काठमाडौं, २३ पुस – एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार साँझ भएको भेटवार्ता सकिएको छ । ओली निवास बालकोटमा प्रचण्ड र ओलीबीच भएको भेटमा दुई पार्टीबीच एकता संयोजन समितिको बैठक मंगलबार बस्ने सहमति भएको छ । बैठकले राजनीतिक, वैचारिक र संगठनात्मक समिती बनाएर एकता प्रक्रियालाई अगाडि बढाउने सहमति गरेको भेटपछि प्रचण्डले पत्रकारलाई जानकारी दिए ।
दुई सातायता अस्वस्थ्य रहेका ओली नियमित चेकजाँचका लागि विदेश जानुअघि नै पार्टी एकताका विषयमा ठोस निर्णय गर्ने विषयमा दुई नेताबीच सहमति भएको छ । भेटमा पछिल्लो राजनीतिक विकासक्रम, पार्टी एकता, नयाँ सरकार गठन लगायत विषयमा छलफल भएको छ । ओली नियमित स्वास्थ्य चेकजाँचका लागि २६ गते थाइल्याण्ड जाने तयारीमा छन्।
आइतबार बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक स्थगित भएको थियो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौसम प्रतिकुलताका कारण काठमाडौं आउन नसकेपछि बैठक स्थगित भएको हो। केही दिनदेखि गृह जिल्ला चितवनमा रहेका प्रचण्ड खराब मौसमका कारण जहाज नचलेपछि त्यहीँ रोकिएका थिए। प्रचण्डको निजी सचिवालयका अनुसार उनी आइतबार सडकमार्ग हुँदै काठमाडौं अाएका हुन्।
पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल छन्। समितिमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन्। सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालाई सँगसँगै अगाडि बढाउन चाहेका दुई पार्टी एकताका विषयमा समय लिएरै छलफल गर्ने निष्कर्षमा पुगेका छन्।