बागलुङ, २० पूस– बिकल्प बिना सडक खन्ने कारणले मध्यपहाडी लोकमार्गमा यात्रीले दैनिक जसो सास्ती खेप्न बाध्य भएका छन् । साँघुरो सडकमा चक्ल्याउने काम भैरहेको छ । तर बिकल्प बिना सडक खन्ने काम गरिएकोले ठाउँठाउँमा यात्रीले हैरानी खेपेका छन् । कार्यालय भ्याउन हिडेका कर्मचारी देखि बिरामी बोकेर आउने सवारीले यो सास्तीबाट बढी पिडित बन्न पुगेका छन् । सदरमुकाम देखि ७ किमी पश्चिमको काठेखोला पुग्न घण्टौं जाममा पर्दा तोकेको समयले समेत नपुगेर सेवा ग्राहीलाई कुराउन बाध्य भएको काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापाले बताए । मध्यपहाडी लोकमार्गको निर्माणाधिन खण्डमा बिकल्प नदिई काम थालेपछि दैनिक सयौं यात्रीले घण्टौं जाममा पर्ने र सवारी फस्ने गरेका हुन् ।
बिशेषगरी यो सडकको अक्षेते सम्मको खण्ड र बिहुँमा बढी समस्या पर्ने गरेको हो । निर्माणाधिन सडकको बिकल्प नभएको र निर्माण कंपनीले ठाउँठाउँमा सडक भत्काएर छाडेको छ । जिल्ला भित्रको १ सय ४२ किमी खण्ड मध्ये सदरमुकाम देखि बिहुँको ताराखसे सम्मको १३ किमी खण्ड सिद्धिसाई प्रकाश संयुक्त निर्माणकंपनीले काम गरिरहेको छ । एमके कन्स्ट्रक्सन कंपनीले यस अघिको काम अलपत्र पारेपछि यो खण्डमा यात्रीले जोखिम मोलेर यात्रा गरिरहेका छन् । ‘दैनिक कार्यालय जान आउन पनि हैरान खेप्नु परेको छ’ थापाले भने, ‘पैदल हिड्न पनि नमिल्ने गरी सडक बिगारेपछि सयौं मानिस अलपत्र पर्छन् ।’ अप्ठ्यारो स्थानमा पैदल भएपनि सहज हिड्ने अवस्था बनाईदिन आग्रह गर्दा समेत वेवास्ता गरेको उनले गुनासो गरे ।
एक बर्ष अघि ठेक्का लिएको कंपनीले अहिले सडक चौडा पार्ने काम गरिरहेको छ । सडकको बिकल्प नभएपछि यात्रीले दुःख पाएको कंपनीका साईट इन्चार्ज यज्ञ शाहीले बताए । ‘दैनिक दुइ सयबढी सवारी चल्छन्, बिकल्प दिने बाटो छैन’ शाहीले भने, ‘ढुंगा खस्ने समस्या भएका स्थानमा सवारी र यात्रीलाई जान दिन पनि सकेका छैनौं ।’ स्थानीयबासी भने कंपनीका कर्मचारी र प्राविधिकले यात्रीको समस्या बुझ्ने प्रयासै नगरेको आरोप लगाए । बिरामी बोकेर आएका सवारी देखि कार्यालय पुग्ने कर्मचारी र विद्यालय हिडेका विद्यार्थी पनि समयमा गन्तव्यमा पुग्न नपाएको उनीहरुको आरोप छ । यो खण्डमा गाउँपालिका कार्यालय, विद्यालय, कृषि,पशुसेवा लगायतका सेवा कार्यालय, विभिन्न सहकारी संस्थाका कर्मचारी र विद्यार्थी गरी दैनिक एक हजारबढीले पैदल यात्रा समेत गर्नुपर्छ । दश मीटर चौडा बनाएर कालोपत्रे समेत गर्ने गरी कंपनीले ठेक्का लिएको हो ।
आगामी दुइ बर्ष भित्र काम सक्ने ठेक्का पाएको यो कंपनीले समयमै सक्नका लागि सवारी रोक्न बाध्य भएको शाहीले बताए । खुकुलो माटो र पानीका श्रोत समेत नर्तकाएकोले हिलाम्मे सडकमा दैनिक जिप र साना सवारी फस्ने गर्छन् । ट्रयाक्टरले पारेका खाडल नपुर्दा साना गाडि बिग्रने समस्या परेको जिप चालकहरु गुनासो गर्छन् । ‘कंपनीका ठूला गाडि र ट्रयाक्टरले बाटो बिगारेका छन्, पानीले हिलाम्मे पनि छ’ बुर्तिवाङ तर्फ हिडेका जिप चालक राजेन्द्र थापाले भने, ‘हाम्रा जिपहरु बिग्रेर हजारौं खर्च गर्नुपर्ने भएका छन् ।’ चिप्लो र हिलाम्मे सडकमा पटक पटक जिप दुर्घटनामा परेको समेत उनले गुनासो गरे । निर्माणाधिन २५ किमीखण्डमा धुलोले पनि स्थानीय बिरामी परेका छन् । ‘हामीले शुद्ध पानी समेत खान पाएका छैनौं’ बिहुूका भवानीप्रसाद कंडेलले भने, ‘रुखाखोकीका बिरामी भएर घरघरमा औषधि खुवाउनु परेको छ ।’ बुढाबुढी र बालबालिका यसको बढी शिकार भएको उनले गुनासो गरे । गाईभैसीलाइ दिने डाले घाूस समेत धुलाम्मे हुूदा समस्या भएको पनि उनले बताए ।
प्रशासनले भने सडक अवरोध नगरीकनै काम गर्न लगाएको प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले बताए । ‘बिकल्प भए सम्मको समयमा मात्र काम गरेर भएपनि यात्रीलाई दुःख नदेउ भनेका छौं’ थापाले भने, ‘निर्वाचनको समयमा मतपेटिका ल्याउूदा पनि मतदान अधिकृतहरुले दुःख पाएको गुनासो आयो ।’ जिल्ला सदरमुकाम देखि विभिन्न गाउूमा पुग्न दैनिक २ सय जिप यो सडक भएर गुड्छन् । साथै बुर्तिवाङ, गलकोट लगायतका स्थानका लागि बस चल्छन् । खाद्यान्न बोकेका ट्रयाक्टर समेत चल्ने यो सडकको १३ किमी खण्डमै हरेक दिन ४ देखि ५ घण्टा लाग्ने गरेको यात्रीले गुनासो गरे ।