कृष्णराज शर्मा
स्वर्गलोकका राजा ईन्द्रले एकदिन स्वर्गको बारेका विभिन्न नकारात्मक टिकाटिप्पणी भएको सुनें । उनलाई असह्य भयो । यो सुनेपछि राजा ईन्द्र ईहलोकबाट आएका चराचर जगतका प्राणीहरूको अवस्थाका बारेमा के कसो छ भनेर बुझ्न आफ्नो स्वर्गनगरीको निरीक्षण गर्न निस्के । स्वर्गनगरीमा भएका भव्य शहर र शहर भित्रका सुबिधा सम्पन्न कोलोनी र अपार्टमेण्टको सरसर्ती निरीक्षण गरे । स्वर्गमा गाउँ बस्ती झुपडी केही हुँदैनन् । अन्यलोकमा गाउँबस्ती झुपडीमा जुनी लिएका जेजस्ता तुच्छ प्राणीहरू भएपनि उसको सुकर्मले स्वर्गको स्थान हासिल गर्छ । स्वर्गको हकदार हुन्छ । यस्ताहरू पनि स्वर्गका भव्य महलहरूमा भएको सुख सयलको रसपान गर्न पाउँछन् । आफ्नो बहानमा सबार उनलाई ती सबै स्थानको निरीक्षण गर्न खासै समय खर्चनु परेन ।
चारचौरास सबैतिर नियाले । अबलोकन गरे । सबै ठिकठाक देखे र स्वर्गबासीहरूले अत्यन्त खुशहाल पूर्वक जीवन व्यतित गरिरहेको देखेर ईन्द्र दङ्ग परे । स्वर्गको बारेमा भएका टिकाटिप्पणी सबै झुठा लाग्यो ईन्द्रलाई । तर उनको समझमा टिकाटिप्पणीमा आएको नयाँ शब्दको बारेमा आफ्नो दरबारमा पुगेर मात्र सँझिए । स्वर्गमा भएको समाज व्यवस्थामा समानुपातिक प्रणाली व्यवस्था अनुरूप नभएको कुराको चाहीं हेक्कै भएनछ । तर ईन्द्रलोक फर्किसकेपछि स्वर्गमा समानुपातिक प्रतिधित्व छ छैन त्यो भने ख्यालै राखेनछन् ।
तुरून्तै कालनायक यमराजलाई यसबारेमा के कसो हो यथार्थ बुझि तुरून्त जानकारी गराउनु भन्ने आदेश जारी गरे । यमराजले यमदूतलाई बुझ्न लगाए । सबै जाँचबुझ् पछि यमदूतले यमराजलाई यथार्थ बस्तुस्थितिको प्रतिवेदन जाहेर गरे । साँच्चिकै ईन्द्र महाराजको शंका अनुरूपनै समानुपातिक प्रतिनिधित्व नभएको स्वर्गका राजा ईन्द्रलाई विन्ति बिसाए । प्रतिवेदनमा पृथ्वीलोकबाट समानुपातिक ढङ्गले एउटा प्राणी समूहको प्रतिनिधित्व नभएको कुरा जाहेर गरे । ईन्द्रले तुरून्तै सोधे । कुन प्राणी हो त्यो ? भन, जो स्वर्गमा आउन चाहँदैन ! यमराजले बोले– प्रभु त्यो सुँगुर हो महाराज सुँगुर ! चौपाय सुंगुर ! फेरी सोधे ईन्द्रले– किन मान्दैन त त्यो ? त्यसलाई जसरी पनि ल्याऊ ! समानुपातिक प्रतिनिधित्व नभए स्वर्गको के महत्व ? स्वर्ग भनेको स्वर्गै हो । यहाँ हरेक प्राणीको बास हुनैपर्छ । जाऊ त्यसलाई जसरी हुन्छ मनाएर ल्याऊ ।
किन के कारणले उसले स्वर्गमा स्थान पाएन ? कसको गल्तिले ऊ आएन ? यमराजले भने– त्यस्तो केही होईन प्रभु ! मात्रै उसको प्रिय भोजन स्वर्गमा नपाईने भएर नआएको हो प्रभु ! भन्दै स्वर्गकै समस्या भएको दर्शाए । के हो उसको प्रिय भोजन ? हाम्रो स्वर्गमा के छैन ? कुन व्यञ्जन छैन, किन छैन ? प्रश्नै प्रश्नले यमराजलाई झटारो हाने महाराज ईन्द्रले । यमराज त्रसित मुद्रामा ईन्द्रको अगाडी लुत्रूक्क पर्दै उभिए । बोल्न डराए । किन के भो ? निर्धक्क भएर मलाई भन । यमराजले महाराज ईन्द्रको कान नजिकै गएर साउती गर्दै सुटुक्क भने– संधै गू खाने उसको बानी रहेछ । स्वर्गमा