सुर्य पाठक स्वयं नेपाल पत्रकार महासंघले बिक्री बितरण गर्ने जिम्मेवार लिएको टिकट काउण्टरमा लाइनमा बसेर ६० रूपैयाँको टिकट काटेर महोत्सब प्रबेश गर्नु भएको कुरालाई किन सकारात्मक रूपमा लिन सकेनन् बागलुङबासीले । के सांसद भन्ने नचिनेर हो त टिकट बेचेको ? पत्रकारले आयोजकलाई पनि थाहा थियोे तर पनि बागलुङ महोत्सब को अबलोकन डा. पाठकले टिकट काटेर नै गर्नुलाई सकारात्मक रूपमा हेर्न जरुरी छ । अहिले मनपरि ढंगले पास बाँडेको आफ्नो नातागोता गल्फ्रेन्डलाई पास दिएको भन्ने हल्ला मात्रै हल्ला हो । बागलुङ महोत्सब २०७४ सफल बनाउन बागलुङ क्षेत्र नम्बर २ का सांसद देबेन्द्र पौडेल र पुर्ब सांसद बलावती शर्माले पनि टिकट काटेर नै महोत्सब सफल बनाउने भुमिका खेल्नु भयो । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । अहिलेको जमानामा आर्दशको कुराले सबै कुरा चल्दैन । महोत्सब सम्पन्न गर्न पैसा चाहिन्छ । निशुल्क महोत्सब गरेर सबैलाई फ्रि प्रबेश गराउन सके धेरै राम्रो हुने थियो । महोत्सब गर्न लाग्ने खर्च सबै सरकारले जिम्मेवारी लिएर सहयोग गरे सुनमा सुगन्ध हुने थियो । तर त्यो संभब छैन । आयोजकले सबै कुराको हिसाब गरेर एउटा अभियान चलाएको हो । कलाकार ल्याउनेदेखि कार्यक्रम सबै सम्पन्न गर्न सजिलो अबश्य छैन । प्रहरी, प्रशासन, नागरिक समाज, ब्यबसायी, पत्रकार र बिद्यार्थीदेखि सबै तह र तप्काको सहयोगले नै बागलुङ महोत्सब सम्पन्न भएको छ । अहिले भएको राम्रो पक्षलाई राम्रो मान्नुपर्छ । अहिले केही कमिकमजोरी छन्भने त्यसलाई सच्याउन जरुरी छ । हामीले आलोचना गर्दा सकारात्मक सोच राखेर गर्ने गरेमा अबश्य पनि राम्रो नतिजा निस्कने छ । अहिले भएको महोत्सबको आम्दानी खर्चको हिसाब केही समयभित्र सार्वजनिक हुनेछ । अहिले महोत्सबबाट भएको आम्दानीबाट बागलुङ नगर क्षेत्रमा सामाजिक कामको लागि खर्च गरिनेछ । हिजो बागलुङ महोत्सबबाट बचेको पैसाबाट बागलुङ नगरपालिकासंग सहकार्य गरि बागलुङ बजारभित्र सिसि क्यामेरा जडान गरेको कुरालाई पनि यतिबेला सम्झनु पर्छ । अहिले नेपाल पत्रकार महासंघसंग सहकार्य गरेको बागलुङ उद्योग बाणिज्य संघले बागलुङ जेसिजसंग सहकार्य गरेर टिकट बिक्रीबाट जेसिजको भबनको लागि सहयोग गरेको कुरालाई पनि सम्झनु राम्रो हुन्छ । हो पास दुरुपयोग हुनुहुन्न भन्ने कुरालाई सकारात्मक मान्नुपर्छ तर आफुले पाए ठिक नपाए सबै बेठीक भन्ने नारा गाउँले बजारिया भन्ने गलत नारा लगाउन छोड्नु पर्छ । साँच्चै बागलुङको इज्जत बागलुङ कै मान्छेहरूले राख्ने हो । के गर्दा हाम्रो इज्जत बढ्छ, के गर्दा घट्छ, त्यो कुराको ख्याल गर्न जरुरी छ । सात पुस्तालाई पास बितरण गर्दा पनि हजारौं टिकट बिक्री हुनुलाई सकारात्मक रूपमा हेर्ने कि ?