म्याग्दी, २२ पुस– जिल्लाका उद्यमीले विद्युतीय औजारको प्रयोग गरेर टिमुरको प्रशोधन गर्न थालेका छन् । बेनी नगरपालिका–९ तोरीपानीको निलपहरा सामुदायिक वन उपभोक्ता समूहले जिल्लामै पहिलोपटक टिमुर सुकाउने, प्रशोधन, तौलने र पिँधेर मसला बनाउने औजार भित्र्याएको छ । जिल्ला वन कार्यालयको रु दश लाख अनुदानमा औजार खरिद गरिएको समूहका सागर बानियाले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतीय उपकरणको प्रयोग गरेर टिमुर सुकाउने, प्रशोधन गर्ने, तौलने र मसला बनाउन थालिएको हो ।औजार भित्रिएपछि गाउँमै टिमुर प्रशोधन गरेर मसला बनाई बजार पु¥याउन सकिने भएको छ । यसअघि यहाँ नाङ्लोमा केलाएर टिमुर प्रशोधन गर्ने गरिन्थ्यो । गेडा टिमुर नै बिक्री हुने गरेको थियो । यसो हुँदा मिसावटको डर रहन्थ्यो ।
म्याग्दी उद्योग वाणिज्य संघले ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत टिमुर टिप्न प्रयोग हुने कैँची उपलब्ध गराएपछि फल टिप्न रुखको हाँगा नै काट्नुपर्ने अवस्थाको अन्त्य भएको छ । टाढैबाट फलको झुप्पा कैँचीले काटेर फल टिप्दा काँडाले कोप्ने समस्या हटेको छ । तोरीपानीका एक सय घरधुरीले व्यावसायिकरूपमा टिमुरखेती गर्दै आएका छन् । टिमुरखेती तोरीपानीका बासिन्दाको वैकल्पिक आयस्रोत बनेको छ । टिमुर अचार, दाल र चटनीमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आर्युवेदिक औषधिका रूपमा प्रयोग गरिन्छ ।
गत वर्ष रु ३० लाख मूल्य बराबरको ३५ मुरी टिमुर उत्पादन भएको तोरीपानीमा यसपालि भने उत्पादन घटेको छ । यसपालि करिब १० मुरीको हाराहारीमा मात्र उत्पादन भएको भूमेसिद्ध टिमुर सञ्जालले जनाएको छ । टिमुरको फूल खिल्ने र बटिला लाग्ने समय जेठ र असारमा अत्यधिक वर्षा हुनाका साथै असिना परेकाले उत्पादन घटेको हो । असोज र कात्तिक टिमुर टिप्ने समय हो । तोरीपानीमा उत्पादन भएको टिमुर बेनी, मुस्ताङ, पोखरा, काठमाडौँका साथै जापान, जर्मन र बेलायतसम्म बिक्री हुन्छ ।