त्यो परिकार असँभव छ । अनि मैले नै त्यसो भए जा गैहाल् भनेर मैले नै फिर्ता पठाएको हो प्रभु ! ईन्द्रले यो सुनेर झस्के– हँ, ए त्यसो पो ! ल भै’गो त्यस्तो पात्रलाई स्वर्गमा समानुपातिक प्रतिधित्व गराउनु छैन । तिमीले ठिक गर्यौ । तर, त्यही समानुपातिक कै कारण स्वर्गमा बिरोधका स्वरहरू ज्यूँका त्यूँ रहे । बिरोधका स्वरहरू सेलाएनन् । स्वर्गमा यसो हुनु स्वर्ग नर्कमा परिणत हुनु हो । बिरोधका स्वर देखा नपरून् भनेर ईन्द्रले समस्या समाधान हेतु देवसभाको आह्वान गरे । देवसभा बस्यो । सारा देवदेवीहरू सभामा सहभागी भए । स्वर्गका अप्सरा र परिहरू पनि उपस्थित भए । स्वर्गको बारेमा चर्को टिप्पणी उठाउने र स्वर्गबासी नागरिकलाई उचाल्ने नारद भने आईपुगेनन् । स्वर्ग लोकबाट पृथ्वीलोकको नेपाल पुगेर नेपालको स्वर्णीम काल देखेर फर्केका उनले नै नेपाली राजनीतिक दर्शनमा आधारित समाज व्यवस्था स्वर्गमा लागूगर्नु पर्ने कुराको जोडदार आवाज उठाएका थिए । सबै स्वर्गबासीमा यो कुराले हलचल ल्याईदिएको थियो । त्यसपछि ईन्द्र छटपटाएका रहेछन् । अन्तमा नारदले दुई हातमा छम्छम् झुम्का बजाउँदै र नारायण ! नारायण !! भन्दै भरि देवसभामा देखापरे । उनी आएपछि देवसभा आरम्भ भयो ।
राजा ईन्द्रले स्वर्गनगरीमा सबै ठिकठाक रहेको र सुँगुरलाई कारण सहीत समानुपातिक प्रतिधित्व गराउन नसकेको बिस्तृत रूपमा भनाई राखे । उपस्थित सबै देवगणले ईन्द्रकै भनाईमा सहमति जनाए । देवताहरूले दुवै हातले टेबुल ठटाए । तर नारद र केही अप्सराहरूले भने आपत्ति जनाए । स्वर्गमा सुँगुँरको प्रतिनिधित्व रहन नसक्ने कुरामा घोर आपत्ति जनाए । सुंगुरको प्रतिनिधित्व हुनै पर्छ । हाम्रो आन्दोलन जारी रहन्छ भन्दै विभिन्न नारा लगाए । रोष्ट्रम घेरे । माईक भाँचे । कुर्ची उठाएर फाले । त्यहाँ रहेका मर्यादापालकहरू ईन्द्रासन जोगाउन पट्टीमात्र लागे तर सभाको बेथिति हेरेर बसे । ईन्द्र लगायतका अन्य देवगण चूपचाप बसे । त्यसपछि ईन्द्रासनबाट फर्मान जारी भयो– त्यो प्राणीलाई स्वर्ग कसरी ल्याउन सकिन्छ चित्तबुझ्दो तर्क सहित आफ्नो भनाई प्रस्तुत गर्न अनुमति मिल्यो । सर्वप्रथम नारदमुनीले आफ्नो भनाई राखे । उनले भने– “प्रभु, जस्तै भएपनि स्वर्गमा समयानुकुल परिवर्तन हुनु पर्दछ । नत्र स्वर्गमा पनि अशान्ति छाउने छ । लोपोन्मुख र अल्पसँख्यकले त यहाँको बास पाएका छन् भने दिनानुदिन महत्व बढ्दै गएको सुंगुरको प्रतिधित्व नहुनु महाअन्याय हुनेछ प्रभु ! अब रह्यो उसको प्रीय भोजनको कुरा ।
त्यो भोजन उसले आँफै तयार गर्छ र आँफै खान्छ त्यसैले उसलाई यौटा छेउमा स्वर्णीम कोलोनी निर्माण गर्यो भने कसैलाई कुनै प्रकारको चिन्ता लिन पर्दैन । त्यसले गर्दा स्वर्गको समाज व्यवस्था चुस्त दुरूस्त हुनुका साथै शोभायमान हुनेछ प्रभु ! पृथ्वीलोकको नेपाल भन्ने देशमा त्याहाँको राजनीतिमा त्यस्ताखाले प्राणीलाई प्रतिधित्व गराएर त्यो देश हाम्रो स्वर्गकै दाँजोमा पुग्न लागेको छ प्रभु ! यसो नगर्ने हो भने नेपालले हाम्रो स्वर्गलाई