बिना विकल्प सडक विस्तार गर्दा मुग्लिन बजारदेखि नारायाणगढसम्मको यात्रा गर्दा यात्रुहरुले निकै नै सास्ती खेप्नु पर्ने अवस्था सिर्जना भएको छ । मुग्लिनबाट सहज यात्रा भए १ घण्टामै पुगिने नारायणगढमा अहिले घण्टौ समय सास्ती खेपेर यात्रा गर्नुपर्ने विकराल स्थिती छ । अझ समयमै काम भएको भए मुग्लिन नारायणगढ यात्रामा यात्रीले सास्ती खेप्नु पर्ने अवस्थाको अन्त्य नै हुने थियो । एकतर्फी रुपमा गाडी छुटाएर सडक विस्तार गर्दा त्यहाँ उड्ने धुलोको मुस्लोले यात्रुहरु बिरामी नै हुने गरेका छन् । अझ असावधानीपुर्ण तरिका सडक विस्तार गर्दा वर्षा होस् वा हिउँदामा खस्ने पहिरोका कारण धेरै सवारी चालक र यात्रुहरुले ज्यानै गुमाउनु पर्ने अवस्था छ । सवारी साधन पहिलोमा पुरिदा ठूलो धनराशीको समेत विनाश भएको छ ।
मुग्लिन–नारायणगढ सडक मात्रै होइन देशका धेरै ठाउँमा विकल्प बिना सडक विस्तारको काम भइरहेका छन् । बागलुङ जिल्लामा पर्ने मध्यपहाडी लोकमार्गको पनि अहिले स्तरोन्नतीको काम भईरहेको छ । तर, विकल्प बिना नै । बिकल्प बिना सडक विस्तारका कारण मध्यपहाडी लोकमार्गमा दैनिक यात्रा गर्ने यात्रुले सास्ती खेप्न विवश छन् । साँघुरो सडक स्तरोन्नतीको कामले सर्वसाधारण बढी पिडित बन्ने गरेका छन् । सदरमुकाम बागलुङ बजारदेखि ७ किमी पश्चिमको काठेखोला पुग्न घण्टौं जाममा पर्दा समयमै काम सकेर घर फर्कन चाहने सर्वसाधारणले मर्कामा परेका छन् । मध्यपहाडी लोकमार्गको निर्माणाधिन खण्डमा बिकल्प नदिई काम थालेपछि दैनिक सयौं यात्रीले घण्टौं जाममा पर्ने अवस्था छ भने कतै हिलाम्य सडकमा सवारी फस्ने गरेका छन्भने कतै धुलाम्य सडकले सर्वसाधारणको स्वास्थ्यमा समेत असर गरेको छ । बिशेषगरी यो सडकको अक्षेते सम्मको खण्ड र बिहुँमा बढी समस्या पर्ने गरेको हो । निर्माणाधिन सडकको बिकल्प नभएको र निर्माण कम्पनीले ठाउँठाउँमा सडक भत्काएर छाडेका कारण सवारी तथा यात्रुहरुले सास्ती खेप्नु परेको छ ।
जिल्ला भित्रको १ सय ४२ किमी खण्डमध्ये सदरमुकाम देखि बिहुँको ताराखसेसम्मको १३ किमी खण्ड सिद्धिसाई प्रकाश संयुक्त निर्माण कम्पनीले काम गरिरहेको छ । एमके कन्स्ट्रक्सन कम्पनीले यस अघिको काम अलपत्र पारेपछि यो खण्डमा यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् । सास्तीपुर्ण सडकले दैनिक कार्यालय जान आउन पनि हैरान खेप्नु परेको छ । पैदल हिड्न पनि नमिल्ने गरी सडक बिगारेपछि सयौं मानिस अलपत्र पर्छन् । अप्ठ्यारो स्थानमा पैदल भएपनि सहज हिड्ने अवस्था बनाईदिन आग्रह गर्दा समेत सम्बन्धित निकायले बेवास्ता गरेको सो सडकमा यात्रा गर्नेहरुको गुनासो छ । एक बर्षअघि ठेक्का लिएको कम्पनीले अहिले सडक चौडा पार्ने काम गरिरहेको छ । सो सडकखण्डमा दैनिक दुइ सय बढी सवारी चल्छन् । सास्तीपुर्ण सडकमा यात्रा गर्न बाध्य यात्रु तथा पैदल यात्रीलाई सहज आउजाउको लागि निर्माण कम्पनीले बिकल्प दिनुपर्छ । यात्रीको समस्या बुझ्ने काम सरकारी निकायको पनि हो । निर्माण कम्पनीमाथि औला देखाएर हुँदैन । सडकको विकल्प खोज्न सम्बन्धित निकायले चासो दिनुपर्छ ।
Previous Articleवाह् ! सुँगुरको पनि स्वर्गमा बास !
Next Article २०७४ पुस २३ गते आईतबारको राशिफल