काठमाडौं, १८ पुस-निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन माघ २५ गतेका लागि तोक्न सरकारलाई प्रस्ताव गरेको छ । राष्ट्रियसभा निर्वाचनको मिति तोक्न प्रधानमन्त्रीले मागेको रायमा आयोगले माघ २५ गते उपयुक्त हुने सुझाव दिएको हो । मंगलवार प्रधानमन्त्री शेरबहादुर देउवासँगले परामर्श माग्दा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले माघ २५ गते राष्ट्रियसभा सदस्यको निर्वाचन गर्न उपयुक्त हुने सुझाव दिएका हुन् ।
आयोगले सरकारले मिति घोषणा गरेको दिनदेखि निर्वाचन सम्पन्न गर्न ४० दिनको समय माग गरेको थियो । सोही अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोक्ने तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीका अनुसार माघ २५ गते निर्वाचन तोक्ने गरी तयारी अगाडि बढाइएको छ । निर्वाचन आयोगसँगको छलफलमा पनि प्रधानमन्त्री देउवाले माघ २५ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्न उपयुक्त हुने बताएका थिए ।
नयाँ सरकार गठन कहिले ?
राष्ट्रियसभा सदस्यको निर्वाचन हुन नै एक महिनाभन्दा ढिलो हुने भएपछि नयाँ सरकार गठनमा पनि ढिलाइ हुने भएको छ । वाम गठवन्धनले नयाँ सरकार गठनका लागि मार्गप्रसस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिँदै आएपछि राष्ट्रिय सभा निर्वाचन नहुन्जेल सरकार नछाड्ने देउवाको अडान छ ।
यता निर्वाचन आयोगले पनि राष्ट्रियसभा निर्वाचन पछि मात्रै समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने संकेत गरिसकेको छ । यस्तो अवस्थामा फागुन दोस्रो साता अगाडि नयाँ सरकार नबन्ने संविधानविद्हरुको भनाइ छ ।
राष्ट्रियसभाको निर्वाचन २५ माघमा तोक्न सरकारलाई प्रस्ताव
Previous Articleयी हुन सात प्रदेशका प्रस्तावित अस्थायी राजधानी
Next Article एमाले सांसद सिलवाललाई पक्राउ गर्न वारेन्ट जारी