पनि उछिन्ने छ प्रभु ! त्यसैले सुंगुंरको अनिवार्य समानुपातिक प्रतिनिधित्व हुनु पर्दछ प्रभु । मेरो माग पुराहोस् प्रभु ! नारदमुनीको कुरा सुनेर ईन्द्र अत्तालिए । नारद कुरौटे हो तर आज राजनीतिक दर्शन किन सुनायो ? यसलाई कसले सिकायो ? ईन्द्र विलखबन्दमा परे । केही बुझ्नै सकेनन् । यसले नेपालको टियुमा पढेको हुनाले नेपाली नेताको दलाली गर्दैछ । मोटामोटी बुझेपछि ईन्द्रले धेरै बुझ्नु अनर्थ हुने ठानेर स्वर्ग बचाउने निर्णयमा पुगे । नारदको विचार मुनासिव माफिक भएकोले उनले भने अनुसार सुँगुरलाई स्वर्गमा समानुपातिक प्रतिनिधित्व गराउँदै उचित ठाउँमा स्थान दिन देवसभामा प्रस्ताव गरे । देवगणले ईन्द्रको निर्णयमा सहमति जनाउँदै ‘हुन्छ’ भन्ने ठूलो स्वरको बहुमतको ध्वनिमतले पारित गरे । सुँगुरले स्वर्गमा बास पाउने पक्का भयो । नारद मख्ख भए । अप्सराहरूको भनाई बाँकि नै थियो । अप्सरा पनि बोलिन– “प्रभु हामी अप्सराहरू देवताको खटनमा ऋषिमुनीहरूको तपस्या भँग गर्न पुग्यौं । उनीहरूको तपस्या भँग गरेपछि हामीलाई उनका कुटीहरूमा लगे । तपाईं देवताहरूले नै हामीलाई अनेक लाञ्छना लगाई स्वर्गमा प्रवेश नपाएका अप्सरा धेरै छौं । हजुरहरूकै आज्ञा पालन गरेका हौं । त्यही आज्ञा पालन गर्दा हामीलाई दुनियाँले नानाभाँती भन्छन् । हामी नर्क जान पर्ने रे । यसो हुनै सक्दैन प्रभु ! हाम्रो स्वर्गमै बास होस् प्रभु ! हामीले पनि प्रवेश पाऊँ प्रभु ! हामीले गर्दा स्वर्गभूमी फेरी जगमगाउने छ प्रभु ! हाम्रो उपस्थितिले सबैको मन फेरी फर्काउँछौं, निश्चिन्त हुनुहोस् प्रभु ! हाम्रो माग पुराहोस् प्रभु ! नत्र हाम्रो नेता नारदमुनीले नेतृत्व गर्नुभयो भने तपाईंहरू हलचल गर्न पाउनु हुनेछैन ।’ विदेशी दलालका अगाडी ईन्द्र नतमस्तक बन्दै देवगणहरूको भरि सभामा सहमति जनाउँदै भने– “हुन्छ मैयाँ हुन्छ, तिमीहरूको पनि यथोचित समानुपातिक प्रतिनिधित्व हुनेछ । र हिंजो ऋषिमुनिहरूको तपस्या भँग गर्दा लगाईएका लाञ्छाना र आरोपहरू आजैका मितिदेखि खारेज गरिन्छ ! तथास्तु ! “ परि र अप्सराको दिन चम्केकोमा मख्ख पर्दै महाराज ईन्द्रको जय जय भन्दै स्वर्गको सभामा सर्वसम्मति निर्णय भयो । देवगणहरू खुशी भए । देवगणका अनुचरहरू पनि चमर हल्लाउँदै दृष्टि गोचर भए । (हामी अमेरिकाबाट नेपाल फर्कँदै थियौं । वासिङटनदेखि टर्कीको ईस्तानबुल उत्र्यौं ।
केही घण्टाको पखाई पछि पुनः काठमाण्डौको लागि उड्यौं । जहाजको झ्यालनेर हाम्रो सीट थियो । म झ्यालमा थिएँ । मैले आकाशबाट धर्ती नियाली हेर्दा समुन्द्र र खाली भूमी देख्दा डर लाग्थ्यो । जागा बस्थें । जब बादलमाथी पुग्थें आनन्दानुभुती गर्थें । लाग्थ्यो, जहाज खसेपनि कपासको थुप्रोमै खस्छ केही हुँदैन । अफगानिस्तानको काबुल, कान्दाहार हुँदै पाकिस्तानको पञ्जाब प्रान्त माथीबाट जहाज बादलै बादल भएर उड्यो । म निदाएँ । काठमाण्डौ आउनुपूर्व सम्म म मस्त निद्रामा थिएँ । यही बीचमा बडो मजाको सपना देखें । आज त्यही सपना यहाँ सँझे सम्म उतारेको हुँ ।)