भैरहवा, ८ असोज- यती एयरलाइन्सको विमान भैरहवा विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । विमानमा सबै यात्रु सकुशल छन् । विमान के कारणले ओभरसुट भयो भन्ने बारेमा खुल्न सकेको छैन । विमानको तिनवटै पांग्रा पड्केकाे छ ।
भैरहवास्थित जिल्ला प्ररही कार्यालयका डिएसपी विरबहादुर पाण्डेका अनुसार विमान ४ बजेर ५५ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो ।
नाइन एन एआईबी कलसाइन भएको विमान अवतरणका क्रममा दुर्घटना भएको हो । रन वे छोडेर निक्कै पर पुगेको विमानको नोजमा क्षति पुगेको छ भने चक्का भाच्चिएको छ ।
विमानमा २९ यात्रु र चालक दलका तीन सदस्य गरी ३२ जना सवार थिए । उनीहरु सबै सकुसल रहेका छन् । विमान दुर्घटनामा परेको खबर आए लगतै प्रहरीले एम्बुलेन्स पनि पठाएको थियो ।
तर, ठूलो चोटपटक कसैलाई नलागेको पाइएको छ । यात्रु तथा चालक दलका सदस्यहरूलार्इ प्रहरीले उद्दार गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । अवतरण गर्ने क्रममा जहाजमा ब्रेक नलागेको र पश्चिमतर्फ रन वेदेखि अन्दाजी १५० मिटर खाली जमिनमा गएको अधिकारीहरूले बताएका छन् ।